पोखरा जहाज दुर्घटनाका मृतक डा. दम्पतीको सेती नदीमा सामूहिक दाहसंस्कार

हिमाल प्रेस ८ माघ २०७९ १८:१९
4
SHARES
पोखरा जहाज दुर्घटनाका मृतक डा. दम्पतीको सेती नदीमा सामूहिक दाहसंस्कार सांकेतिक तस्बिर।

पोखरा– पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा-४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको छ। दुर्घटनाको ८ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि पोखरा सेती नदीस्थित तुल्सी घाटमा आइतबार उनीहरूको सामूहिक दाहसंस्कार गरिएको हो।

काठमाडौँबाट पोखरा आउने क्रममा जहाज दुर्घटनामा परी पोखरा-४ गणेश टोल निवासी एकै परिवारका ३८ वर्षीय डा. सुशील श्रेष्ठ, उनीकी श्रीमती डा. सोना श्रेष्ठ र १५ महिने छोराको निधन भएको थियो।

सेती नदीमा आइतबार डाक्टर दम्पतीलाई एउटै चितामा दागबत्ती दिइएको छ भने नाबालक छोराको व्रतबन्ध भइनसकेका कारण सेती नदीको किनारमा गाडिएको छ। सुशीलका बुबा मदनकाजी विभिन्न रोग र परिवारको चिन्ताका कारण किरिया बस्न सक्ने अवस्था नहुँदा एक ब्राह्मणलाई किरिया बस्न लगाइएको छ।

तीन जनाकै शव क्षतविक्षत अवस्थामा थिए। डा सुशील दुई वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक सर्जनका रूपमा कार्यरत थिए। डा. सोना पनि एमडी गर्दै थिइन्। डा. सुशीलले काठमाडौँ मेडिकल कलेजबाट एमबीबीएस पढेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका थिए।

शोकमा डुबेको परिवारलाई सान्त्वना दिन आज मदनकाजी श्रेष्ठको घरमा थुप्रै छिमेकी जम्मा भए। मदनकाजी श्रेष्ठ नेकपा एकीकृत समाजवादी पार्टीका सल्लाहकारसमेत हुन्। घरमा शव ल्याएपछि बुबा मदनकाजीलाई सम्हाल्नै नसकिएको छिमेकी कृषमान पालिखेले सुनाए। सुशीलकी आमा पनि परिवारको सम्झनाले मुर्छित अवस्थामा छन्।

विभिन्न रोगसँग लड्दै आउनुभएका श्रेष्ठलाई आइतबार पोखरामा भएको जहाज दुर्घटनाले परिवारमा परेको बज्रपातले झनै कमजोर बनाएको छ। उनीका कान्छा छोरा, बुहारी र १५ महिने नातिको पोखराको सोती खोँचमा भएको जहाज दुर्घटनामा परेर निधन भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nineteen =