सुदूरपश्चिम : कांग्रेसलाई संसदीय दलको नेता छान्‍नै सकस

हिमाल प्रेस १९ पुष २०७९ ११:२५
8
SHARES
सुदूरपश्चिम : कांग्रेसलाई संसदीय दलको नेता छान्‍नै सकस

धनगढी- सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता छनोट गर्न सकेको छैन। एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीले दलको नेता छनोट गरिसक्दा पनि कांग्रेस अझै अन्योलमै छ।

अहिले कांग्रेसका आधा दर्जन प्रदेशसभा सदस्य दलको नेता बन्न लागिपरेका छन्। यहाँ कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवासहित बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कमलबहादुर शाह, प्रकाशबहादुर बम र मेघराज खड्का गरी ६ जनाले संसदीय दलको नेतामा दाबेदारी गरेका छन्।

अहिलेसम्म ढिला भए पनि अब केही दिनमै दलको नेता चयन हुने कांग्रेस प्रदेश महामन्त्री मेघराज खड्काले बताए। पुस २८ गते प्रदेशसभाको बैठक बस्दै छ। उक्त बैठकले सभामुख चयन गर्नेछ। त्योभन्दा अघिनै दलको नेता चयन गरिसक्ने महामन्त्री खड्काले बताए।

अघिल्लो प्रदेशसभा निर्वाचनमा तेस्रो स्थानमा रहेको कांग्रेस अहिले प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ७ सहित जम्मा १९ सिट सहित पहिलो स्थानमा छ। सुदूरपश्चिममा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एसका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ सांसद छन्।

प्रदेश पदाधिकारीको बैठक बस्दै

सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसले प्रदेश पदाधिकारीको बैठक बोलाएको छ। मंगलबार बिहान ११ बजे प्रदेश पार्टी कार्यालयमा पदाधिकारी बैठक बोलाइएको कांग्रेसले जनाएको छ।

कांग्रेस सुदूरपश्चिमका महामन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य मेघराज खड्काले संसदीय दलको नेता चयनको विषयमा छलफल गर्न बैठक बोलाइएको बताए। कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर प्रदेश बाहिर भए पनि उपसभापति लोकराज अवस्थीको अध्यक्षतामा बस्ने खड्काले बताए।

प्रकाशित: १९ पुष २०७९ ११:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =