गण्डकी जनमोर्चाका पूर्वसांसद थापा सुन्तलाखेतीमा व्यस्त

हिमाल प्रेस ६ माघ २०७९ १८:१७
14
SHARES
गण्डकी जनमोर्चाका पूर्वसांसद थापा सुन्तलाखेतीमा व्यस्त

बागलुङ– गण्डकी प्रदेशसभाका पूर्वसांसद कृष्ण थापा अहिले सुन्तलाखेतीमा व्यस्त छन्। राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्दै आएका थापा अहिले पूरै समय कृषिकर्मा व्यस्त भएका हुन्।

राष्ट्रिय जनमोर्चालाई बागलुङमा छुट्टै पहिचान बनाउन संघर्ष गरेका उनी अहिले राजनीतबाट अलग बनेर सुन्तलाका बोट स्याहार्दै आएका छन्। जैमिनी नगरपालिका-४ सर्कुवाका थापाले २०६२/६३ सालमा जनमोर्चा बागलुङको नेतृत्व गरेका थिए। त्यसताका बागलुङमा राष्ट्रिय जनमोर्चाको ठूलो प्रभावसमेत थियो।

समय बदलिएसँगै उनका केही सहयात्री पार्टी परित्यागमा लागे, केही राष्ट्रिय जनमोर्चामा छन् तर उनी अहिले कुनै दलमा आवद्ध छैनन्। अहिले उनी आफ्नो जन्मगाउँ फर्केर सुन्तला खेतीमा लागेका छन्।

०७४ सालमा वामगठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यमा बागलुङ २(ख) बाट प्रत्यक्ष निर्वाचित थापाले आफ्नो पाँचवर्षे कार्यकालसमेत पूरा गर्न पाएनन्। पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार फेरबदलको समयमा उनलाई आफ्नै पार्टी राष्ट्रिय जनमोर्चाले कारबाही गरेर ३ वर्षमै पदबाट हटाएपछि उनी गाउँ फर्किएका हुन्।

तत्कालीन कांग्रेससहितको गठबन्धनलाई सहयोग नगरेपछि उनलाई पार्टीले कारबाही गरेको थियो। थापा पार्टीबाट निष्कासनविरुद्ध सर्वोच्च अदालत गए पनि फैसला अझै आएको छैन।

‘कृषिमा मेरो अहिलेको मात्रै लगाव हैन, राजनीतिमा लाग्दासमेत थियो, जब प्रदेशसभा सदस्य भए बसाइ बढी पोखरामै भयो, प्रदेशसभा सदस्य भए पनि कृषिमा समय दिन पाइनँ, घरमाथिका ५० सुन्तलाका बोटले स्याहार पाएनन्,’ उनले भने, ‘जब पद गयो, त्यसपछि तत्कालै गाउँ फर्केर कृषिको सपना पूरा गर्न थाले, पुराना ५० बोटलाई मलजल गरे, नयाँ जग्गामा सुरुवातमै २ सय ५० बोट सुन्तला लगाए, पछिल्लो वर्ष पुनः २ सय बोट थपे, हुर्कन लागेका बोट स्याहार गर्दै नयाँ बोट थप्दै आएको छु, केही तरकारी खेतीसमेत गर्दै आएको छु।’

उनले झन्डै १० रोपनी जग्गामा सुन्तला खेती गरेका छन्। थापाले प्लाष्टिक टनेलसमेत बनाएर तरकारी खेती गर्न थालेका हुन्। गाउँमा सुन्तलाखेती विस्तारमा समेत अगुवाइ गर्दै आएका थापाले सर्कुवालाई सुन्तला गाउँका रूपमा चिनाउने गरी काम गर्ने सोच बनाएको बताए।

‘आर्थिक रूपमा सबल हुन कृषि कर्ममै लाग्ने निधोसहित घर फर्किएको हुँ,’ थापाले भने, ‘पहिलैका बोटमा फलेका सुन्तला केही बिक्री गरेर यस वर्ष ५० हजार रुपैयाँ कमाएँ, ५० हजारका सुन्तला अझै छन्, यो सुरुवाती चरण हो, वार्षिक चार/पाँच लाख कमाउने लक्ष्यका साथ सुन्तलासँगै तरकारीखेती विस्तारमा समेत लागेको छु, अब आर्थिक परिवर्तनमा लाग्न आवश्यक देखेँ।’

सर्कुवाकै अर्का सुन्तला किसान अमृत सेवेदीले यस वर्ष सुन्तला बिक्रीबाटै ३ लाख ५० हजार कमाएको बताए। सुवेदीको अहिले सुन्तला फल्ने र हुर्कंदै गरेकासहित ८ सय सुन्तलाका बोट छन्। अहिले सुवेदीको सुन्तला बगैचाका ३ सय बोटले उत्पादन दिइरहेका छन्। बिहुँ, सिगाना, भकुण्डे, तित्याङसँगै जैमिनीको सर्कुवा सुन्तला खेतीका लागि प्रख्यात छ। -राससको सहयोगमा

प्रकाशित: ६ माघ २०७९ १८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =