विमान दुर्घटनाका मृतकमध्ये २२ जनाको पोस्टमार्टम

हिमाल प्रेस ३ माघ २०७९ १९:०३
4
SHARES
विमान दुर्घटनाका मृतकमध्ये २२ जनाको पोस्टमार्टम

पोखरा- पोखरामा आइतबार भएको यती एअर दुर्घटनाका मृतकमध्ये २२ जनाको पोखरामै पोस्टमार्टम गरी परिवारका सदस्य एवं आफन्तलाई बुझाइएको छ। बाँकी ४८ जनाको शव काठमाडौं पठाइयो। त्यस्तै, थप एक जना मंगलबार शव भेटिएको छ।

सेती खोंच दुर्घटनास्थलभन्दा करिब ७ सय मिटर तल पानीमा एक महिलाको शव भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए। शव पोस्टमार्टमका लागि पोखराको रामघाटस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। तर शवको पहिचानमा कठिनाइ भएकोले बुधबार काठमाडौं नै पठाउनुपर्ने हुन सक्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्रीले बताए।

शव फेला पर्न नसकेका २ जनाको मंगलबार बिहानैदेखि दुर्घटनास्थल वरपर गोताखोर र ४ ड्रोन प्रयोग गरी खोजी गरिएकोमा साँझमात्र फेला परेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए।

काठमाडौंदेखि पोखराका लागि उडेको यती एअरको एटिआर–७२ विमान आइतबार बिहान सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो। विमानमा चालक दलका ४ सहित ७२ जना यात्रु सवार रहेकोमा सबैको मृत्यु भएको थियो।

काठमाडौं पठाइएकामा शवहरुमा पहिचान हुन नसकेका, चालक दलका सदस्य तथा विदेशी नागरिक छन्। पोखरामै परिवारका सदस्य तथा आफन्तद्वारा पहिचान भइ सनाखत हुन सकेका शवको पोस्टमार्टम गरिएको हो। विमान दुर्घटनाका यात्रुको आइकाओको नियमअनुसार बिमा तथा पोस्टमार्टम रिपोर्ट आवश्यक पर्ने भएकोले २ दिनसम्म ढिलाइ हुन गएको थियो । बिमाको निम्ति ८० पृष्ठसम्मको फाराम भर्नुपरेको मृतकका आफन्तले बताए।

पोखरामै पोस्टमार्टम गरिएकाहरुमा पोखरा १३ का सदाकल अली मियाँ, पोखरा ११ का त्रिभुवन पौडेल, पर्वतको कुस्मा ९ कटुवाचौपारीका ४६ वर्षीय अरुण पौडेल, उनकी ११ वर्षीया छोरी प्रसिद्धि पौडेल, रुपन्देहीको तिलोत्तमा ४ का डा. गणेश थापा, पोखरा ११ का २७ वर्षीय निशान्त आचार्य, पोखरा २६ का पूर्णबहादुर गुरुङ, पोखरा १७ की ४३ वर्षीय जीवनकला गुरुङ, पोखरा १० का पूजन राना, पोखरा ७ की एसमिन गुरुङ छन्।

यस्तै, बागलुङको बडिगार्ड ३ की लोकगायिका नीरा छन्त्याल, पर्वतको मोदी १ का ३९ वर्षीय विजयकुमार गुरुङ, पोखरा ८ का शिवकुमार गुरुङ, पोखरा २२ का रक्की गुरुङ, पोखरा १९ का लक्ष्मी पौडेल, बागलुङको गलकोट २ की २१ वर्षीया बन्दना सुनार, पोखरा १७ की संगीता शाही, पोखरा ९ नागढुंगाका ५३ वर्षीय शालिकराम आचार्य, कावासोती ६ का ३५ वर्षीय मोहनप्रसाद श्रेष्ठ, पोखरा ८ बगालेटोलकी २३ वर्षीया अनुषा गुरुङ, पोखरा १० की ओममाया गुरुङ, कास्कीको माछापुच्छ्रे २ की ४३ वर्षीया सीता गुरुङको पनि पोखरामै मंगलबार पोस्टमार्टम गरी परिवारका सदस्यलाई बुझाइएको छ।

पोस्टमार्टमका लागि काठमाडौंबाट फरेन्सिक विशेषज्ञको २ सदस्यीय टोली यहाँ आएको थियो । शव बुझेका परिवारका सदस्य तथा तिनका आफन्तले आ–आफ्नो परम्पराअनुसार अन्त्येष्टी गरेका छन्।

प्रकाशित: ३ माघ २०७९ १९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 16 =