भारतविरुद्ध अस्ट्रेलिया : रोहितलाई कप्तानी क्षमता प्रमाणित गर्ने अवसर, कुमिन्स चाहन्छन् बदला

हिमाल प्रेस २५ माघ २०७९ १७:३५
8
SHARES
भारतविरुद्ध अस्ट्रेलिया : रोहितलाई कप्तानी क्षमता प्रमाणित गर्ने अवसर, कुमिन्स चाहन्छन् बदला

काठमाडौँ- रोहित शर्माले आफ्नो करियरको धेरैजसो सुखद पल ‘ह्वाइट बल’ क्रिकेटमै देखेका छन्, भोगेका छन्। तर अहिले उनी ‘रेड बल’ क्रिकेटको परीक्षासामु छन्। भारतले आफ्नै मैदानमा हुने चार टेस्टसम्मिलित शृंखलामा अस्ट्रेलियाको सामना गर्दैछ। यस्तो अस्ट्रेलिया जो भारतलाई हराउन प्रतिबद्ध छ।

बोर्डर–गावस्कर शृंखला अन्तगर्तको पहिलो टेस्ट बिहीबारबाट सुरु हुँदैछ। यो शृंखला रोचक हुनेमा शंका छैन। यसले केही खेलाडीको करियरमै प्रभाव पार्नसक्ने अनुमान पनि गर्न सकिन्छ।

विश्व टेस्ट क्रिकेटमा रोचक मानिने धेरै खेल अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदान (एमसीजी) मा भएका छन्, हुने गरेका छन्। अस्ट्रेलियाका पूर्वकप्तान बिल लरी टेलिभिजनमा कमेन्ट्री गर्दा यो वाक्य खुबै प्रयोग गर्थे, ‘इट इज ह्यापनिङ एट द एमसीजी। मतलब यो सबै एमसीजीमा भइरहेको छ।’

जसरी एमसीजीमा क्रिकेट समर्थक छक्क पर्ने क्षण सिर्जना हुन्थे, त्यस्तै क्षण यो शृंखलामा पनि सिर्जना हुनेछन्। यो शृंखला सुरु हुनुअघि वा सुरु भइसकेपछि केही महत्त्वपूर्ण प्रश्न उठ्नेछन्। जस्तै, भारतीय कप्तान रोहितको क्षमताबारे। के विराट कोहलीले आफ्नो ब्याटिङ लयलाई निरन्तर कायम राख्न सक्लान् ? के सूर्यकुमार यादवलाई शुभमन गिललाई भन्दा बढी विश्वास गरिएला?

अस्ट्रेलिया बदला मनसायले भारत पुगेको छ। किनभने पछिल्लो दुई शृंखलामा अस्ट्रेलिया भारतसँग पराजित भएको छ। त्यो पनि आफ्नै मैदानमा। यद्यपि यो मनसाय अनुरुपको प्रदर्शन गर्न कप्तान पाट कुमिन्स र उनका साथीहरूलाई सजिलो हुने छैन।

पछिल्लो समय के भनिँदैछ भने, भारतविरुद्ध अस्ट्रेलिया शृंखला आसेसभन्दा स्तरीय हुने गरेको छ। भारत र अस्ट्रेलिया दुवै टिमका खेलाडीहरू यो शृंखला जित्न प्रतिबद्ध हुने भएकाले पनि यस्तो भनिएको हुनसक्छ। यी दुई टिमबीचको भिडन्त अहिले आएर मात्र रोचक हुन थालेको होइन। विगतमा पनि यो शृंखलालाई व्यग्रताका साथ प्रतीक्षा गरिन्थ्यो।

सन् २००४/०५ को भारत भ्रमणमा अस्ट्रेलियाली खेलाडीहरूको प्रदर्शन लोभलाग्दो थियो। म्याथ्यु हेडन, जस्टिन लेन्गर्स, ग्लेन म्याकग्राथ्स, एडम गिलिक्रिस्ट सम्मिलित त्यो टिमलाई भारतीय समर्थकले किन बिर्सिन्थे र? त्यस टिमले हासिल गरेको सफलता दो¥याउने अवसर यो पुस्ताको खेलाडीलाई छ। दो¥याउन नसके, यी खेलाडीहरूको करियर पूर्ण हुननसक्ने क्रिकेट विश्लेषकहरूको जिकिर छ।

अरु त अरु स्टिभ स्मिथले पनि भारतविरुद्धको शृंखला एसेसभन्दा महत्त्वपूर्ण भएको बताएका छन्। उता भारतीय कप्तान रोहित पनि स्मिथ जत्तिकै सचेत छन् यो शृंखला र विपक्षी टिमको क्षमतालाई लिएर। महत्त्वपूर्ण मानिएका कयौँ शृंखला चोट वा अस्वस्थताका कारण गुमाएका रोहित घरेलु मैदानमा अस्ट्रेलियालाई हराउँदै भारतलाई विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुर्‍याउन चाहन्छन्।

फाइनलमा स्थान बनाउन, भारतले अस्ट्रेलियाविरुद्ध कम्तीमा दुई टेस्ट जित्नु पर्नेछ। यो लक्ष्यमा रोहितलाई स्पिनरहरूले बलियो साथ दिने अपेक्षा छ। नागपुरमा हुने पहिलो टेस्टमा उनले चारमध्ये तीन स्पिनरलाई मैदान उतार्ने अनुमान गरिएको छ। ब्याट्सम्यानहरूले नाथन लियोन जस्ता बलरको धैर्यपूर्वक सामना गर्नुपर्ने त छँदैछ।

रोहित फेब्रुअरी, २०२२ मा टेस्ट कप्तान बनेका थिए। उनी कप्तान बनेपछि भारतले पाँच शृंखला खेलेको छ। तीमध्ये तीनमा भारत विजयी बनेको छ। दुर्भाग्यवश ती पाँचमध्ये तीन शृंखला रोहितले गुमाएका छन्। उनले भारतले खेलेका पछिल्ला १० शृंखलामध्ये आठ छुटाएका छन्।

केही समययता रोहितले टेस्ट कप्तानबाट राजीनामा दिनुपर्ने माग पनि उठिरहेको छ। उनी टिमका लागि सही नेतृत्वकर्ता हुन् वा होइनन् भन्ने प्रश्न पनि पटक पटक उठ्ने गरेको छ। गत वर्षको अस्ट्रेलिया विश्वकपपछि उनलाई टि२० कप्तानबाट हटाइएको थियो।

यस्तोमा यो शृंखलामा जितेर रोहित आफू सही कप्तान रहेको प्रमाणित गर्न चाहन्छन्। अस्ट्रेलिया जस्तो बलियो विपक्षीविरुद्ध खेल्दा कप्तानका रुपमा उनले कस्तो निर्णय लिन्छन्, समग्र भारतीय क्रिकेटले चासोका साथ हेर्नेछ।

नागपुरमा पहिलो टेस्ट खेलेपछि दुवै टिम नयाँ दिल्ली पुग्नेछन्। तेस्रो र चौथो टेस्ट उत्तराखण्ड र अहमदबादमा हुनेछन्। यो शृंखलामा रोहितलाई विश्वासिला ऋषभ पन्तको साथ रहने छैन। चोटका कारण मैदानबाहिर रहेका ब्याट्सम्यान तथा विकेटपिकर ऋषभको अनुपस्थिति भारतीय टिममा पक्कै महसुस हुनेछ।

विकेटकिपिङमा कोना भरतलाई मौका दिइनेछ। पछिल्लो समय मजबुत विकेटपिकरका रुपमा उदाइरहेका भरतले रणजी ट्रफीमा तीन शतक प्रहार गरेका थिए। यद्यपि उनले अस्ट्रेलिया जस्तो बलियो टिमविरुद्ध कसरी ब्याटिङ गर्लान् भन्ने संशय चाहिँ छ।

ऋषभसँग मिल्दोजुल्दो ब्याटिङ गर्छन्, इशान किशन। तर उनको फिल्डिङ क्षमतालाई लिएर कप्तान रोहित र प्रशिक्षक राहुल द्रबिड ढुक्क नरहेको खबर आइरहेका छन्। कप्तान र प्रशिक्षकसामु टिम छनोट पनि टाउको दुखाइको विषय बन्ने अनुमान गरिएको छ।

केएल राहुल टिममा पर्दा सूर्यकुमार वा शुभमनम गिलमध्ये एक जना बाहिर रहनेछन्। भारतका लागि पटक पटक ‘म्याचविनर’ बनेका सूर्य र शुभमनमध्ये एकलाई टिमबाहिर राख्नु टिमका लागि पीडादायक हुनेछ। त्यसैगरी कप्तान राहुलले अक्सर पटेल र कुलदीप यादवबीच एकलाई छान्नु पर्नेछ। यो छनोट सजिलो छैन।

उता अस्ट्रेलियाले एस्टन एगरलाई लियोनको साझेदारका रुपमा पहिलो एघारमा राख्ने अनुमान गरिएको छ। ब्याटिङ क्षमताका कारण एगरलाई मिचेल स्विपसनको सट्टामा खेलाउने सम्भावना रहेको बताइँदैछ। बलिङमा कप्तान पाट कुमिन्सलाई स्कट बोल्यान्डले पनि साथ दिने विश्वास छ।

अस्ट्रेलियाली टिम दायाँहाते ब्याट्सम्यानले भरिएको छ। तीमध्ये डेभिड वार्नर, उस्मान ख्वाजा, ट्राभिस हेड र एलेक्स क्रे पहिलो एघारमा पर्ने अनुमान गर्न सकिन्छ। बायाँहाते ब्याट्सम्यानमध्ये स्मिथ र मार्नस लाबुछाने खेल्नेछन्। क्यामरुन ग्रिनको स्थान पनि बायाँहातेले नै लिने अनुमान छ। यसका लागि पिटर ह्यान्ड्सकम र म्याट रेन्स प्रतिस्पर्धामा छन्।

प्रकाशित: २५ माघ २०७९ १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =