माया लुहार हत्या प्रकरणका आरोपी महेन्द्रनगरबाट पक्राउ

हिमाल प्रेस १८ मंसिर २०७९ ११:१०
6
SHARES
माया लुहार हत्या प्रकरणका आरोपी महेन्द्रनगरबाट पक्राउ

धनगढी- बैतडीको पञ्चेश्वर गाउँपालिका-४ की २१ वर्षीया माया लुहार हत्या प्रकरणका आरोपी महेन्द्रनगरबाट पक्राउ परेका छन्। हत्या आरोपी शिवनाथ गाउँपालिका–४ का भरतराम कोलीलाई महेन्द्रनगरबाट पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डीआईजी मोहनकुमार आचार्यले कोली महेन्द्रनगरबाट पक्राउ परेको पुष्टि गरे। उनले विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको बताए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तले आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको जानकारी दिए। २२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए।

प्रहरी निरीक्षक पन्तले पक्राउ परेका कोलीलाई बैतडी प्रहरीलाई बुझाइने बताए। मायाको शव गत बुधबार शिवनाथ गाउँपालिकामा घाँटी रेटेको अवस्थामा भेटिएको थियो।

पक्राउ परेका कोली र माया प्रेम सम्बन्धमा रहेको बुझिएको बताउँदै प्रहरीले घटनाबारे अनुसन्धानपछि थप कुरा खुल्ने जनाएको छ।

प्रकाशित: १८ मंसिर २०७९ ११:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 17 =