गठबन्धन जोगाउन नसकेको बारे माफी माग्नुपर्छ : गगन थापा

राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई हराएरै छोड्ने दाबी

हिमाल प्रेस २५ माघ २०७९ १३:३९
8
SHARES
गठबन्धन जोगाउन नसकेको बारे माफी माग्नुपर्छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले कांग्रेस नेतृत्वको गठबन्धन जोगाउन नसकेको बारे जनतासँग माफी माग्नुपर्ने बताएका छन्। आज बुधबार काठमाडौँमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले आत्मालोचना गर्दै गल्ति गरियो भनेर माफी माग्नुपर्ने बताएका हुन्।

‘२० वर्षसम्म गठबन्धन जान्छ, स्थिरता र समृद्धि दिन्छ, मत हाल्नुस् भनेर भन्यौँ। हामीले त मतदाताको जनप्रतिनिधि छान्ने अधिकारलाई सीमित गरिदिऔँ। तर, प्रधानमन्त्रीको विषयमा कुरा नमिल्दा पाँच वर्ष पनि गठबन्धन टिकाउन सकिएन,’ उनले भने, ‘अहिले आफूलाई आफूले प्रश्न गर्ने र अरूलाई उत्तर दिनुपर्छ कि पर्दैन? आम नागरिकलाई उत्तर दिनुपर्छ। १५ वर्ष नभए पनि पाँच वर्ष पनि टिकाउन सकिएन। लाखौँ मतदातालाई गठबन्धन बोकाएर, त्यो भारी बोकाएर अहिले उत्तरबाट भाग्ने? हामीले प्रश्न सोध्ने को हो भन्ने? त्यो मिल्दैन, यसको उत्तर हामीले दिनुपर्छ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको समर्थनसहित सरकारको नेतृत्व गर्नुअघि माओवादी, कांग्रेस, नेकपा एस, जनमोर्चासहितको गठबन्धन थियो। यो गठबन्धन चुनावमा पनि सँगै थियो।

त्यस्तै कांग्रेस नेतृत्वको गठबन्धनको टुटाउन एमालेले छक्याएको पनि उनको भनाइ छ। उनले एमालेले कांग्रेसलाई सांसदको हस्ताक्षर ल्याउँछु भनेर र माओवादीलाई प्रधानमन्त्री दिन्छु भनेर छक्याएको पनि बताए।

‘एमालेले सरकार गठनको विषयमा एमालेले छक्याएकै हो। एमाले छट्टु नै हो। एमालेले हामी हस्ताक्षर लिएर आउँछु भनेकै हो,’ उनले थपे, ‘माओवादीलाई पनि प्रधानमन्त्री बनाउँछु भनेकै हो। आज एमालेले यसो उसो गर भन्नमिल्छ?’

उनले एमालेले राष्ट्रपतिमा कसैलाई आँखा लगाउलास् भनेर संसद् बैठकमा पाठ पढाएको भन्दै आपत्ति पनि जनाए। एमालेले बनाएको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छोड्ने पनि उनको भनाइ छ।

‘आज एमालेले राष्ट्रपतिमा आँखा लगाउलास् भन्न पाइन्छ? संसद्‌मा पढाएको छ। हाम्रोमा राष्ट्रपतिलाई कार्यकर्ता बनाइयो। एमालेले बनायो भने सम्माननीय कठपूतली राष्ट्रपति भने हुन्छ,’ उनले भने, ‘त्यसले संविधानले दिँदै नदिएको अधिकारमा खेल्छ। अनि बालुवाटार र शीतलनिवासबाट कार्यकारी भूमिका खोज्न थाल्छ। यसले संविधानलाई दुर्घटनातर्फ धकेल्छौँ। एमालेको उम्मेदवारलाई हराउँछौँ हराएरै छोड्छौँ। आँखा लगाउलास् भन्नुहुन्छ आँखै लगाइन्छ। संविधान जोगाउन।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलाको विषयमा निन्दा गरेको भन्दै आपत्ति पनि जनाए। ‘अदालतले गरेको फैसलामा छलफलभन्दा पनि निन्दा गर्ने काम एमलाेले गरिरहेको छ। स्वतन्त्र न्यायपालिकाले राजनीतिक नेताको निर्णय सुनेर फैसला सुनाउने हो?,’ उनले भने, ‘स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा ओलीले संसद्‌ बैठकमै खै न्याय कसले पायो भन्दै टिप्पणी गरेका थिए।’

उनले राप्रपालाई पनि प्रश्न गरे। प्रदेश खारेज गर्छौँ भनेर प्रदेशमा सभामुख र मन्त्री किन बनाएको भनेर राप्रपाले जवाफ दिनुपर्ने उनको भनाइ छ। उनले राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले सरकारलाई समर्थन किन दिएको? किन सरकारमा गएको? किन बाहिर आएको भन्नेबारे जवाफ दिनुपर्ने बताए।

‘रास्वपाले ल्याएको मतले आश्चर्यचकित बनाएको छ। यसले हामीलाई सच्याउन दबाब दिएको छ। घचघच्याएको छ,’ उनले भने, ‘नो नट अगेन भनेर आएको पार्टी सरकारमा किन गएको? किन गएको बताउन नपर्ने अनि किन बाहिर गएको बताउनु नपर्ने? बाहिर गएको किन भनेर भन्नु नपर्ने?सहमति पालना भएन भन्ने अनि समर्थन फिर्ता किन नगरेको?’

प्रकाशित: २५ माघ २०७९ १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =