पोखराका विनोद : जसले डेभिड वेकमदेखि मर्गन फ्रिम्यानसम्मलाई विश्‍वकपमा खाना खुवाए

हिमाल प्रेस २३ मंसिर २०७९ १७:३७
12
SHARES
पोखराका विनोद : जसले डेभिड वेकमदेखि मर्गन फ्रिम्यानसम्मलाई विश्‍वकपमा खाना खुवाए

काठमाडौँ– यतिबेला संसारभरका मानिसको ध्यान विश्वकपमा केन्द्रित छ। शुक्रबार रातिदेखि सुरु हुने क्वाटरफाइनलका खेलहरूका कारण कतारमा भइरहेको यो प्रतियोगिता हेर्नका लागि संसारका खेल पारखीहरू आ-आफ्नै तयारीमा जुटेका छन्।

सबैलाई यतिबेला खेलको रोमाञ्चक क्षणको व्यस्तताले भुलाएको छ। तीमध्ये सबैभन्दा बढी व्यस्त देखिन्छन् विनोद बराल। कतारको एक सेन्टर किचेनमा बसेर कुन खेल हेर्न कुन स्टेडियममा को-को पाहुनाको आउँछन् र उनीहरूलाई के खुवाउने भन्ने जिम्मा पाएका बराल यतिबेला निक्कै व्यस्त छन्।

५ सय ५० जना भान्छेसहित १ हजार १ सय जना कर्मचारीको नेतृत्व लिएर विनोदले यो विश्वकप सुरु भएदेखि नै विभिन्न विशिष्ठ व्यक्तित्वहरूलाई विभिन्न प्रकारका खाना खुवाइसकेका छन्। जसरी फाइनल खेलसम्मका लागि संसार तातिरहने छ र अति विशिष्ठ पाहुनाहरूको आगमन बढ्दै जानेछ, त्यस्तै विनोदले नेतृत्व गरेको किचेनको व्यस्तता पनि बढ्दै गएको छ।

विश्वकप फुटबललाई पहिलोपटक आयोजना गर्ने अवसर पाएको खाडी मुलुक कतारले यो मौकालाई फुटबलमा मात्र सीमित गरेको छैन। कतारले यो प्रतियोगिताबीच आफ्नो संस्कृति र खानालाई संसारभरि फैलाउने अवसरका रूपमा पनि लिएको छ।

कतारको यो लक्ष्य पूरा गराउन विशिष्ठ पाहुनाहरूलाई उत्कृष्ट खाना खुवाएर सहयोग गरिरहेका छन् विनोद। लन्डनमा कार्यरत नेपाली सेफ र खाद्य अनुसन्धाता विनोदले नेतृत्व गरेको टोलीले विश्वकपको अहिलेसम्मको खेलमा टर्कीका राष्ट्रपति रिसेप तैयब उर्दवान, प्रसिद्ध अमेरिकी अभिनेता मर्गन फ्रिम्यानदेखि फुटबलका बेताज बादशाह डेभिड वेकमसम्मलाई खाना खुवाइसकेको छ।

विश्वकपका विशिष्ठ तथा अति विशिष्ठ पाहुनाहरूलाई के खुवाउने भन्ने मेनु तयार गर्नका लागि विनोद र उनको टोली दुई महिनाअगाडि नै कतार पुगेको हो।

यो टोलीले पुस ३ गते हुने फाइनल खेलसम्म विशिष्ठ तथा अति विशिष्ठ व्यक्तित्वहरूलाई खाना खुवाउने छ। विश्वकपका विशिष्ठ तथा अति विशिष्ठ पाहुनाहरूलाई के खुवाउने भन्ने मेनु तयार गर्नका लागि विनोद र उनको टोली दुई महिनाअगाडि नै कतार पुगेको हो।

‘हामीले कतारमा सबैभन्दा मन पराइएको र सबैभन्दा धेरैपटक खाइने परिकारका बारेमा अनुसन्धान गर्‍यौं। त्यसबाट हामीलाई यहाँको खानपानबारे धेरै ज्ञान भयो। अनि हामीले तीन वटा खानाको वरपर बसेर मेनु बनाउने भयौं। पहिलो कतारका परिकारहरू, यहाँ सबैभन्दा रूचाइने भारतीय उपमहाद्वीपका खाना तथा अन्तर्राष्ट्रिय खेल भएकाले पश्चिमी मुलुकका खानाहरूका आधारमा परिकारको मेनु बनायौं।’

पोखरामा जन्मिएका विनोद औपचारिक शिक्षा लिएर यो पेशामा अन्तर्राष्ट्रिय रूपमा नै माथिल्लो तहमा पुग्ने थोरै नेपालीमध्येमा पर्छन्।

अहिले उनी अष्ट्रियाको इभेन्ट म्यानेजमेन्टसम्बन्धी मल्टिनेशनल कम्पनी गोर्मेट इन्टरटेन्टमेन्ट ग्रुपको रिसर्च एन्ड डेभेलपमेन्ट तथा इनोभेसन किचेन डिपार्टेमन्टको प्रमुख छन्। यो कम्पनीले नै विश्वकप फुटबल प्रतियोगिताका लागि खानासम्बन्धी अनुसन्धान गर्ने, मेनु तयार गर्ने र विशिष्ठ तथा अति विशिष्ठ पाहुनाहरूलाई खाना क्याटरिङ गर्ने जिम्मेवारी पाएको छ।

डिएन्डको वेवसाइट धधध।मयअय।अयm का अनुसार यो कम्पनीले ७६ वटा एयरलाइन्स तथा तिनका एक्ज्युकेटिभ लाउन्जमा क्याटरिङको काम गर्दै आएको छ।

‘विश्वकप फुटबल २०२२ को पार्टनर कतार एयरलाइन्समा हाम्रो कम्पनीकै क्याटरिङ हुन्छ। त्यही नाताले हामी विश्वकप फुटबलसँग जोडिएका हौँ,’ उनले भने।

कतारमा खाना र परिकारबारे प्रारम्भिक अनुसन्धानपछि विनोदको टोलीले यसबारेमा यहाँको सबैभन्दा सम्मानित सेफ आइसा अल तमिमिसँग औपचारिक तालिमसमेत लिएको थियो। यसले आफ्नो आधिकारिक स्वादलाई प्रवर्द्धन गर्ने काममा कतार सरकार कति गम्भीर छ भन्ने पनि देखाउँछ। यो तालीमबाट विनोदको टोलीलाई पनि कतारको आधिकारिक स्वाद आफ्ना परिकारको अनुसन्धानमा जोड्न सजिलो भयो।

‘अनि हामी विभिन्न परिकारहरूको तयारीमा लाग्यौँ। यसमा खानाको तयारी, त्यसको विकास, त्यसको स्वाद तथा परिकारको प्रस्तुतीकरण एवम् परीक्षणका कुराहरू समावेश हुन्छ,’ उनले भने, ‘एउटा कार्यशालामार्फत हामी स्वाद तथा परिकारको प्रस्तुतीकरणका विषयमा विभिन्न विशेषज्ञबाट प्रतिक्रिया पनि लिन्छौं।’

कतार सरकार तथा विश्वकपका अधिकारीहरूले विनोदको टोलीले तयार गरेका खानाको गुणस्तर तथा स्वाद हेरेर/चाखेर स्वीकृति दिएपछि मात्र खानाको मेनु तयार भएको हो।

कतार सरकार तथा विश्वकपका अधिकारीहरूले विनोदको टोलीले तयार गरेका खानाको गुणस्तर तथा स्वाद हेरेर/चाखेर स्वीकृति दिएपछि मात्र खानाको मेनु तयार भएको हो।

‘होस्ट कन्ट्री भएका नाताले आफ्नो खाना तथा स्वादसँगै स्थानीय तरकारी, मरमसला तथा मासुलगायतका उत्पादनको प्रवर्द्धन गर्ने कतार सरकारको चाहनालाई पनि यहाँ परिकारहरू तयार गर्दा हामीले सम्मान गरेका छौं,’ उनले भने।

फुटबलको खेल हेर्न आउने विशिष्ठ तथा अति विशिष्ठ पाहुनाबारे उनको टोलीलाई पहिले नै सूचित गरिन्छ। त्यही सूचनाका आधारमा खाना तयार गरिन्छ। स्थानीय तथा अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दै तापक्रम कम बनाइएको गाडीमा राखेर खानालाई स्टेडियममा पुर्‍याइन्छ।

उनका अनुसार जुन दिन जुन देशको खेल हुन्छ ती देशका एक/एक परिकार अनिवार्य समावेश गरिन्छ। ‘बेलायतको खेल हुँदैछ भने त्यहाँको सबैभन्दा प्रिय खाना फिस एन्ड चिप्स तयार गर्छौं। मोरोक्कोले खेलेको दिन ताजिन र खुसखुस बनायौं,’ उनले भने।

चिसो बनाइएको भ्यानमा खाना स्टेडियममा पुर्‍याएर सुरक्षा जाँचको काम सकिएपछि टोलीले पाहुनालाई खाना दिने गर्दछ।

‘साउदी अरेबियाको राजपरिवार, टर्कीका राष्ट्रपति रिसेप तैयब उर्दवान, भारतका उपराष्ट्रपति जगदीप धनकर, प्रसिद्ध अमेरिकी अभिनेता मर्गन फ्रिम्यान, प्रख्यात फुटबलर डेभिड वेकम, आर्सनल क्लबका म्यानेजर आर्सी वाग्नरलगायतका विशिष्ठ व्यक्तिहरूले हामीले तयार गरेको खानाको उच्च प्रशंसा पनि गरेका थिए,’ उनले सुनाए।

विनोदको ज्ञानका कारण उनलाई अन्तर्राष्ट्रिय परिकार तयार गर्ने क्षेत्रमा ‘मसला पण्डित’ भनेर पनि चिनिन्छ। अनि खानपान बाहेकका क्षेत्रमा गरेका विभिन्न योगदानका कारण सेफभन्दा अलि धेरै काम गर्ने मानिसका रूपमा पनि बिनोदको परिचय बनेको छ।

यो क्षेत्रमा २० वर्षभन्दा बढी काम गर्दा उनले नेपाली परिकारलाई विश्व मानचित्रमा स्थापित गर्ने अनेक काम गरेका छन्।

नेपाली खाना भारतीय खानाभन्दा धेरै फरक हो भनेर अभियानसमेत चलाएका विनोद कतारमा विश्वकप हेर्न आउने संसारका विशिष्ठ व्यक्तित्वहरूलाई खाना चखाएर ‘खाना कुटनीति’को अनुभव लिँदै छन्।

विनोदले लन्डनमा सञ्चालन गरेको रेष्टुरेन्ट मःमः एन्ड रोटी पनि हो। नेपाली खाना भारतीय खानाभन्दा धेरै फरक हो भनेर अभियानसमेत चलाएका विनोद कतारमा विश्वकप हेर्न आउने संसारका विशिष्ठ व्यक्तित्वहरूलाई खाना चखाएर ‘खाना कुटनीति’को अनुभव लिँदै छन्।

‘खानाले मानिस संस्कृति र देशहरू जोड्ने काम गर्छ। म नेपाल, वेलायतका साथै संसारका अन्य देशहरूसँग खाना, संस्कृति तथा परोपकारका कर्महरूका आधारमा जोड्न चाहन्छु,’ उनले भने। यो विश्वकप र यस्ता अन्य कार्यक्रममार्फत विनोदले चलाएको खाना कूटनीतिले नेपालको छविलाई विश्व मानचित्रमा अझै माथि उठाउन बल पुग्ने विश्वास गरिएको छ। -रससको सहयोगमा

प्रकाशित: २३ मंसिर २०७९ १७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =