स्थानीयको एजेन्डा बन्यो पाथीभरामा केबलकार

हिमाल प्रेस ३० वैशाख २०८१ १२:५२
12
SHARES
स्थानीयको एजेन्डा बन्यो पाथीभरामा केबलकार

फुङ्लिङ- ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण गर्ने चर्चा चलेको वर्षौं भए पनि निर्माण सुरु नभएपछि यो परियोजना स्थानीयको एजेण्डा बन्न पुगेको छ। मन्दिरको ऐतिहासिकतासँग जोडेर यहाँका केही स्थानीयले केबुलकार निर्माणमा अवरोध गरेपछि यहाँका राजनीतिक दल, स्थानीय सरकार, जनप्रतिनिधि, नागरिक समाज तथा ताप्लेजुङ र वरपरका विभिन्न संघसंस्थाले निर्माण तत्कालै थाल्न दबाब सिर्जना गर्न थालेका हुन्।

केबुलकार निर्माण सुरु गर्नुपर्ने माग गर्दै पछिल्लो समय जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिहरू जनमत निर्माण गर्न लागिपरेका छन्। साथै, यहाँको नागरिक समाजले केबुलकार निर्माणका लागि दबाब दिँदै ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा जनप्रदर्शनसमेत गरेको छ। निर्माणको काम चाँडै सुरु गर्न दबाब सिर्जना गर्दै नागरिक समाजका तर्फबाट पाँच सय एक सदस्यीय दबाब समूह पनि निर्माण गरिएको छ।

उता स्थानीयहरूकै पहलमा पदम चेञ्जी मावो लिम्बु संयोजक र प्रकाश मादेन लिम्बु सहसंयोजक रहेको केबुलकार निर्माण सहयोग समिति गठन गरी नागरिक समाजका तर्फबाट पनि निर्माणको काम चाँडै सुरु गर्न दबाब दिन थालिएको छ।

केबुलकार निर्माणपश्चात् जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने, रोजगारी सिर्जना हुने तथा स्थानीय उत्पादनले बजार पाइ जिल्लाको अर्थतन्त्र चलायमान हुने भएकाले यस बृहत् परियोजनालाई जिल्लामा स्वागत गर्नुपर्ने भन्दै यहाँका प्रायः सबै राजनीतिक दल तथा निजी क्षेत्रका संघसंस्था आ–आफ्ना बैठक तथा विज्ञप्तिमार्फत आह्वान गरिरहेका छन्।

ताप्लेजुङका निजी क्षेत्रका व्यावसायिक संघसंस्थाहरू नेपाल उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ र निर्माण व्यवसायी संघ ताप्लेजुङले सयुक्त प्रेस विज्ञप्ति प्रकाशित गर्दै पाथीभरामा केबलकार निर्माण गर्न सबैले सहजीकरण गर्नुपर्ने धारणा सार्वजनिक गरिसकेका छन्।

प्रेस विज्ञप्ति उल्लेख गरिएको छ, ‘विगत केही वर्षदेखि पाथीभरा मुकुम्लुङको धार्मिक पर्यटनका कारणले पनि ताप्लेजुङको अर्थतन्त्र चलायमान हुन थालेको हामीले प्रत्यक्षरूपमा अनुभूत गरेका छौँ, त्यसैले निर्माणको काम जतिसक्दो चाँडो अघि बढाउनुपर्छ।’
अहिले पाथीभरा मुकुम्लुङमा बर्सेनि करिब तीन लाखभन्दा बढी भक्तजन आउने गरेका छन्। यहाँ केबलकार निर्माण गर्न सकिएमा यहाँ बर्सेनि १२ लाखभन्दा बढी पर्यटक आउने अनुमान गरिएको छ।

जिल्लाको पर्यटन प्रवर्द्धनमा अझ फराकिलो आयाम थप हुने, थप नयाँ पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनमा सहयोगी हुने निश्चित रहेको निजी क्षेत्रले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्।

यस्ता गौरवको योजनामा सबै पक्ष जिम्मेवार भई सहजीकरण गर्नुपर्ने र शान्ति सुरक्षाको प्रत्याभूतिसहित वार्ता तथा संवादको माध्यमबाट राज्यको तर्फबाट लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने निजी क्षेत्रको बुझाइ छ।

त्यसैगरी जिल्ला समन्वय समितिले पनि केबुलकार निर्माण सहजीकरण समिति गठन गरी परियोजना सहजीकरण समिति गठन गरेको छ। सो समितिको पटक(पटक बसेको बैठकले केबुलकार तत्काल निर्माण अगाडि बढाउन पनि माग गरिरहेको छ।

साथै, सो निर्णयको छायांकपीसहित गत फागुन ४ गते जिल्ला समन्वय समिति ताप्लेजुङले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश र कोशी प्रदेशको आन्तिरिक मामिला तथा कानुन मन्त्रालयमा दर्ता गराइसकेको छ।

निजी तथा सरकारी लगानी भित्र्याई जिल्लालाई समृद्ध बनाउन सबै जिल्लावासी एक भएर लाग्न आश्यक रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ताप्लेजुङले प्रेस विज्ञप्ति सार्वजनिक गरी विकासका परियोजनालाई निर्वाधरूपमा सञ्चालन गर्न तथा यसका लागि शान्तिसुरक्षा कायम गर्न समेत माग गरेको छ।

यही वैशाख २५ गते नेपाल कम्यनिष्ट पार्टी (माओवादी केन्द्र) ताप्लेजुङले पाथीभरामा केबुलकार बन्नु उपयुक्त रहेको धारणा सार्वजनिक गरेको छ। माओवादी केन्द्रले पाथीभरामा केबुलकार बन्ने विषयमा विवाद गर्नु नहुने बताइसकेको छ।

निर्माणका क्रममा रहेको केबलकारले पाथीभरा मन्दिरलाई कुनै असर नपर्ने तथा तीर्थयात्रीलाई सहजता हुने भएकाले केबुलकार निर्माणका लागि आफ्नो पार्टीको समर्थन रहेको माओवादी केन्द्र ताप्लेजुङका संंयोजक विष्णुकुमार लिम्बु र सचिव सागरमणि गौतमद्वारा हस्ताक्षरित वक्तव्यमा उल्लेख छ।

ताप्लेजुङमा केबलकार निर्माण हुनु जिल्लावासीको समृद्धि र यहाँको पहिचानसँग जोडिएको भन्दै पाथीभराको मुख्य पूजाधामबाट एक किलोमिटर तलै केबलकार निर्माण गर्दा कुनै समस्या नरहेको याक्थुङ चुम्लुङ नेपालका अध्यक्ष पदम चेन्जी माबो र सचिव पेली माबोहाङले गत चैत १७ गते आफ्ना धारणा सावर्जनिक गरेका थिए।

त्यस्तै स्थानीयको प्रत्यक्ष सहभागिता, रोजगारीमा प्राथमिकताका साथै स्थानीयवासीको शेयर लगानी जस्ता विषय सुनिश्चित गरेर केबुलकार कम्पनीले निर्माण अगाडि बढाउनुपर्ने पनि याक्थुङ चुम्लुङ नेपाल झापाले जनाएको छ।

गत चैत १६ गते पाँचथर उद्योग वाणिज्य संघले केबुलकार निर्माण पक्षमा ऐक्यबद्धता जनाएको छ। संघले केबुलकारजस्तो बृहत् आयोजनालाई स्थानीयले स्वागत गरेर जिल्लामा भित्र्याउनुपर्नेमा जोड दिएको छ।

निर्माण सुरु भएपछि त्यसको १३ महिनाभित्रै परियोजना सम्पन्न गर्ने भन्दै निर्माण कम्पनीले प्रशासनिक तथा अन्य कामहरू सकेको भए पनि निर्माण प्रक्रियाबारे केही स्थानीयले विरोध गरेका कारण केबुलकार परियोजना अघि बढ्न सकेको छैन।

पाथीभरा ९मुक्कुमलुङ० दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकाल भने आफूहरू निर्माणको सुरुवातको पर्खाइमा रहेको र अब छिट्टै सुरु हुने बताए।

‘अहिले पाथीभरामा केबुलकार निर्माण गर्न सहज वातावरण बन्दै गएको छ। स्थानीय जनताले पनि निकै लामो समय भयो, हामीलाई केबुलकार सपनामात्र हुने भयो निर्माणको काम थालिहाल्नुपर्यो भनेर दबाब नै दिनुभएको छ, त्यसैले निर्माणको काम छिट्टै नै सुरु गर्नेछौँ,’ अध्यक्ष ढकालले भने, ‘हामीसँग अनुभव छ, हामीले विभिन्न ठाउँमा केबलकार सञ्चालन गरेका पनि छौँ, त्यसैले निर्माण सुरु गर्यौँ भने हामीले पहिले भनेजस्तै १३ महिनामै सम्पन्न गरिसक्नेछौँ।’

स्थानीयलाई रोजगारीसँगै यहाँको आर्थिक गतिविधि, पर्यटन विकासलगायतमा परियोजनाले ठूलो सहयोग पुग्ने भएकाले स्थानीयले उठाएका मागबारे बसेर समझदारी गर्न सकिने उनको भनाइ थियो।

कम्पनीले स्थानीयलाई पनि यर प्राप्त दिने ढाँचामा यसको विकास गरिरहेको छ। यसबाट सिंगो प्रदेश सरकार, स्थानीय सरकार र नागरिकलाई प्रत्यक्ष लाभ हुने मोडलबाट केबुलकार निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ।

कम्पनीका इञ्जिनियर विजय पौडेलका अनुसार काफ्लेपाटी डढेले छेउ मुख्य स्टेसन रहने केबुलकारको डिजाइनअनुसार त्यहाँबाट करिब दुई हजार सात सय मिटर उचाइमा रहेको पाथीभरा क्षेत्रसम्म पुग्न सकिनेछ। मन्दिर आसपास कुनै संरचना नरहने र अहिलेको पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्वारबाटै तीर्थालु तथा दर्शनार्थी जान सकिने गरी केबलकार निर्माणको डिजाइन तयार भएको पौडेलले बताए।

मुख्य स्टेसनबाट १० मिनेटमा केबुलकारको अन्तिम स्टेसन पुग्न सकिने कम्पनीले जनाएको छ। केबलकारका लागि १३ वटा टावर निर्माण हुने पौडेलले बताए। उक्त केबुलकारमा ४५ वटा गोन्डुला रहने कम्पनीले जनाएको छ। केबुलकार परियोजनाको विरोध गरिरहेको मुक्कुमलुङ संयुक्त संघर्ष समितिले भने केबुलकार निर्माण गर्न नहुने बताउँदै आएको छ।

समितिका संयोजक लिङ्खिमले लिम्बु समुदायको आस्था र ऐतिहासिकताको ख्याल गरेरमात्र परियोजना अघि बढाउनुपर्ने बताउँछन्। तर, निर्माण कम्पनीले भने स्थानीयसँग बसेर सबै विषयमा छलफल गरी सहमतिका साथ अघि बढ्न सकिने बताउँदै आएको छ।

काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केबुलकार निर्माणका लागि सरकारले अनुमति दिएको छ। पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको छ। केबलकार निर्माण गर्न रु चार अर्बभन्दा बढी लाग्ने कम्पनीले जनाएको छ। रासस

प्रकाशित: ३० वैशाख २०८१ १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 11 =