कर्णालीका कानुनमन्त्रीले भने : होटलमा कार्यक्रम राखेर विभेदका घटना घट्दैनन्

हिमाल प्रेस २४ मंसिर २०७९ १४:२६
6
SHARES
कर्णालीका कानुनमन्त्रीले भने : होटलमा कार्यक्रम राखेर विभेदका घटना घट्दैनन्

सुर्खेत- कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले मानव अधिकारको रक्षा र समाजमा विद्यमान विभेद अन्त्यका लागि कर्णालीका सबै जिल्लाका कुना कन्दरामा पुग्न आवश्यक रहेको बताएका छन्।

शनिबार वीरेन्द्रनगरमा ७४औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस २०७९ का अवसरमा मन्त्री शाहीले यस्तो बताएका हुन्। उनले भने,‘तपाईहरुलाई तीतो लाग्न सक्छ, होटलमा कार्यक्रम गरेर विभेद अन्त्य हुँदैन, के कर्णाली भनेको वीरेन्द्रनगर मात्रै हो हुम्ला, मुगु, डोल्पा र जुम्लाका कुना कन्दरा पनि कर्णाली हुन्।’

मन्त्री शाहीले भने, ‘वीरेन्द्रनगरका शुभ होटल, मेघा होटलमा कर्णालीलाई देख्ने प्रवृत्तिको अन्त्य जहिलेसम्म हुँदैन् कर्णालीमा मानव अधिकारको रक्षा, बालविवाह, बहुविवाह, जातीय विभेद जस्ता सामाजिक कुरीति न्यूनीकरण हुँदैनन्।’

मन्त्री शाहीले समाजमा विद्यमान कुरीतिको न्यूनीकरण र मानव अधिकारकोे सम्वर्द्धन र प्रवद्धन लागि लक्षित समुदायसम्म कार्यक्रम लिएर जानुपर्ने भनाइ व्यक्त गरे। यस्तै, कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी एवम् मध्यपश्चिम विश्वविद्यालयका पूर्वडीन पिताम्बर ढकालले मानव अधिकारका क्षेत्रमा काम गर्नेक्रममा अधिकारकर्मीहरू नै असुरक्षित रहेकाले अधिकारकर्मीको पहिचान र सुरक्षाका लागि प्रदेश सरकारले छुट्टै कानुन निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे।

कर्णालीमा अन्य प्रदेशको तुलनामा कम मानव अधिकार हनन्‌का घटना घटेको ढकालको भनाइ छ। मानव अधिकार उल्लंघनका घटनालाई उल्मुलन गर्न नसकिने तर न्यूनीकरणका लागि भने मानव अधिकारकर्मी सक्रिय भएर लाग्नु पर्ने ढकालले बताए।

यस्तै, आयोगले छानबिन गरेर पठाएका मुद्दाहरू कार्यान्वयनमा राज्यको खासै ध्यान नजानु विडम्बना भएको भन्दै त्यसतर्फ राज्यको ध्यान जान जरुरी रहेको औल्याए।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश प्रमुख लोकनाथ बास्तोलाले मानव अधिकारका क्षेत्रमा आयोग गम्भीर भएर लागेको बताए। आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख बास्तोलाले कर्णालीभर १ सय ९५ वटा मानव अधिकार हनन्‌का घटना घटेको उल्लेख गरेका छन्।

प्रकाशित: २४ मंसिर २०७९ १४:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − three =