मन्त्रालयको संख्या घटाएर मितव्ययी सरकार बनाउन राष्ट्रियसभा अध्यक्षको आग्रह

हिमाल प्रेस १९ पुष २०७९ १५:२३
6
SHARES
मन्त्रालयको संख्या घटाएर मितव्ययी सरकार बनाउन राष्ट्रियसभा अध्यक्षको आग्रह

काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सानो मन्त्रीमण्डल विस्तार गरेर मितव्ययी सरकार बनाउन सरकारलाई आग्रह गरेका छन्। मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौँमा आयोजना गरेको प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा उनले त्यस्तो धारणा राखेका हुन्।

उनले भने,‘गठबन्धनमा सहभागी सबै पार्टीले मिलेर आवश्यक मन्त्रालय मात्रै बनाई जनताका समस्या समाधानमा लाग्नुपर्छ। सरकारले २० जनासम्मको मन्त्री मण्डल विस्तार गर्दा हुन्छ।’ ठूलो मन्त्रीमण्डल बनाउँदा राज्यको खर्च बढी हुने र विकास निर्माणका कामले पनि गति लिन नसक्ने उनले बताए।

मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा रहेको भन्दै अर्थतन्त्रको सुधारका लागि सबै किसिमबाट मितव्ययी बन्नुपर्नेमा उनको जाेड थियो।

‘गठबन्धन जरुर बन्ने नै भयो। कति दलको भन्ने मात्रै कुरा रह्यो। यस्तो बेलामा मन्त्रालय संख्या, मन्त्री नै बढाएर मात्रै गठबन्धन हुने हो र? यो नगरौँ। पार्टी धेरै भयो भने पहिले एक/एक वटा भाग पुर्‍याऔँ। बाँकी रहेको ठूला दललाई अलिकति बाँडौँ। सानै मन्त्रालयमा पनि पुग्छ नि,’ उनले भने, ‘प्रदेशतिर गयो भने ५-७-१० वटाभन्दा बढी मन्त्रालय बनाउने बढी पर्ने ठाउँमा। त्यति हुँदा त गठबन्धन भित्रका दल सबै अट्छन्।’

संविधानले संघमा मन्त्रालयको संख्या २५ तोकेको छ। ‘त्यो विगतको एउटा तीतो अनुभवले पनि हो। किनकि ६0-६५ जनासम्म पुग्ने स्थिति बन्दै जान थालेपछि अनन्त कतिसम्म पुग्ने हो, त्यो कारणले २५ तोक्यौँ। २५ तोक्नुको अर्थ २५ पुर्‍याउनै पर्छ होइन तर पुर्‍याइ छाड्छौँ,’  उनले भने।

सांसद भएपछि मन्त्री हुनैपर्छ भन्ने साेचले पनि याे अवस्था सिर्जना भएको उनले बताए। ‘टिकट दिने बेलामा पनि विचार गर्नुपर्ने हो नेताहरूले । जहिले पनि मन्त्रीको लागि घुर्क्याउने र नभए दल छोड्छु भन्नेलाई टिकट दिनु भएन,’ उनले भने,  ‘यो सिंगो व्यवस्थालाई जनप्रिय, जनमुखी बनाउन त्यसतर्फ ध्यान दिनैपर्छ। मन्त्रालय बढी बनाएर सबैलाई मन्त्री बनाउने, पद बाँड्ने गरेर मात्रै यो व्यवस्था जनप्रिय हुनै सक्दैन।’

प्रकाशित: १९ पुष २०७९ १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + fifteen =