दलदलमा नेपाली क्रिकेट

हिमाल प्रेस १९ पुष २०७९ २१:३०
152
SHARES
दलदलमा नेपाली क्रिकेट

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी नेपाल टि२० लिगमा ६ फ्रेन्चाइज टिम सहभागी छन्। राउन्ड रोबिनका खेल लगभग सकिनै लाग्दा प्लेअफबारे चर्चा हुनु पर्ने हो। किनभने यो लिगको फर्म्याट अनअुसार प्लेअफमा पुग्ने र त्यहाँ हुने प्रतिस्पर्धा सबैभन्दा रोचक पक्ष हो।

तर चर्चा प्लेअफ र मैदानमा भइरहेको प्रतिस्पर्धा, विदेशी खेलाडीको कौशल, नेपाली खेलाडीको प्रदर्शनबारे छैन। बरु लिगमाथि नैतिक र कानूनी प्रश्न उठ्न थालेका छन्।

हुन त यो लिग जन्मिनुअघि नै विवादित बनेको थियो। नेपाली क्रिकेट नियामक संस्था नेपाल क्रिकेट संघ (क्यान) ले बिना प्रतिस्पर्धा भारतीय कम्पनी सेभेन थ्री स्पाेर्ट्सलाई लिग आयोजना साझेदारका रुपमा भित्र्याएपछि विवाद सुरु भएको थियो। प्रतियोगिता आयोजना अधिकार विदेशी कम्पनीलाई बेच्दा नियम अनुसार सरकारबाट लिनुपर्ने अनुमति पनि लिइएको थिएन।

साझेदार भित्र्याउँदा मात्र होइन फ्रेन्चाइज टिम छनोट, खेलाडीको ड्राफ्ट, अक्सन लगायतका सबै काम गोप्य र अपारदर्शी ढंगमा गरिएको थियो। त्यसमाथि लिग खेल्न काठमाडौँ ओर्लिएका खेलाडीहरूको श्रम स्वीकृति लिइएको छैन।

नेपालको आधिकारी टि२० लिग भनिएको यो प्रतियोगिता सम्बन्धी विवाद मंगलबारबाट नयाँ शृंखलामा प्रवेश गरेको छ। यो लिग अब आखिरमा प्रहरीको राडरमा आइपुगेको छ। म्याच फिक्सिङ र बेटिङ भइरहेको आशंकमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले छानबिन सुरु गरेको बताएको छ।

कीर्तिपुर प्रहरीले बेटिङमा संलग्न भएको भन्दै तीनलाई पक्राउ गरेको छ। ती तीनमध्ये एक भारतीय नागरिक रहेको बुझिएको छ। तर ती तीन प्रतियोगिता आयोजक, साझेदार, टिम कोहीसँग पनि सम्बन्धित नरहेको बताइएको छ।

मंगलबार नै काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना टिमका केही खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव आएको खुलाएका थिए। यसबारे आफूले प्रतियोगिता आयोजक अन्तरगतको एन्टी करप्सन युनिटमा जानकारी गराइसकेको ज्ञानेन्द्रको भनाइ थियो।

मंगलबार दिउँसो लिगका कमेन्ट्री गर्दै आएका सचिन तिमिल्सिनाले लिगमा शंकास्पद गतिविधि भइरहेको दाबी गरेका थिए। सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको भिडियोमा उनले यसो भनेका छन्, ‘त्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने क्रियाकलाप देखेँ।’

उसो त मंगलबार बिहानबाटै लिग हुने मैदानबाट अस्वभाविक खबर आइरहेका थिए। पारिश्रमिक नपाएको भन्दै खेलाडीहरू खेल्न तयार भएनन्। जसकारण काठमाडौँ नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल ढिलोगरी सुुरु भएको थियो। लिग सुरु हुनुअघि नै ४० प्रतिशत पारिश्रमिक पाउने सहमति भएकाले सो रकम तत्काल पाउनु पर्ने खेलाडीहरूको माग थियो। तर क्यानको आश्वसनपछि ती खेलाडीहरू मैदान फर्किए।

लिगमा सहभागी टिमहरूको मालिक को को हुन् भन्ने पर्याप्त जानकारी नभइरहेका बेला मंगलबार दिनभर सेभेन थ्री स्र्पोट्सका प्रमुख जतिन अहलुवालिया नेपालमा नरहेको खबरले नेपाली क्रिकेट बजार तात्यो। उनी हाल भारतमा रहेको बुझिएको छ। एक अनलाइनलाई दिएको अन्तरवार्तामा उनी केही दिनभित्र नेपाल फर्कने बताएका छन्।

विवादको राप फैलिँदै गएकाले क्यान अप्ठ्यारोमा पर्ने देखिन्छ। लामो समय आईसीसीको प्रतिबन्ध भोगेको नेपाली क्रिकेट धेरैपछि निर्वाचित समितिले सम्हाल्न सुरु गरेको थियो। चतुर बहादुर चन्दको नेतृत्वमा रहेको यो समिति लगातार विवादमा फस्दै आएको छ।

त्यसै पनि राष्ट्रिय टिमको प्रदर्शनका कारण नैरश्यता छाएको बेला यो ताजा विवादले नेपाली क्रिकेटलाई झन् अप्ठ्यारोमा पार्ने देखिएको छ। लगातारको खराब प्रदर्शन, बारम्बारको प्रशिक्षक परिवर्तन, जोखिममा परेको एकदिवसीय मान्यता आदि विषय नेपाली क्रिकेटमा नकारात्मकता फैलाउन काफी थिए। त्यसमाथि यो लिगले त झन् नेपाली क्रिकेटलाई बेटिङ र फिक्सिङको थलो बनाइदिएको छ।

प्रकाशित: १९ पुष २०७९ २१:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =