तमु समुदायलाई सरकारी सहयोग बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस १५ पुष २०७९ १६:५६
4
SHARES
तमु समुदायलाई सरकारी सहयोग बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता फाइल तस्बिर।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु समुदायलाई सरकारका तर्फबाट थप सहयोग बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौँले शुक्रबार टुँडिखेलमा आयोजना गरेको तमु ल्होसार, २०७९ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘आफ्नो इमान्दारिता, लगन, निष्ठा र मिहेनत, आफ्नो वीरता र बलिदानको कीर्तिमानका कारण तमु समुदाय नेपाली मात्रमा गर्वको एउटा पहिचान भएको छ भने विश्वभरका लागि इमान्दारिता, पारदर्शिता, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायका रूपमा स्थापित छ,’ उनले भने।

तमु ल्होसारको सम्मानस्वरूप सरकारले दिँदै आएको आर्थिक सहयोग रोकिएकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले अबका दिनमा सरकारी सहयोग बढाइने जानकारीसमेत गराए।

‘तमु ल्होसार निम्ति विगत सरकारले पनि सम्मान र सहानुभूतिस्वरूप आर्थिक सहयोग गर्दै आएको मलाई थाहा छ, म पनि दोस्रो चोटि प्रधानमन्त्री हुँदा मैले बोलेको थिएँ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तर, मैले प्रधानमन्त्री छोडेपछि त्यो आर्थिक सहयोग भएन भनेर मलाई सुनाउनुभयो। यो पटक अहिलेसम्म दिइएको भन्दा बढी रकम दिइनेछ। र मेलै दिनेछु।’

नेपाल बहुजातीय, बहुभाषिक, सांस्कृतिक विविधताले भरिएको मुलुक भएको जनाउँदै प्रधानमन्त्री दाहालले विविधतामा एकता नै नेपालीको पहिचान भएको उनको भनाइ छ।

बाघ वर्गको विदाइ र बिरालो वर्गको स्वागतका रूपमा गुरुङ समुदायले शुक्रबार (आज) देशभर हर्षोल्लासका साथ ल्होसार पर्व मनाउँदैछन्। सो अवसरमा गुरुङ समुदायले विभिन्न झाँकी प्रदर्शन गरेका थिए। टुँडिखेलमा गुरुङ वेशभूषासहित युवायुवतीको बाक्लो उपस्थिति छ। कार्यक्रम परिसरमा गुरुङ समुदायको खानाको परिकार राखिएको छ।

प्रकाशित: १५ पुष २०७९ १६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =