कर्णाली प्रदेशसभा कक्षमा रंगरोगन र सरसफाइ गरिँदै

हिमाल प्रेस १८ मंसिर २०७९ २०:१४
4
SHARES
कर्णाली प्रदेशसभा कक्षमा रंगरोगन र सरसफाइ गरिँदै

सुर्खेत– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सुरुवातका लागि कर्णाली प्रदेशसभाको सचिवालयले तयारी थालेको छ। प्रदशेसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएसँगै प्रदेशसभा सचिवालयले तयारीलाई तीव्रता दिएको हो।

प्रदेशसभा हल मर्मतसम्भार, रंगरोगन र सरसफाइको कामलाई अगाडि बढाइएको सचिवालयले जनाएको छ। प्रदशेसभाका भवनको मर्मतका साथै सिट प्लानिङ गर्न थालिएको सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए।

पुराना सांसदलाई बिदाइ र नयाँ सांसदलाई स्वागत गरिने कार्यक्रमसमेत तय गरिने बुढाथोकीले बताए।

उनले पाँच वर्षसम्म भए/गरेका कामको विषयमा नयाँ प्रदेशसभा सदस्यलाई जानकारी गराउने उद्देश्यले सारांश निकाल्ने तयारी भएको उल्लेख गरे।

‘यसमा पाँच वर्षको अवधिमा कति वटा र कस्ता विधेययकहरू बनेका छन्, विषयगत समितिका कामहरु कस्ता भए, बैठकहरू कति बसे भन्नेलगायत सूचनाहरू राखिन्छ,’ उनले भने, ‘यसले गर्दा नयाँ आउने माननीयहरूलाई सहज हुन्छ।’

यस्तै भौतिक पूर्वाधार निर्माण तथा मर्मतको काम पनि अघि बढेको उनले बताए। प्रदेशसभा भवन, सभामुख, उपसभामुख, दलका नेताको कार्यकक्ष, संसदीय समिति र संसदीय दलको बैठक कक्षहरूमा रंगरोगनका साथै फर्निसिङ र कार्पेटिङलगायत काम भइरहेका छन्।

सचिवालयमा सभामुखसहित दलका नेताहरुले सुविधा उपभोग गर्न पाउने सवारी-साधनको मर्मत गरी तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।

संसद् बैठककक्षमा मुख्यमन्त्री, मन्त्री सत्तापक्ष, प्रतिपक्ष लगायतको कुर्सीको व्यवस्थापन गरिएको छ।

सभामुखको दायाँतर्फ सत्तापक्षका लागि छुट्याइएको छ भने बायाँतर्फ प्रतिपक्ष दललाई बस्ने व्यवस्था मिलाइएको छ। संसद् बैठकका गतिविधि प्रत्यक्ष रूपमा हेर्न संसद्‍भित्र र बाहिर डिजिटल बोर्डको व्यवस्था पनि गरिएको बुढाथोकीले जानकारी दिए।

संसद् बैठकका लागि यसअघि प्रयोग भइरहेका स्रोतसाधनको अधिकतम उपयोग गर्ने गरी मर्मतसम्भारको काम भइरहेको उनको भनाइ छ।

प्रकाशित: १८ मंसिर २०७९ २०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =