मुख्य सहरमा क्रिसमसमा रमे युवा युवती

हिमाल प्रेस १० पुष २०७९ २१:०५
8
SHARES
मुख्य सहरमा क्रिसमसमा रमे युवा युवती फाइल तस्बिर।

काठमाडौँ– काठमाडौँलगायत देशभरका मुख्य सहरमा ‘क्रिसमस डे’ मनाइएको छ। मुख्य सहरमा क्रिसमसमा विशेषगरी युवायुवती रमाएको देखिन्थ्यो। इसाई धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा डिसेम्बर २५ का दिन यस समुदायका मानिसले क्रिसमस डे मनाउँछन्। आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले ३ मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले जानकारी दिए। उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा इसाई समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन्।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले बताए। विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने ०६३ सालपछि महासंघले महोत्सवका रूपमा मनाउने थालेको हो।

दिवसका अवसरमा ०६३ सालदेखि ०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो। यस अवसरमा ०७५ देखि ०७७ सम्म भने इसाई धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। ०७८ सालदेखि फेरि यस अवसरमा सार्वजनिक बिदा दिन थालिएको छ।

हाल नेपालमा ३० लाख इसाई धर्मावलम्बी रहेको महासंघको दाबी छ। १३ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासंघले बताउँदै आएको छ। महासंघ मूल समारोह समितिको आयोजनामा आइतबार (आज) दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा क्रिसमस महोत्सव २०७९ आयोजना गरियो। क्रिसमसका अवसरमा काठमाडौँ, इटहरी, विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेत र महेन्द्रनगरलगायत सहरमा युवाहरूले रमाइलो गरेका छन्।

प्रकाशित: १० पुष २०७९ २१:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =