स्पेनिस कप : रियल म्याड्रिड र बार्सिलोना क्वार्टरफाइनलमा

हिमाल प्रेस ६ माघ २०७९ १०:४७
6
SHARES
स्पेनिस कप : रियल म्याड्रिड र बार्सिलोना क्वार्टरफाइनलमा

काठमाडौँ- भिल्लारियलको चुनौती पन्छाउँदै रियल म्याड्रिड स्पेनिस कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पहिलो हाफमा २–० ले पछि परेको रियलले दोस्रो हाफमा तीन गोल गर्दै जित दर्ता गरेको हो। बार्सिलोनाले तेस्रो श्रेणीको क्लब सेउटालाई ५–० ले पन्छाउँदै अन्तिम आठमा स्थान पक्का गर्‍यो।

सन् २०२३ लागेपछि खराब लयमा रहेको रियलका लागि बिहीबार रातिको जित ‘टर्निङ पोइन्ट’ बन्ने आशा गरिएको छ। गत आइतबार स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग हारेको रियल त्यसअघि ला लिगामा भिल्लारियलसँगै पराजित भएको थियो।

घरेलु मैदानमा रियलमाथि लगातार दोस्रो जित दर्ता गर्ने लक्ष्य बोकेको भिल्लारियलले चौथो मिनेटमै अग्रता लिएको थियो। एटिएन कापुले जेरार्ड मोरेनोको असिस्टमा गोल गर्दै भिल्लारियललाई खेलमा अघि बढाएका थिए। मोरेनोकै पासमा ४२ औँ मिनेटमा सामुएल चुकुवेजे गाल गरेपछि भिल्लारियलले अग्रत दोब्बर बनायो।

तर दोस्रो हाफमा भिनिसियस जुनियर, एडेर मिलिटाओ र डानी सेबाओसले एक–एक गोल गदै रियललाई जित दिलाए। पुनरागमन जितका लागि माहिर मानिने रियलले धेरैपछि यस्तो जित हासिल गरेको हो।

‘पहिलो र दोस्रो हाफबीच आकाश जमिनको फरक थियो। दोस्रो हाफमा हामीले सुधारिएको प्रदर्शन गर्नसक्यौँ। खतरा मोलेर खेल्यौँ जुन निर्णय सही साबित भयो। उनीहरूले काउन्टर अट्याक गर्ने खतरा भए पनि हामीले प्रेस गरेर खेल्यौँ,’ जितपछि रियलका प्रशिक्षक कार्लो एन्सिोलट्टीले भने।

पहिलो हाफमा पछि परेपछि एन्सिलोट्टीले दोस्रो हाफ सुरु भएको १० मिनेटपछि दुई खेलाडी परिवर्तन गरेका थिए। टोनी क्रुस र रोड्रिगोको स्थानमा सेबाओस र असेन्सियोलाई मैदान प्रवेश गराइएको थियो। यो सिजन खासै खेल्न नपाइरहेका यी दुई सब्स्टिच्युट खेलाडीले खेल परिवर्तन गरे। रियलको पहिलो गोल सेबाओसकै कारण सम्भव भएको थियो। दोस्रो गोलको मुभ असेन्सियोको फ्रिकिकबाट सुरु भएको थियो।

‘पहिलो हाफमा दुई गोल खाए पनि हामी अत्तालिएनौँ। दोस्रो हाफमा नतिजा आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने विश्वास थियो। आखिरमा लक्ष्यमा सफल भइयो,’ निर्णायक गोल गरेका सेबाओसले भने, ‘पछिल्लो समय हामी आफ्नो स्तर अनुसारको प्रदर्शन गर्नबाट चुकिरहेका छौँ। फेरि लगातार खेल्नु परिरहेको छ। त्यसमाथि विश्वकपका कारण धेरै खेलाडी थाकेका छन्। आशा छ आउँदा खेलमा प्रदर्शनमा सुधार आउनेछ।’

साउदी अरबको राजधानी रियादमा सुपर कप च्याम्पियन बनेर स्पेन फर्किएको बार्सिलोनाका लागि सेउटा कठिन विपक्षी ठहरिएन। स्पेनिस कप ३१ पटक जितेका् बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने बाँकी तीन गोल रफिन्हा, आन्सु फाती र फ्रान्क केसीको नाममा रहे।

बार्सिलोना हेलिकप्टरमा सेउटा पुगेको थियो। अफ्रिकी महादेशसँग समुद्री सीमाना रहेका सेउटा पुग्न बार्सिलोनाको टिम मालागामा केही घण्टा रोकियो। बार्सिलोनाबाट हवाइजहाजमा मालागा पुगेको बार्सिलोनाको टिम त्यहाँबाट हेलिकप्टर चढी सेउटा पुगेको थियो।

स्पेनिस कपको आन्तिम आठको ‘ड्र’ शुक्रबार हुँदैछ। अन्तिम आठमा पुग्ने सबै टिम ला लिगाका छन्। यसकारण जो विपक्षी परे पनि खेल कठिन हुने बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजको भनाइ छ। ‘हामी अन्तिम आठको खेल घरेलु मैदानमा खेल्न चाहन्छौँ,’ जाभीले भने, ‘ अन्तिम आठमा पुगेका सबै टिम ला लिगाका छन्। यसकारण हामी सचेत छौँ। त्यो खल कठिन हुनेछ।’

प्रकाशित: ६ माघ २०७९ १०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =