प्रेमेन्द्र मजुमदार र ली रान बने निफका प्रमुख निर्णायक

हिमाल प्रेस २६ माघ २०७९ १६:१४
प्रेमेन्द्र मजुमदार र ली रान बने निफका प्रमुख निर्णायक

काठमाडौँ- आगामी चैत २ देखि ६ (मार्च १६-२०) सम्म आयोजना हुने छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’को निर्णायक प्रमुख मनोनीत भएका छन्।

निफले जारी गरेको विज्ञप्तिअनुसार फिचर फिल्मतर्फका प्रमुख भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार मनोनीत भएका छन्। छोटो तथा वृत्तचित्रतर्फको प्रमुखमा बेइजिङ फिल्म एकेडेमीकी डिन ली रान रहेकी छन्।

प्रेमेन्द्र मजुमदार भारतीय फिल्म जगतमा पुनर्जागरण ल्याउने व्यक्ति मानिन्छन्। फिल्म समालोचना, लेखन, क्युरेटिङ तथा परामर्शका क्षेत्रमा प्रेमेन्द्रले आफूलाई विश्वव्यापी फिल्म समुदायको आवाजको रूपमा स्थापित गरेका छन्।

फिल्म र सामाजिक गतिशीलताको राजनीतिमा विचार-उत्प्रेरक व्याख्यानहरू दिनेदेखि लिएर दक्षिण एसियाली स्वतन्त्र सिनेमाका नवीनतम प्रवृत्तिमा प्रेमेन्द्रको योगदान प्रभावकारी रहेको छ। उनले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल कान्स र काइरो अन्तर्राष्ट्रिय फिल्म क्रिटिक्स सप्ताहलगायत प्रतिष्ठित फिल्म महोत्सवमा उपस्थिति जनाएका छन्।

तीमध्ये एक बृहत् अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सुरुवात हो, जुन भारतका ४० भन्दा बढी शहरमा प्रदर्शन गरिन्छ। प्रेमेन्द्रलाई विश्व फिल्मको राजदूत भनेर पनि चिनिन्छ।

त्यसै गरी ‘इन्टरनेसनल स्कुल अफ बेइजिङ फिल्म एकेडेमी’की डिन ली रान फिल्म मार्केटिङ र वितरण पक्षको ज्ञाता मानिन्छिन्। उनी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको आयोजना र क्युरेटिङमा निकै अनुभवी छिन्। उनले चलचित्रसँग सम्बन्धित धेरै कार्यक्रमको प्रमुख आयोजकको रूपमा अनुभव बटुलिसकेकी छन्।

ली रान सन् २०१४ देखि बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको मुख्य प्रतिस्पर्धा एकाइको निर्देशक, २०१५ मा प्राथमिक र माध्यमिक विद्यालयका विद्यार्थीको लागि पहिलो राष्ट्रिय चलचित्र सप्ताहको कार्यकारी निर्देशक, २०१६ र २०१८मा सिल्क रोड अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको प्रतिस्पर्धा विभागको निर्देशक, २०१७ देखि अन्तर्राष्ट्रिय विद्यार्थी चलचित्र र भिडियो महोत्सवका कार्यकारी अध्यक्ष लगायतको जिम्मेवारी सम्हालेकी छन्।

यो निफको छैटौँ संस्करण हो। जसमा ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्म छनोट भएका छन्। जसमध्ये सात विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ।

महोत्सवमा नेपालसहित बांग्लादेश, इरान, चीन, मेक्सिको, भारत, जापान, ब्राजिल, अमेरिका, साउथ कोरिया, कजाकिस्तान, टर्की, सर्बिया, इन्डोनेसिया, जर्मनी, क्यानडा, इजिप्ट, थाइल्यान्ड, रुस, नेदरल्यान्ड्स, इटली, फ्रान्स, अस्ट्रेलिया, मलेसियालगायत देशका फिल्म, डकुमेन्टी, सर्ट फिल्म, एनिमेटेड फिल्म देखाइनेछन्।

नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले आयोजना गर्ने निफका फिल्म क्युएफएक्स सिनेमाजमा देखाइनेछन्। फिल्म प्रदर्शनबाहेक निफमा अन्तरक्रिया, गोष्ठीलगायत एक दर्जन बढी रचनात्मक कार्यक्रम हुनेछन्।

 

प्रकाशित: २६ माघ २०७९ १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 11 =