प्रचण्ड र ओलीको तानातानमा नेपाल!

हिमाल प्रेस १५ पुष २०७९ १६:१७
312
SHARES
प्रचण्ड र ओलीको तानातानमा नेपाल!

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तानातानमा परेका छन्। आफूमाथि अपमान भएको भनेर गुनासो गरिरहेका नेपाललाई प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुवैले आफूतर्फ ल्याउन प्रयास गरिरहेका छन्।

एमाले–समाजवादीका दोस्रोस्तरका नेताबीच निरन्तर छलफल चलिरहेको छ। एमालेका कतिपय नेताले अध्यक्ष नेपाललाई भेटेर एमालेमै फर्किन आग्रह गरेका छन्। जवाफमा नेपालले ‘आफू केही समयमै निर्णय लिने’ भन्दै पन्छिएको समाजवादीका एक नेताले बताए।

एमालेमा नेपाललाई कुन वरीयतामा ल्याउने भन्ने विषयमा छलफल भइरहेको छ। यसका लागि ओली-नेपालबीच छलफल गराउने प्रयासमा नेताहरू छन्।

ओलीनिकट नेताहरू सक्रिय भएकाले केही दिनमा नेपालसँग संवाद हुने निश्चित छ। समाजवादीका ती नेता भन्छन्, ‘एमालेसँग वार्ता भएमा नेपालले राष्ट्रपति पदमा दाबी गर्ने निश्चित छ।’

सक्रिय राजनीतिबाट बिदा हुँदै गरेका नेपाललाई राष्ट्रपतिकै आस छ। केही समयअघिसम्म नेपाललाई राष्ट्रपति दिएर एमाले भित्र्याउनुपर्ने चर्चा चलेको थियो। तर एमालेभित्रकै दबाबपछि सोही प्रस्ताव अहिले सेलाउँदै गएको छ।

नेपाललाई राष्ट्रपति दिँदा अर्का नेता झलनाथ खनाललाई ‘वरिष्ठ नेता’ दिने तयारी भएको एमाले निकट नेताको भनाइ छ। तर दोस्रोस्तरका नेतालाई कसरी व्यवस्थापन गर्ने भन्ने अन्योल छ।

एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच पछिल्लो समय सम्बन्ध सुदृढ बन्दै गएको छ। बिहीबार पनि नेपालले ‘ओली आफ्नो घर आए रेड कार्पेट लाएर भित्र्याउने’ अभिव्यक्ति दिएका छन्। ओलीले भने नेपालका बारेमा पछिल्लो समय केही बोलेका छैनन्।

ओली शक्तिशाली र सबैभन्दा ठूलो दलको अध्यक्ष बन्ने महत्वाकांक्षामा छन्। संवैधानिक रूपमा पनि ठूलो दलको नेताले अबको सरकार चलाउन हैसियत राख्ने ओलीको बुझाइ छ। अहिले एमालेसँग ७८ र कांग्रेसको ८९ सिट छ।

एमालेको ७८ मा समाजवादीको १० सिट जोडेर ८८ बनाउने ओलीको योजना रहेको उनी निकट एक नेता बताउँछन्। मनाङबाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेसका टेकबहादुर गुरुङ निलम्बनमा परेसँगै एमाले–कांग्रेसको सिट बराबर हुन्छ। एमालेसँग दुईजना स्वतन्त्र सांसद छन्। स्वतन्त्र सांसद फकाएर ९० सिट बनाएर ओली ठूलो दलको नेता बन्न चाहन्छन्।

प्रचण्डको आफ्नै दाउ

समाजवादीबारे प्रधानमन्त्री एवम् माओवादी केन्द्रका प्रचण्डको समाजवादीबाट अर्कै दाउ छ। उनी शक्तिशाली मन्त्रिपरिषद्को नेतृत्व गर्न चाहन्छन्। अहिले सरकारमा प्रचण्डका पक्षमा १६९ सांसद छन्। सात दल र तीन स्वतन्त्रको समर्थनमा रहेका प्रचण्डलाई कुनै पार्टी समर्थन फिर्ता लिएमा अल्पमतमा परिने भय छ।

त्यसैले प्रचण्ड समाजवादीलाई सरकारमा ल्याउन चाहन्छन्। प्रचण्ड–नेपालबीच छलफल पनि भइसकेको छ। नेपालले प्रचण्डसँग सरकारमा जाने संकेत गरेका माओवादीका एक नेता बताउँछन्।

‘सम्मानजनक हिस्सा’ खोज्दै नेपाल

नेपाल एमालेको समर्थनमा प्रधानमन्त्री प्रधानमन्त्री बनेकोमा खुसी छैनन्। कांग्रेस नेतृत्वको गठबन्धन भंग गरी समाजवादीसँग सल्लाहै बिना प्रचण्ड एमालेसँग जोडिएका थिए।

अध्यक्ष नेपाल सोही कारण माओवादी अध्यक्ष प्रचण्डसँग दुःखी भएका हुन्। झन्डै दुई वर्षदेखि एउटै गठबन्धनमा रहँदा आफूलाई केही नभनी अर्को बाटो लिएपछि नेपाल प्रचण्डसँग रुष्ट भएका हुन्।

नेपालले बिहीबार जुम मिटिङमार्फत जिल्ला नेतासँगको परामर्शमा पनि यस्तै गुनासो गरेको एक जिल्ला नेताले जानकारी दिए। जिल्ला तहका नेताले भने अब कुनै दलसँग मिल्नुको विकल्प नभएको सुझाव दिएका छन्।

‘अधिकांश नेताले पार्टीको स्वामित्व लिएर निर्णय लिन आग्रह गरेका छन्,’ समाजवादीका एक पदाधिकारीले भने, ‘अर्को पार्टीमा मिसिएपछिको स्वामित्व के हुने भन्ने बारेमा ख्याल गर्न आग्रह गरेका छन्।’

पार्टी सरकारमा जानुपर्ने सुझाव जिल्ला नेताहरूको छ। सरकारमा नजाँदा पार्टी फुट्न सक्ने चिन्ता जिल्ला नेताहरूको थियो। ‘सरकारमा सहभागी हुँदा महत्त्वपूर्ण हिस्सा चाहिन्छ। उपप्रधानसहित तीन मन्त्री माग्न सुझाव आएको छ,’ समाजवादीका एक नेताले भने, ‘तर हामी सरकारलाई विश्वासको मत दिन तयार छौँ। यसबारे अध्यक्षज्यू सकारात्मक हुनुहुन्छ।’

नेकपा एकीकृत समाजवादीको अस्तित्व संकटमा छ। पहिलो त उसले निर्वाचनमा कमजोर नतिजा ल्यायो भने दोस्रो एकीकृत समाजवादी जन्मेदेखि साथ दिँदै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त पार्टीसँग तालमेल भंग गरेर सरकारमा गएका छन्।

एमालेभन्दा ठूलो पार्टी बनाउने ‘हुंकार’ गर्दै विभाजित बनेको समाजवादीले संघीय प्रतिनिधिसभामा १० सिटमा मात्रै सीमित भएन समानुपातिकतर्फ मत नआएपछि राष्ट्रिय दल बन्न चुकेको छ।

कमजोर नेतृत्व क्षमताका कारण समाजवादी किनारा लागेको अभिव्यक्ति दलकै नेताहरूले दिन थालेका छन्। नेतृत्वले अझै सही निर्णय नलिए समाजवादी विभाजित हुन सक्ने खतरा रहेको पार्टीका एक नेताले बताए।

समाजवादीको भविष्यबारे नेपालले पार्टीभित्रै छलफल थालेका छन्। गत पुस १० मै नेपालले सचिवालय बैठक बोलाएर यसबारे राय बुझेका थिए।

सचिवालय सदस्यले ‘आउँदो राजनीतिक माहोल हेरेर अघि बढ्नुपर्ने’ सुझाव दिएका छन्। तर पछिल्लो समय समाजवादीमा एमालेसँग जोडिनुपर्ने दबाब बढ्दो छ।

पार्टी बैठकले के गर्ला?

यसका लागि शनिबार नेपालले पार्टीमा बैठक डाकेका छन्। पार्टी अब कसरी अघि बढ्ने भन्ने निर्णय सोही बैठकले गर्ने एक नेताले बताए। नेता नेपाल कुनै पार्टीसँग एकता गरेर अघि बढ्नुपर्ने निष्कर्षमा पुगेकाले सम्भवतः एमालेसँग नै हुने एक नेता बताउँछन्। उनी भन्छन्, ‘माओवादी वा अन्य पार्टीसँग एकता गर्दा सिंगो समाजवादी एक नहुने सम्भावना छ। यही कारण एमालेसँगै मिल्न पाए हुने भन्ने छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nine =