प्रचण्ड सरकार ढाल्ने प्रयास समाप्त!

हिमाल प्रेस २३ पुष २०७९ ९:०७
70
SHARES
प्रचण्ड सरकार ढाल्ने प्रयास समाप्त!

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिएर सरकार ढाल्ने प्रयासमा कांग्रेस निरन्तर लागिरह्यो। शुक्रबार भेटघाट पनि निकै बाक्लो बनायो। तर ३० दिनमै सरकार ढालेर अस्थिरता निम्त्याउने कांग्रेसको प्रयासको ‘च्याप्टर’ शुक्रबार साँझसम्म ‘क्लोज’ भएको नेताहरू बताउँछन्।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत नदिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले निकै प्रयास गरे। जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेताहरूसँग कांग्रेसका नेताहरूले संवाद बढाए। राप्रपा र जसपा नेतृत्वलाई प्रधानमन्त्रीको अफर, मुख्यमन्त्रीहरूको अफर समेत कांग्रेस नेताहरूले गरेको खबर बाहिर आए।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्। उनले विश्वासको मत नपाए सरकार ढल्छ। सोही प्रयासका लागि कांग्रेसले सत्ता गठबन्धनमै रहेका दलहरूलाई फुत्काएर सरकार बाहिर ल्याउने प्रयास गरिरह्यो।

स्रोतका अनुसार कांग्रेसले सत्ता गठबन्धन छाडेर आए राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको अफरसमेत दियो। कांग्रेसले राप्रपासँग निरन्तर यस विषयमा छलफल चलायो। सभापति शेरबहादुर देउवाले शुक्रबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरे।

तर एकीकृत समाजवादी, जसपा, राप्रपा, जनमत र नाउपा सबैले नयाँ समीकरणप्रति विश्वास गरेनन्। राप्रपालाई प्रधानमन्त्रीसहित चार मन्त्रालय दिन सकिने भनेर कांग्रेसबाटै प्रस्ताव गएको थियो। जवाफमा अनैतिक खेलमा नलाग्ने भनिदिएको राप्रपाकै नेताहरू बताउँछन्।

एमालेका एक शीर्ष तहका नेताले पनि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत लिन नदिने योजना कांग्रेसले बनाइरहेको सूचना आफूहरूलाई रहेको बताए। एमालेका पदाधिकारी तहका ती नेताले भने, ‘उहाँहरू (कांग्रेस) कम्मर कसेर लाग्नुभएको छ। प्रधानमन्त्री नै अफर गर्नुभएको कुरा आएको छ। तर त्यसलाई सफल हुन दिँदैनौँ।’

कांग्रेसले राप्रपालाई एमाले-माओवादीको गठबन्धनबाट बाहिर निकाल्न सके एकीकृत समाजवादी र जसपालाई पनि आफ्नै कित्ता उभ्याउन सकिने आकलन गर्दै नयाँ समीकरणको प्रयास गरेको हो।

बिहीबार कांग्रेस सभापति देउवालाई भेट्न जसपाका अध्यक्ष उपेन्द्र यादव धुम्बाराही पुगेका थिए। समाजवादीका अध्यक्ष माधव नेपाल पनि कांग्रेससँगको कुराकानीमा थिए।
पुस २६ गते संसदमा प्रचण्डको विपक्षमा १४१ जना सांसद पुर्‍याउने मिसनसाथ कांग्रेस अघि बढेको थियो। प्रचण्डलाई विश्वासको मत नदिएर सरकार ढाल्ने प्रयासमा कांग्रेस निरन्तर लागिरह्यो। ३० दिनमै सरकार ढाल्ने कांग्रेसको प्रयास सफल नहुने संकेत देखापरेको छ।

प्रचण्ड कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको ७ दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका छन्। उनी विश्वासको मत पाउने वातावरण बनाउनमा प्रयत्नशील छन्।

माओवादीका नेताहरूले कांग्रेसलाई पनि प्रचण्डलाई विश्वासको मत दिन आग्रह गरिरहेका छन्। प्रचण्ड माओवादी, एमाले, रास्वपा, राप्रपा, जसपा र स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु शाह र किरण कुमार यादवसहित १६९ जना सांसदको समर्थनमा पुस १० गते प्रधानमन्त्रीको नियुक्ति लिएका थिए। सत्ता साझेदार दलका नेताहरू ३० दिनमै सरकार ढालेर अस्थिरता निम्त्याउने कांग्रेसको प्रयास हुने प्रस्ट भएको बताउँछन्।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रचण्डप्रति व्यक्तिगत रूपमा सकारात्मक धारणा रहेको बताउँछन्। तर विश्वासको मत दिने कि नदिने भन्ने सरकार कुन ढंगले अगाडि बढ्छ, त्यसअनुसार मात्र निर्णय लिने उनको जवाफ छ।

कार्यदलमा रहेका राप्रपा महामन्त्री धवलसम्शेर राणा भन्छन्, ‘न्यूनतम साझा कार्यक्रममा करिब/करिब सहमति जुट्यो। अब हामी सरकारमा जान्छौंँ।’

‘एकीकृत समाजवादीले केही निर्णय गरेको छैन। शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘विश्वासको मतबारे जम्मै पक्षको विश्लेषण गर्छौँ। व्यक्तिगत रूपमा प्रचण्डजीप्रति सकारात्मक धारणा छ। सरकार कुन ढंगले अगाडि बढ्छ, यो हेरीकन टुंगो गर्छौँ।’

जनता समाजवादी पार्टी जसपा नेपालका नेता प्रदीप यादवको प्रस्ट जवाफ छ, ‘हामीले प्रचण्डलाई समर्थन गर्छौं भनेर राष्ट्रपतिकोमा गएर हस्ताक्षर गरिसकेका छौँ, मत दिन्छौँ।’ उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत हासिल गर्नेमा ढुक्क रहेको बताए।

साथसाथै जसपा र राप्रपाले सरकारमा सहभागी हुने भनिसकेका छन्। सत्ता साझेदार दलहरूको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाएसँगै राप्रपा र जसपा सरकारमा जाने भएका हुन्।

कार्यदलमा रहेका राप्रपा महामन्त्री धवलशमशेर राणा भन्छन्, ‘न्यूनतम साझा कार्यक्रममा करिब/करिब सहमति जुट्यो। अब हामी सरकारमा जान्छौंँ।’
जसपाका अध्यक्ष उपेन्द्र यादव पनि सहमतिमै न्युनतम साझा कार्यक्रम तयार हुनु सकारात्मक भएको बताउँछन्। कार्यदलको मस्यौदा आफूले अध्ययन गर्न बाँकी रहेको बताएका उनले जसपा सरकारमा भने जाने प्रस्ट पारे।

कांग्रेस नेतृत्वमा नयाँ समीकरण बन्ने सम्भावना सकियो कि बाँकी छ भन्ने प्रश्नमा जसपा अध्यक्ष यादवले भने, ‘अब त्यस्तो सम्भावना छैन।’ प्रचण्ड सरकार ढाल्ने प्रयासको च्याप्टर क्लोज भएको स्वयं कांग्रेसका शीर्ष नेताहरूले नै पनि स्वीकार गरेका छन्। अब एमाले र माओवादीको समीकरण भत्काउने प्रयास नगर्ने उनीहरूको संकेत छ।

सभापति देउवाले शुक्रबार अपराह्न दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग संयुक्त भेट गरेका थिए। आफ्नै निवास धुम्बाराहीमा भएको छलफलमा सभापति देउवाले पाँचदलीय गठबन्धन कसरी भत्कियो भनेर ब्रिफिङ गरेका थिए।

स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली धोका दिएको देउवाको निष्कर्ष थियो। महामन्त्री गगन र विश्वप्रकाशले भने सरकार गठनका लागि भएको वार्ता सम्वादमा आफूहरूलाई सहभागी नगराएकोमा असन्तुष्टि जनाएका थिए।

भेटपछि महामन्त्री शर्माले सञ्चारकर्मीहरूसँग भने, ‘अन्तिम समयमा हाम्रो तर्फबाट पर्याप्त हस्तक्षेप हुन सकेन भनेर हामी पनि आत्मालोचित हौँला। तर पनि दुर्घटना नभएर सेफ ल्यान्ण्डिङ भयो, पाइलटको प्रशंसा हुन्छ, दुर्घटना भइहाल्यो भने कोपाइलटलाई दोष लगाउन थालियो भने त्यो पनि राम्रो हुँदैन।’
शर्माले पनि प्रचण्ड नेतृत्वको सरकार ढाल्ने पहल नभएको संकेत गरे।

‘पार्टीको कुनै साथीले चोकमा चिया पिउँदै गर्दा कसैलाई केही भन्यो भने त्यो अलग कुरा हो,’ महामन्त्री शर्माले सञ्चारकर्मीहरूसँग भनेका छन्, ‘संस्थागत रुपमा सभापति, उपसभापति, महामन्त्रीको तहबाट कोही कसैलाई अगाडि लाग है पनि भनिएको छैन। हामी नजाने गाउँको बाटो सोध्दैनौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =