प्रेमराजाको ‘बन्दिपुरैमा २’ एक ‘अर्गानिक’ गीत

हिमाल प्रेस २१ पुष २०७९ १७:४३
148
SHARES
प्रेमराजाको ‘बन्दिपुरैमा २’ एक ‘अर्गानिक’ गीत

काठमाडौँ- प्रेमराजा महत र शान्तिश्री परियारको स्वर रहेको गीत ‘बन्दिपुरैमा २, ढुंगेधारैको’ सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत गायक महतकै छ भने संगीत संयोजन बीबी अनुरागीले गरेका छन्।

नारायण रायमाझीले निर्देशन गरेको गीतको म्युजिक भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

भिडियोमा प्रेमराजा महत, रिना थापा, मिराज अर्याल, माया आले, हिमालजंग भण्डारी, दीप केसीलगायत कलाकारको अभिनय छ।

गीत सार्वजनिक भएको एक साता नबित्दै साढे चार लाखभन्दा बढीले हेरिसकेका छन्। प्रेमराजा महतको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा सयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताले कमेन्ट गरेका छन्।

धेरैले गीतलाई ‘अर्गानिक’ भनेका छन्। गीतमा शब्द, भाका, स्वर, भाव र परिवेश सबैको उचित संयोजन भएको उनीहरूको भनाइ छ। ‘गीतमा सुन्दर एवं मीठो मौलिक प्रस्तुति छ,’ एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्।

अर्काे सामाजिक सञ्जाल प्रयोगकर्ताले त गायक महतलाई लोकलय क्षेत्रको ‘चम्किलो बृहस्पति’ भनेका छन्। साथै उनको नयाँ सिर्जना उत्कृष्ट लागेको बताएका छन्।

गायक महतको यसै शीर्षकको यो पहिलो प्रस्तुति भने होइन। दुई वर्षअघि पनि पुसमै उनले ‘बन्दिपुरैमा’ सार्वजनिक गरेका थिए। त्यस गीतमा पनि उनलाई गायिका शान्तिश्री परियारले नै साथ दिएकी थिइन्।

गीतमा अभिनय भने रञ्जिता गुरुङ र गायक महतको थियो। गीतमा गाउँघरतिर मेलापातमा देखिने मायापिरती थियो।

किसानको भूमिकामा देखिएका महतले गीतमा नेपालीको पहिचान झल्काउन शब्द प्रयोग गरेका थिए। डोको, नाम्लो, लुंगी र चोली, हलो, जुवा, कोदाली, टोपी र स्टकोटजस्ता शब्द गीतमा थिए। ती शब्दसँगै गाउँको परिवेश र मायापिरतीलाई जोड्न खोजेका छन्।

तनहुँ, बन्दीपुर ऐतिहासिक तथा पर्यटकीय ठाउँ हो। गायक महतले त्यसको महत्त्वलाई शब्द र संगीतमार्फत उजागर गर्ने प्रयत्न गरेका छन्। भिडियोमा महतसँगै रिना थापा र दर्जनौँ कोरसलाई झ्याउरे तालमा नचाइएको छ।

उतिखेर सो गीतले निकै चर्चा पायो। डेढ करोडभन्दा बढीले हेरेको सो गीतकै दोस्रो भागका रूपमा गायकले ‘बन्दिपुरैमा २’ ल्याएका हुन्। पहिलो भाग पनि नारायण रायमाझीले निर्देशन गरेका हुन्।

दुवै गीतको भाकाले गाउँको मौलिकपन झल्काएको छ। धारा र पँधेरोमा भेटेर जिस्कने गाउँले पिरतीलाई गीतमार्फत कलात्मक ढंगले प्रस्तुत गरिएको छ। मेलापातको काम, खाजामा मोही, मकै, दूध, भातजस्ता शब्दले गाउँले जीवनशैलीलाई गीतमा उतारेको छ।

सरल शब्द प्रयोग गरिएको गीतको छायांकन बन्दिपुरको रमणीय स्थलमा भएको छ। चर्चित तीनधारा, बजारबाट देखिने हिमशृङ्खला, सूर्यास्तको समयको मनमोहक दृश्य पनि गीतको भिडियोमा कैद गरिएको छ।

पछिल्लो समयका लोकगीतमा मौलिकपन हराउँदै गएको धेरैको भनाइ छ। तर गायक महतको गीतमा त्यो मौलिकपन अझै बाँकी रहेको छ। त्यसैले उनी नेपाली लोकदोहोरी क्षेत्रमा चर्चित छन्। उनको ‘बाँझो खेतमा’, ‘लाम माया छपक्कै’, ‘सिमसिमे पानीमा’, ‘हिउँचुलीमा हिउँ’, ‘सालैको पातैले’ लगायत थुप्रै गीत लोकप्रिय छन्।

महत लामो समययता अमेरिका बस्दै आएका छन्। तैपनि उनी नेपालीको मनबाट हट्न सकेका छैनन्। नेपालीहरूले उनलाई अझै पनि त्यति नै माया गर्छन्। उनले पनि बेलाबेलामा नेपाल आउने र देशवासीलाई सांगीतिक कोसेली दिने गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 4 =