चिराइतो खेतीबाट किसान उत्साहित

हिमाल प्रेस ११ माघ २०७९ ११:४८
4
SHARES
चिराइतो खेतीबाट किसान उत्साहित

भोजपुर- चिराइतोले आकर्षक मूल्य पाएपछि भोजपुरका किसान उत्साहित छन्। केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको चिराइतोको मूल्य बढेपछि किसानमा उत्साह थपिएको हो।

दुई-चार वर्षअघिसम्म प्रतिमन आठ रुपैयाँदेखि १० हजार रुपैयाँ मूल्यमा बिक्री गर्न बाध्य भएका किसान यस वर्ष प्रतिमन तीस हजार रुपैयाँमा घरबाटै बिक्री भएपछि उत्साहित भएका छन्। यहाँका अधिकांश स्थानीयले चिराइतोको व्यावसायिकरूपमा खेती गर्दै आएका छन्।

गत वर्षदेखि मूल्यमा वृद्धि भएपछि खेतीप्रति आकर्षण बढेको भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका गुणराज राउतले बताए। विगतमा निराशा थपिएको भए पनि मूल्य बढ्न थालेपछि चिराइतो कृषक उत्साहित भएको राउतको भनाइ छ।

‘चिराइतोको मूल्यमा वृद्धि भएपछि उत्साह थपिएको छ’, उनले भने, ‘विगतको मूल्य हेर्दा निराशा थियो। प्रतिमन सात–आठ हजार रुपैयाँमा पनि बेचियो। यस वर्ष घरबाटै प्रतिमन ३० हजार रुपैयाँका दरले बिक्री भयो।’ बीस रोपानी क्षेत्रमा खेती गरेको ठाउँमा आफूले १० मन उत्पादन गरेको उनको भनाइ छ।

बजारमा त्यो भन्दा राम्रो मूल्य भए पनि किसानले भने सोचेजस्तो मूल्य अझै नपाएको उनको भनाइ छ। किसानले तलका व्यापारीले लगाउने मूल्य थाहा नपाउने हुँदा बिचौलियाले ठग्ने गरेको उनको भनाइ छ।

‘किसानलाई वास्तविक मूल्य थाहा पाउन कठिन छ’, उनले भने, ‘बिचौलियाको भरमा हामीले बिक्री गर्नुपर्ने अवस्था छ। झापाको विर्तामोड पाउने मूल्यको हामीलाई जानकारी हुँदैन। यहाँका ठेकेदारले भनेको आधारमा बिक्री गर्नुपर्छ । सरकारले मूल्य निर्धारण तथा बजारीकरणमा भूमिका खेलिदिए वास्तविक किसानलाई राहत पुग्ने थियो।’

लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको पर्याप्त उत्पादन हुने गरेको छ। चिराइतोबाट आलु, मकैभन्दा राम्रो आम्दानी हुने स्थानीय कृषक देवेन्द्र राउतले बताए। यहाँका एक जना कृषकले औषतमा २० देखि ५० मन (४० केजीको एक मन) सम्म उत्पादन गर्ने उनले बताए।

यस वर्ष साढे उन्नाइस मन चिराइलो बिक्री गरेको राउतको भनाइ छ। ‘मैले यो वर्ष पाँच लाख रुपैयाँ बढी आम्दानी गरेँ’, उनले भने, ‘मैले सुरुमा प्रतिमन २६ हजार रुपैयाँले बेचेँ, अहिले प्रतिमन ३० हजार रुपैयाँमा बिक्री भइरहेको छ ।’

चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा संकलन गर्न सकिने कृषक प्रेम बस्नेतले बताए।

यस वर्ष यहाँबाट ५० हजार दुई सय ६२ किलो चिराइतो बाहिर गएको तथ्यांक रहेको जिल्ला वन कार्यालय भोजपुरले जनाएको छ। बाहिर लैजाने क्रम जारी रहेकाले यो परिमाण अझ वृद्धि हुनसक्ने कार्यालयले जनाएको छ । यहाँको करिब एक हजार हेक्टर क्षेत्रमा चिराइतो खेती गरिन्छ। भोजपुरको अधिकांश माथिल्लो भेगमा यसको व्यावसायिक खेती हुने गरेको छ।

टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौँछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाउँ चिराइतोका लागि मुख्य पकेट क्षेत्र हुन्।

एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइमा चिराइतो राम्रोसँग फस्टाउने गर्दछ। ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको लगायतमा चिराइतो प्रयोग गर्न सकिन्छ। पात, डाँठ, जरालगायत भाग नै प्रयोग गर्न सकिन्छ। यहाँको चिराइतो भारत, चीन र बंगलादेशमा निर्यात हुने व्यवसायी बताउँछन्।

प्रकाशित: ११ माघ २०७९ ११:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eight =