दुई मिचेलको सामर्थ्यमा अस्ट्रेलियाको असामान्य जित

हिमाल प्रेस ५ चैत २०७९ १९:०७
8
SHARES
दुई मिचेलको सामर्थ्यमा अस्ट्रेलियाको असामान्य जित

काठमाडौँ- दुई मिचेलले उत्कृष्ट प्रदर्शन गरेपछि अस्ट्रेलियाले भारतमाथि आइतबार १० विकेटको जित दर्ता गरेको छ। भारतको विशाखापट्नममा अस्ट्रेलियालाई जित दिलाउन मिचेल स्टार्कले पाँच विकेट हात पारे भने मिचेल मार्सले अविजित ६६ रन बटुले। यो नतिजापछि भारतमा जारी एक दिवसीय शृंखला १–१ को बराबरीमा पुगेको छ।

स्टार्कले अनुपम बलिङ गरेसँगै भारत २६ ओभरमा ११७ रनमा अलआउट भएको थियो। घरेलु मैदानमा भारतले बनाएको यो चौथो सानो एकदिवसीय योगफल हो। अस्ट्रेलियाविरुद्ध भारतले यसअघि दुईपल्ट मात्र योभन्दा थोरै रन बटुलेको थियो।

भारतले दिएको सानो लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि ओपनरद्वय ट्राभिस हेड र मार्सले बनाएको रन जितका लागि पर्याप्त रह्यो। हेडले ३० बलमा ५१ र मार्सले ३६ बलमा ६६ रन बनाएपछि अस्ट्रेलियाले ११ ओभरमा १२१ बनायो।

गत शुक्रबार पहिलो एकदिवसीयमा पाँच विकेटको पराजय भोगेको अस्ट्रेलियासँग अब अन्तिम खेलमा जित हात पार्दै शृंखलामाथि कब्जा गर्ने अवसर छ। अन्तिम खेल आउँदो बुधबार चेन्नाईमा हुने तालिका छ।

टस हारेर ब्याटिङ गरेको भारतका लागि अक्सर पटेलले बनाएको विराट कोहलीले बनाएको ३१ रन सर्वाधिक स्कोर रह्यो। जम्मा चार भारतीय ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गरेको खेलमा अक्सर पटेल २९ रनमा नटआउट रहे। कप्तान रोहित शर्मा १३ र रविन्द्र जडेजा १६ रनमा समेटिए।

ओपनर शुभमन गिल, मध्यक्रमका सूर्यकुमार यादवसँगै तल्लोक्रमका मोहम्मद शामी र मोहम्मद सिराज शून्यमा आउट भए। भारतीय इनिङ्स उकास्ने अनुमान गरिएका केएल राहुल नौ र हार्दिक पान्ड्याले एक रन मात्र जोड्न सके। पाुहना टिमका लागि सिन एबोटले तीन विकेट हात पार्दा नाथान इलिसले दुई विकेट लिए।

विजयी टिमका कप्तान स्टिभ स्मिथले ३७ ओभर बाँकी रहँदै खेल जित्नु असामान्य नतिजा रहेको प्रतिक्रिया दिए। ‘नयाँ बलले बलिङ गर्दै स्टार्कले भारतमाथि दबाब सिर्जना गरे। खासमा भन्ने हो भने हामीलाई कति योगफल बन्छ भन्ने अनुमान थिएन। किनभने यहाँको विकेटबारे केही थाहा थिएन। हामीले बस आफ्नो योजना अनुसार खेलेको हो,’ स्मिथले भने।

हेड र मार्सले बलियो सुरुवात गरेपछि खेल जित्न सहज भएको स्मिथको भनाइ थियो। ‘उनीहरूले निरन्तर ब्याटिङ गरेपछि हामीले यो शृंखलामा पुनरागमन गर्न सकेको हो। हामी यो खेलमा केही हदसम्म भाग्यमानी पनि साबित भयौँ। व्यक्तिगत रुपमा म आफ्नो प्रदर्शनबाट सन्तुष्ट छु। हार्दिक जस्ता प्रभावशाली खेलाडीलाई क्याच आउट गर्न सकेँ,’ स्मिथको भनाइ थियो।

भारतीय कप्तान रोहितले आफूहरूले खराब ब्याटिङ गरेको स्वीकार गरे। ‘हामीले प्रतिस्पर्धात्मक योगफल नै बनाउन सकेनौँ। आफ्नै कारणले धेरै रन बन्न नसकेको हो। पहिलो ओभरमा शुभमनलाई गुमाएपछि मैले र विराटले ३०–३५ रन जोड्यौँ। त्यसपछि म आउट भएँ। अरु पनि विकेट गए। स्टार्कले कमालको बलिङ गरे। उनले भारतीय ब्याट्सम्यानको खेल मज्जाले अध्ययन गर्नसके,’ रोहितको भनाइ थियो।

प्लेयर अफ द म्याच बनेका स्टार्कले आफूले हाल अरुभन्दा प्रभावकारी बलिङ गर्न सकेको बताए। ‘पछिल्लो समय मैले राम्रो लय देखाउन सकिरहेको छु। मलाई लाग्छ यो लय वर्षौदेखिको मेहनतको फल हो। टिममा मेरो भूमिका अरुकोभन्दा फरक पनि छ। म प्रत्येक बलमा स्टम्प्समाथि आक्रमण गर्ने प्रयास गर्छु,’ स्टार्कले भने।

प्रकाशित: ५ चैत २०७९ १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =