प्रमुख प्रतिपक्षी दलमा कांग्रेसलाई नेमकिपाको चुनौती

प्रमुख प्रतिपक्षी दलको नेतामा देउवा र सुवालको आ-आफ्नै दाबी

हिमाल प्रेस ४ माघ २०७९ २१:४६
8
SHARES
प्रमुख प्रतिपक्षी दलमा कांग्रेसलाई नेमकिपाको चुनौती

काठमाडौँ– मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफूलाई विश्वासको मत दिने दलहरूको बैठक राखेका थिए। प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार बैठकमा सबै दलले आफ्ना कुरा राखे।

तर, रोचक विषय कांग्रेस सभापति शेरबहादुर देउवाको रह्यो। देउवाले आफूहरू प्रमुख प्रतिपक्षी दलको रूपमा बैठकमा सहभागी भएको मात्रै बताएनन् आफू नै प्रमुख प्रतिपक्षी दलको नेता भएको जिकिर गरे।

बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पत्रकारहरूसँग भने, ‘हामीले प्रमुख प्रतिपक्षी दल कांग्रेस र सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलको नेता रहेको कुरा राख्यौं।’

कांग्रेसले सरकारलाई समर्थन गरेको भन्दै नेपाल नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रमुख प्रतिपक्षी दलको मान्यता आफूले पाउनुपर्ने दाबी गरिरहेका बेला कांग्रेसले विपक्षी दल र नेताको विषय सर्वदलीय बेठकमा उठाएको हो।

नेमकिपा सांसद प्रेम सुवालले प्रमुख प्रतिपक्षी दलको नेतामा दाबी प्रस्तुत गरेपछि कांग्रेस झस्किएको हो। उसो त यो संकट कांग्रेस आफैँले निम्त्याएको हो।

संसदमा कांग्रेस सबैभन्दा ठूलो दल भएर पनि सरकार बनाउन असमर्थ भयो। त्यसपछि दोस्रो ठूलो दल नेकपा एमाले र तेस्रो ठूलो दल माओवादी मिलेर बनेको सरकारलाई विश्वासको मत दिएर कांग्रेस सत्तापक्ष भएको छ। यद्यपि सरकारमा भने सहभागी छैन।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको–पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ ले विपक्षी दलको नेताको परिभाषा गरेको छ। जसअनुसार सरकारलाई समर्थन नगर्नेहरूमध्ये सबैभन्दा ठूलो दल प्रमुख प्रतिपक्षी दल हुन्छ।

प्रतिनिधिसभा वा राष्ट्रिय सभामा दश प्रतिशत वा सो भन्दा बढी सदस्यहरू भएको कुनै पनि दल विपक्षमा नभए प्रतिनिधिसभामा सभामुखले र राष्ट्रिय सभामा राष्ट्रिय सभाका अध्यक्षले तोकिदिएको दल प्रमुख प्रतिपक्षी दल हुने व्यवस्था यस ऐनमा छ।

यसमा नेमकिपाका सांसद सुवालको तर्क छ, ‘विपक्षी दुई दलमध्ये नेमकिपा ठूलो दल हो। त्यसकारण कानुनअनुसार नेमकिपा प्रमुख प्रतिपक्षी दल हो। यसलाई अन्यथा गर्ने छुट कसैलाई छैन।’

मंसिरमा सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ नेमकिपाले ७५ हजार १६८ मत पाएको थियो भने राष्ट्रिय जनमोर्चाले ४६ हजार ५०४ मत पाएको थियो। समानुपातिकतर्फ पाएको मतका आधारमा नेमकिपा ११ औं ठूलो दल भएको र बाँकी १० दलले सरकारलाई समर्थन गरेकाले आफूहरूले नै प्रमुख प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने नेमकिपाको दाबी छ।

प्रकाशित: ४ माघ २०७९ २१:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =