भारतबाट तरकारी ल्याउन प्रतिबन्ध गरियोस् : ज्ञानेन्द्र शाही

हिमाल प्रेस २२ माघ २०७९ १७:००
22
SHARES
भारतबाट तरकारी ल्याउन प्रतिबन्ध गरियोस् : ज्ञानेन्द्र शाही फाइल तस्बिर

काठमाडौँ– सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले तरकारीको बिक्री वितरणमा संलग्न बिचौलियाहरूलाई तत्काल जेल चलान गर्न सरकारसँग माग गरेका छन्।

प्रमुख सचेतक शाहीले नेपाली किसानहरूलाई आत्महत्या हुनबाट जोगाउन भन्दै उनीहरूलाई तत्काल हत्कडी लगाएर जेल चलान गर्न कृषिमन्त्री ज्वालाकुमारी साहसँग माग गरेका हुन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भारतबाट आयात हुने तरकारीमा प्रतिबन्ध लगाउन पनि सरकारलाई दबाब दिए। नेपालमा व्यापार नभएर आत्महत्या गर्न बाध्य भएका किसानहरूलाई राहत दिन पनि सरकारले भारतबाट आयात हुने तरकारीमा प्रतिबन्ध गराउनुपर्ने उनको तर्क छ।

चालू आर्थिक वर्षको ६ महिनामा १० अर्व ११ करोड २२ लाख रुपैयाँको हरियो तरकारी आयात गरिएको उल्लेख गर्दै प्रमुख सचेतक शाहीले नेपालको ठूलो धनराशि यसरी खेर गइरहेको बताए। उनले एशियामा नै कहलिएका ४४ वटा उद्योग कहाँ गयो भनि सरकारलाई प्रश्न गरे।

सरकारले चर्को व्याजदर असुली गरेका कारण साना किसानहरूले आत्महत्या र आत्मादाहको बाटो रोज्नु परेको उल्लेख गर्दै प्रमुख सचेतक शाहीले यस्तो अवस्था आउन नदिने गरी सरकारले ब्याजदर निर्धारण गर्नुपर्ने पनि उल्लेख गरे।

‘चुनावको बेलामा हामीले भोट माग्दै गर्दा र जनताले हामीलाई भोट हाल्दै गर्दा आफ्नो सपना र भविष्यलाई आत्मासात गर्दै हामीलाई भोट हालेका हुन्। तर यो संसदमा आएर हामीले जसरी समय बर्बाद गरिरहेका छौं। यसका लागि जनताले हामीलाई मत हालेका होइनन्। म यही प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र साथसाथै हामीलाई भोट मात्रै होलेका होइनन्,’ उनले भने, ‘आज एक रोटी खानका लागि र एकसरो कपडा ढाक्नका लागि नेपालीहरू विदेश जानुपर्ने परम्परा बसेको छ। अझै हामीले संसदमा बसेर ठूलो कुरा गर्ने सुहाउँदैन भन्ने मलाई लाग्दछ। आज व्यापारीले व्यापार गर्न पाएको छैन। आज किसानले खेती गर्न पाएको छैन। विद्यार्थीले गुणस्तरीय शिक्षा पाएको छैन। विरामीले गुणस्तरीय उपचार पाएको छैन।’

उनले नेपाली उद्यमीहरूले व्यवसाय गर्न खोज्दा अनेक प्रक्रियागत झण्झट रहेकाले व्यवसायीहरूले आत्मदाह र आत्महत्यको बाटो रोज्न बाध्य भएको जिकिर गरेका छन्।

‘यस्तो अवस्था तत्काल परिमार्जन गर्न आवश्यक छ। होइन भने अझै प्रेमप्रसाद आचार्यहरू उत्पन्न हुनेछन्। यहाँ हजारौंले झुण्डिएर मनुपर्ने अवस्था आउन सक्छ। मैले हिजो एउटा किसान चितवनमा रोईरहेको देखेको छु। हजारौं किसानहरू आज सडकमा आएका छन। यस्तो अवस्थालाई तत्काल परिमार्जन गर्न आवश्यक छ,’ उनले भने।

उनले केही दिनअघि चितवनमा टमाटरलगायत तरकारी सडकमा छरेर किसानहरूले आन्दोलन गरेकोप्रति सरकार गम्भीर बन्नुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =