माओवादीले राष्ट्रपति लिए पाँचै वर्ष सरकार चलाउने पक्षमा कांग्रेस

हिमाल प्रेस २२ मंसिर २०७९ १९:२४
5.3k
SHARES
माओवादीले राष्ट्रपति लिए पाँचै वर्ष सरकार चलाउने पक्षमा कांग्रेस

काठमाडौँ– मंसिर ४ मा सम्पन्न निर्वाचन परिणाम आएसँगै गठबन्धनका दलहरू सरकार गठनमा केन्द्रित भएका छन्। गठबन्धनकै सरकार बनाउन सहमत शीर्ष नेताहरू आलोपालो कि पाँचै वर्ष एउटै प्रधानमन्त्री रहने गरी ‘पावर सेयरिङ’ गर्ने निचोडमा पुगेका छैनन्।

प्रतिनिधिसभामा गठबन्धनमा आबद्ध नेपाली कांग्रेस पहिलो दल बनेको छ भने माओवादी केन्द्र तेस्रो दल बनेर अघिल्लो चुनावमा भन्दा कमजोर देखिएको छ। दोस्रो स्थानमा रहेको नेकपा एमालेका नेताहरू पार्टी तत्काल प्रतिपक्षमै बस्ने बताउँछन्। त्यसैले एमाले सत्ताको जोडघटाउमा सक्रिय देखिँदैन।

सत्ताको भागबण्डाका लागि कांग्रेस र माओवादीबीच खिचातानी भइरहेको छ। यस क्रममा नेताहरूले पटकपटक छलफल गरिसकेका छन्। चुनावपछि एकपटक सत्ता गठबन्धनको बैठक बसेर पनि सरकार बनाउने विषयमा छलफल भइसकेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वसहमतिअनुसार पहिलो साढे दुई वर्ष आफैँ प्रधानमन्त्री बन्नुपर्ने अडानमा छन्। कांग्रेस भने माओवादीले चुनावमा अपेक्षित नतिजा ल्याउन नसकेकाले तत्काल प्रचण्डलाई प्रधानमन्त्रीमा स्वीकार गर्न नसकिने पक्षमा छ।

एकीकृत समाजवादीले सभामुख वा अन्य कुनै महत्त्वपूर्ण पदमा दाबी गरिरहेको छ। कांग्रेस र माओवादी केन्द्रले प्रस्ट रुपमा सरकारको दाबी गर्दै चुनावी घोषणापत्र ल्याएका थिए। यसअनुसार प्रचण्ड आफू पहिलो प्रधानमन्त्री बन्ने प्रयासमा रहेको कांग्रेसका नेताहरू बताउँछन्। तर कांग्रेसका कतिपय नेता प्रचण्डको यस्तो भनाइमा सहमत नरहेको ती नेताले बताए।

यस क्रममा देउवाले पार्टीभित्रको विरोधी स्वरलाई पनि देखाइरहेका छन्। सोही कारण देउवा पाँच वर्ष कांग्रेसकै नेतृत्वमा सरकार बनाउन चाहन्छन्। देउवा निकट कांग्रेसका एक नेता भन्छन्, ‘कांग्रेस सके पाँचै वर्ष कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने पक्षमा छ। आलोपालो नै गर्ने भए पनि पहिले कांग्रेसले सरकारको नेतृत्व गर्न पाउनुपर्छ।’

कांग्रेसले गठबन्धनमा सरकार गठन तथा अन्य विषयमा प्याकेजमा डिल गर्न खोजेका छन्। ‘माओवादी एक्लो फ्याक्टर भएको भए कांग्रेसले उसले जे भन्यो त्यही मान्न पर्ने अवस्था आउने थियो, तर ऊ एक्लो फ्याक्टर होइन,’ एक नेताले भने, ‘उसलाई लिएर मात्र बहुमत पुग्ने अवस्था छैन। त्यसैले आलोपालो सरकार चलाउँदा कांग्रेस पहिलो र दोस्रोमा माओवादी हो। पाँचै वर्ष कांग्रेसले सरकार चलाउने भए माओवादीलाई राष्ट्रपति दिन सकिनेछ अन्यथा राष्ट्रपति कांग्रेसले राख्नेछ।’ यही सन्देश लिएर कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का प्रचण्ड निवास खुमलटार पुगेका थिए।

समाजवादी पनि सरकार गठनको विषय मात्र भन्दा प्रदेश सरकारसहित अन्य नियुक्तिलगायतका विषयमा ठोस प्रस्ताव र प्याकेजमा डिल गर्ने पक्षमा छ। माओवादीका एक नेता भन्छन्, ‘हामी प्रमुख पद, प्रदेश सरकार र अन्य महत्त्वपूर्ण नियुक्तिका विषयमा प्याकेजमै सहमति जुटाउने पक्षमा छौँ।’

तर माओवादीले गठबन्धनमा सहमति कार्यान्वयन हुनेमा सशंकित छ। त्यसैले नेताहरू बार्गेनिङ गरिरहेको कांग्रेस नेताहरूको भनाइ छ। त्यसैले माओवादी कुनै हालतमा पनि आलोपालो सरकारको नेतृत्व हुनुपर्नेमा छ।

प्रधानमन्त्रीका साथसाथै गठबन्धनका घटकमा सरकारको नेतृत्वसहित र सभामुख तथा उपसभामुखमा पनि आफ्ना उम्मेदवार निर्वाचित गर्न सक्छ। गठबन्धनले प्रदेशसभामा पनि बलियो उपस्थिति बनाएका कारण राष्ट्रपति पद पनि पाउन सहज देखिएको छ।

निर्वाचन आयोगले अन्तिम निर्वाचन परिणाम बुझाएलगत्तै राष्ट्रपतिबाट नयाँ प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढ्नेछ। निर्वाचन परिणाम आएको ३० दिनभित्रै संसद्को बैठक पनि बोलाउनुपर्ने व्यवस्था छ। पहिलो संसद् बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने नियम छ। राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल पनि आगामी फागुनभित्र सकिँदैछ।

गठबन्धनको प्रमुख साझेदार दल माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल प्रमुख तीन पदहरू तीन वटा मुख्य दलहरूमा बाँडफाँट हुनुपर्ने बताउँछन्। ‘प्रमुख तीन वटा पद जो छन् ती मुख्य तीन पार्टीमा हुने गरी टुंग्याउनुपर्छ’, पौडेलले भने। तर राष्ट्रिय पार्टी समेत हुन नसकेको नेकपा एकिकृत समाजवादीले कसरी त्यो पद पाउने भन्ने प्रश्न पनि छ।

‘गठबन्धनको सरकार बनेपछि नेताहरूले निजी कम्पनी चलाएजस्तो कानेखुसी गरेर तँ यो महिनासम्म म यो महिनासम्म भनेर कोठाभित्रै कागजमा तमसुक गर्छन्। बाहिर भन्ने आँट गर्दैनन्। भित्रभित्र परिवारको सदस्यलाई म त बन्छु नि भन्छन्। त्यही कुरामा अलि पछि बबण्डर गर्छन्।’

नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा पनि आफ्नो पार्टीलाई प्रमुख तीन पदमध्ये एक वटा प्रमुख पद भाग लाग्ने अपेक्षा गरेको बताउँछन्। ‘अहिलेसम्म कुन दलले के राख्ने भन्ने भइसकेको छैन। आन्तरिक संवाद तीव्र भएका छन्’, खतिवडाले भने। तर खतिवडा प्रमुख पार्टी नै नभइकन संवैधानि अंगको प्रमुख पद खोज्नु आफैँमा लज्जास्पद रहेको अर्का एक नेताले बताए।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत छलफलबाट सबै टुंगो लाग्ने बताउँछन्। ‘गठबन्धनको नेतृत्व गरेका हिसाबले पनि सबैभन्दा ठूलो दल कांग्रेसले नै सरकारको नेतृत्व गर्छ। बाँकी पदहरुमा कसको दाबी भन्दा पनि छलफलबाट टुंगो लगाइन्छ’, महतले भने।

कांग्रेस महामन्त्री गगनकुमार थापाले भने, ‘सरकार गठबन्धनकै बन्छ। हामी गठबन्धनकै सरकार बनाउने भनेर चुनावमा गएका हौँ। तर पाँच वर्षसम्म स्थिर सरकार बन्नुपर्छ।’ आलोपालो सरकार चलाउने सहमति पारदर्शी हुनुपर्ने उनको भनाइ छ। उनी भन्छन्, ‘शीर्ष नेताहरूको आलोपालोको गोप्य कागजको तमसुकले देश चल्दैन।’

निजी कम्पनी चलाएजस्तो सरकार नचल्ने उनले बताएका छन्। नेताहरूमा पहिला गोप्य सहमति गर्ने र पछि बबण्डर गर्ने रोग रहेको आरोप लगाए। महामन्त्री थापाले भने, ‘गठबन्धनको सरकार बनेपछि नेताहरूले निजी कम्पनी चलाएजस्तो कानेखुसी गरेर तँ यो महिनासम्म म यो महिनासम्म भनेर कोठाभित्रै कागजमा तमसुक गर्छन्। बाहिर भन्ने आँट गर्दैनन्। भित्रभित्र परिवारको सदस्यलाई म त बन्छु नि भन्छन्। त्यही कुरामा अलि पछि बबण्डर गर्छन्।’

सरकार बनाउन भन्दा सरकार बनाएपछि के गर्ने चिन्ता लिनुपर्ने उनको सुझाव छ। गठबन्धनको अर्को घटक माओवादी केन्द्रकी नेत्री रेखा शर्मा कांग्रेस र माओवादीबीच आलोपालो सरकार चलाउने सहमति भएको बताउँछिन्। उनले भनिन्, ‘आलोपालो प्रधानमन्त्री हुने सार्वजनिक भएकै कुरा हो। अहिले कोबाट सुरु गर्ने भनेर सहमति गर्नुपर्छ।’

को व्यक्ति प्रधानमन्त्री हुन्छ भन्ने प्रधान नभएको र गठबन्धनबाट के गर्ने भन्ने विषय प्रधान रहेको उनले बताइन्। उनले भनिन्, ‘प्रधानमन्त्री चयन सहमतिका आधारमा हुनुपर्छ। हाम्रा शीर्ष नेताहरुबीच एउटा छलफल भयो। निर्वाचनभन्दा अगाडि पनि उहाँहरुले छलफल गर्नुभयो।’

शर्माले भने जस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको सरकार आलोपालोको सरकार हुने चुनाव अगाडि नै संकेत गरेका थिए। सोहीअनुसार माओवादी केन्द्रले चुनावी घोषणापत्रसमेत ल्याएको थियो। कांग्रेस र माओवादी केन्द्रका नेताहरू भने गठबन्धनकै सरकार बने पनि स्थिर हुनुपर्ने बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =