टेन हाग भन्छन् : क्रिस्टल प्यालेसविरुद्ध गोल गर्ने प्रयास भएन

हिमाल प्रेस ५ माघ २०७९ १०:३४
6
SHARES
टेन हाग भन्छन् : क्रिस्टल प्यालेसविरुद्ध गोल गर्ने प्रयास भएन

काठमाडौँ- आतिरिक्त समयमा गोल खाँदै क्रिस्टल प्यालेससँग १–१ को बराबरीमा रोकिनु परेपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले आफ्ना खेलाडीहरूको आलोचना गरेका छन्। इंग्लिस प्रिमियर लिगमा बुधबार राति प्यालेसविरुद्ध पाएका मौकामा गोल थप्न नसक्दा टेन हाग आक्रोशित देखिएका हुन्।

प्यालेसको मैदान सेल्हस्र्ट पार्कमा युनाइटेडले पहिलो हाफको ४३ औँ मिनेटमा अग्रता लिएको थियो। कप्तान ब्रुनो फर्नान्डेजले गोलको खाता खोले पनि दोस्रो हाफमा युनाइटेड फिक्का देखियो। बरु घरेलु टिमले ९० मिनेट केटेपछि गोल फर्कायो। युनाइटेडका लागि विंगर माइकल ओलिसेले बराबरी गोल गरेका थिए।

यो खेल बराबरीमा टुंगिएसँगै युनाइटेडले दोस्रो स्थानमा उक्लिने मौका गुमायो। युनाइटेडसँग १९ खेलपछि ३९ अंक छ। एक खेल कम खेलेको सिटी पनि ३९ अंक नै छ।

लगातार नौ खेल जितेको युनाइटेड यही आइतबार आर्सनलसँग भिड्दैछ। यसकारण पनि यो खेलमा जित हासिल गर्दै आर्सनलमाथि दबाब सिर्जना गर्ने युनाइटेडको लक्ष्य थियो।

‘प्यालेसले गोलको मौका सिर्जना नै गरेन भन्दा हुन्छ। उसले पाएको मौका भनेको त्यही एक–एक कर्नर फ्रिकिक हो।हामी जितबाट जम्मा दुई मिनेट टाढा थियौँ। तर गोल खान पुग्यौँ। मुख्य कुरा त हामीले पहिले नै गोल थप्न पर्ने थियो। तर मेरा खेलाडीहरूले गोल गर्ने प्रयास गरेनन्। यो नतिजा चित्तबुझ्दो भएन। यसकारण मैले मेरा खेलाडीको आलोचना गर्नैपर्छ,’ टेन हागले आक्रोश पोखे।

गत शनिबार म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीलाई हराएपछि युनाइटेड उपाधि दौडमा फर्कने आश गरिएको थियो। तर सिटीले बिहीबार टोटनहमलाई हराए युनाइटेडसँगको दूरी लम्बिनेछ।

सन् २०१३ यता कुनै उपाधि नजितेको युनाइटेडका प्रशिक्षक टेन हागले प्यालेससँगको बराबरी आफ्ना टिमका लागि पाठ हुनुपर्ने पनि बताए। ‘हाम्रो नजर अब अर्को खेलमाथि छ। यो बराबरीलाई पाठका रुपमा लिँदै आर्सनलविरुद्ध राम्रो तयारी गर्नुछ। खेलाडीहरूले पनि आफूहरू तयार रहेको सन्देश दिनुपर्छ,’ टेन हागले भने।

प्रकाशित: ५ माघ २०७९ १०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 4 =