टिटेको स्पष्टीकरण : पाँचौँ पेनाल्टी नेयमारले प्रहार गर्ने थिए

हिमाल प्रेस २४ मंसिर २०७९ १०:१५
50
SHARES
टिटेको स्पष्टीकरण : पाँचौँ पेनाल्टी नेयमारले प्रहार गर्ने थिए

काठमाडौँ- ब्राजिल विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि प्रशिक्षक टिटेले जिम्मेवारी त्यागेको घोषणा गरेका छन्। शुक्रबार राति एजुकेसन सिटी रंगशालामा ब्राजिलले क्रोएसियासँग पेनाल्टीमा ४–२ को पराजय भाेगेको थियो। यही हारसँगै उपाधि दाबेदार मानिएको ब्राजिलको कतार बसाइ अन्त्य भएपछि टिटेले राजीनामा बुझाउने बताएका हुन्।

६१ वर्षीय टिटेलाई सन् २०१६ मा ब्राजिलले प्रशिक्षकको जिम्मेवारी दिएको थियो। उनको नेतृत्वमा ब्राजिलले दोस्रो पटक विश्वकप खेलेको हो। उनले यसअघि नै कतार विश्वकपमा जस्तो नतिजा निस्किए पनि प्रशिक्षकको पदबाट राजीनामा दिने बताएका थिए।

‘यो हार असाध्यै पीडादायक छ। यही हारसँगै राष्ट्रिय टिमसँगको मेरो यात्रा अन्त्य भयो,’ टिटेले भने, ‘यो विश्वकपमा जस्तो नतिजा आए पनि राजीनामा दिन्छु भनेर मैले डेढ वर्षअघि नै भनेको थिएँ। यहाँ उपाधि जितेको भए पनि मेरो निर्णय परिवर्तन हुने थिएन।’

निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि क्वार्टरफाइनल खेल आतिरिक्त समयतर्फ धकेलिएको थियो। आतिरिक्त समयको पहिलो हाफ सकिनै लाग्दा नेयमारले ब्राजिललाई अग्रता दिलाएका थिए। तर पछि क्रोएसिया ब्रुनो पेट्कोभिचको गोलमार्फत खेलमा फर्कियो।

त्यसपछि भएको पेनाल्टीमा पहिलो प्रहारकर्ता ब्राजिलका रोड्रिगो चुकेका थिए। उनको प्रहार म्यान अफ द म्याच बनेका क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले बचाए। बाँकी तीनमध्ये दुई पेनाल्टीमा ब्राजिलका कासिमिरो र फ्रेडले गोल गरे पनि मार्किन्योसको प्रहार पोस्टमा ठोक्किएको थियो। उता क्रोएसियाका चारै खेलाडीले सहजै गोल गरेका थिए।

चार वर्षअघि पनि ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरिएको थियो। बेल्जियमसँग हारेपछि रुसबाट चाँडै घर फर्किएको टिटे नेतृत्वको ब्राजिलले सन् २०१९ मा कोपा अमेरिका जितेको थियो। गत वर्ष भने त्यही प्रतियोगिताको फाइनलमा ब्राजिललाई अर्जेन्टिनाले निराश बनायो।

टिटेले तत्काल राजीनामा दिने भए पनि ब्राजिलियन फुटबल संघले नयाँ प्रशिक्षकको खोजी जनवरीमा मात्रै गर्नेछ। राष्ट्रिय टिम छाडेपछि टिटेको अबका यात्रा कता मोडिन्छ भन्ने कौतहुल ब्राजिलियन समर्थकमा छ। यसको स्पष्ट जवाफ टिटेले दिएका छैनन्।

आफ्नो कार्यकालको विश्लेषण गर्न पनि टिटेले इन्कार गरेका छन्। ‘अहिले नै यसो गर्न सक्दिनँ। यसका लागि समय आइसकेको छैन,’ टिटेले भने।

गोलकर्ता नेयमार पेनाल्टी प्रहार गर्न किन नगएको प्रश्न पनि टिटेलाई सोधिएको थियो। नेयमारले चौथो पेनाल्टी प्रहार गर्ने अनुमान भइरहँदा मार्किन्योसले त्यो जिम्मेवारी लिएका थिए। ‘पेनाल्टी प्रहार गर्ने खेलाडीको सूचीमा नेयमारलाई पाँचौँमा राखिएको थियो। किनभने त्यही पेनाल्टी निर्णायक हुने अनुमान थियो। निर्णायक पेनाल्टी प्रहार गर्न नेयमार नै चाहिन्छ,’ टिटेले भने।

आफ्नो करियरमा नेयमारले हालसम्म पेनाल्टीमा ७४ गोल गरिसकेका छन्। उनी १५ पटक पेनाल्टीमा चुकेको तथ्यांक छ।

उता मार्किन्योसले भने यसअघि कहिल्यै पेनाल्टी प्रहार गरेका थिएनन्। जबकि उनीसँगै रक्षापंक्ति सम्हालेका कप्तान थियागो सिल्भाको पेनाल्टीमा शतप्रतिशत रेकर्ड छ। क्रोएसियाविरुद्ध गोल गर्न नसकेका रोड्रिगोले पनि यसअघि तीन पटक पेनाल्टी प्रहार गर्दा असफलता भोग्नु परेको थिएन।

पेनाल्टी प्रहार गर्ने पालो नआए पनि नेयमारले यही खेलमा पेलेको सर्वाधिक गोलको कीर्तिमान भने भंग गरे। अब उनको नाममा पनि ७७ गोल दर्ज भएको छ।

ब्राजिलले विश्वकपमा दोस्रो पटक पेनाल्टीमा हार व्यहोरेको हो। सन् १९८६ को विश्वकपमा ब्राजिललाई फ्रान्सले क्वार्टरफाइनलमा पेनाल्टीमा पराजित गरेको थियो।

प्रकाशित: २४ मंसिर २०७९ १०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eleven =