व्यवसायीहरूको समस्या समाधान गर्न छुट्टै युनिट बनाइन्छ : गृहमन्त्री लामिछाने

प्रहरी प्रशासनमा हस्तक्षेप गर्ने राजनीतिक दललाई कारबाही गर्ने प्रतिबद्धता

हिमाल प्रेस २० पुष २०७९ १४:४६
8
SHARES
व्यवसायीहरूको समस्या समाधान गर्न छुट्टै युनिट बनाइन्छ : गृहमन्त्री लामिछाने फाइल तस्बिर।

काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको छलफलमा गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।

विगतका सरकारले उद्योगी व्यवसायीहरूलाईजस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने उनको भनाइ छ। उद्योग व्यवसायको सुरक्षाको लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनै पनि काममा नचुक्ने उनले प्रतिबद्धता जनाए।

गृहमन्त्री लामिछानेले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायीहरू साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने पनि बताए। उनले उद्योगी व्यवसायीहरूले आफ्नो व्यापार वृद्धि गरी मुलुकको राजश्व वृद्धिमा ध्यान दिन आग्रह गरे। उनले उद्योगी व्यवसायीहरूले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरूलाई भेटेर समय खेर फाल्नु नपर्ने बताए।

उनले सरकारको नीतिगत विषयमा समस्या आए व्यवसायीहरूले सल्लाह सुझाव दिन आग्रह गरे। गृहमन्त्री लामिछानेले उद्योगी व्यवसायीहरूले पैसा कमाउनुलाई अपराध गर्नुजस्तो व्याख्या गर्ने अवस्थाको अन्त्य गर्ने पनि आश्वासन दिए। उनले उद्योगी व्यवसायीहरूले सही ढंगले स्वच्छ प्रतिष्पर्धा गरी व्यापार व्यवसायबाट पैसा कमाउँदा नै मुलुकको उन्नति हुने बताए।

उद्योग व्यवसाय बढ्दै जाँदा मुलुकभित्र रोजगारीको सिर्जना हुने बताउँदै उनले कानुनबाहिर रहेर काम गर्नेहरूको खोजी गरेर कारबाही गर्ने उल्लेख गरे। ‘कालोबजारी फोहोरको चाङ सफा गर्दा बढी दुर्गन्ध आउनसक्छ। यसका लागि उद्योगी व्यवसायीहरूले दुर्गन्ध सहन तयार हुनुपर्छ। कालोबजारी गर्नेहरूको फोहोर सरकारले सफा गर्नेछ,’ उनले भने। आफूले कसैलाई जोगाउन र कसैलाई फसाउनुपर्ने नभएको उल्लेख गर्दै कानुनीको परिधिभित्र रहेर काम गर्ने पनि उनको भनाइ छ।

‘मुलुकको अर्थतन्त्रमा परेको प्रभाव कालोबजारीको कारण परेको भनेर अर्थमन्त्रीज्यूले ठूलो रकम देखाउनुभएको छ। आफैँमा मेरा लागि चुनौतिको विषय छ र हाम्रो कार्य कुशलतामा निर्भर हुने भएको हुनाले कालोबजारी गर्नेहरू कारबाहीको प्राथमिकतामा पर्छन्,’ उनले भने, ‘ निर्धक हुनुस्। हिजोकोजस्तो अवस्था रहँदैन।’

उनले प्रहरी प्रशासन र सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप हटाउने प्रतिबद्धता जनाए। प्रमुख जिल्ला अधिकारीहरूलाई कुनै पनि अपराध,कालोबजारी नियन्त्रणका विषयमा कुनै पनि राजनीतिक दलहरूको दबाबमा नपर्न उनले निर्देशन दिए।

‘कसैले फोन गरेर यो मान्छे, सामान छुटाइदिनुस् भन्यो भने त्यसलाई कानुनअनुसार कारबाही गरिन्छ,’ उनले भने। गृहमन्त्री लामिछानेले सरकारको नीतिगत विषयमा समस्या आए सल्लाह सुझाव दिन व्यवसायीहरूलाई आग्रह गरे। व्यवसायीहरूले पैसा कमाउनु अपराध गर्नुजस्तो व्याख्या गरिएकाले त्यसलाई परिवर्तन गरिने पनि लामिछानेको भनाइ छ।

छलफलमा व्यवसायीहरूले सीमानाकामा हुने चोरी निकासी, कालोबजारी, मूल्यबृद्धि नियन्त्रण, उत्पादनहरूको बजार व्यवस्था गरिदिन सरकारसमक्ष माग राखेका छन्।

प्रकाशित: २० पुष २०७९ १४:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + sixteen =