प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री नियुक्त, यस्तो छ उनको राजनीतिक पृष्ठभूमि

हिमाल प्रेस १० पुष २०७९ १८:२३
252
SHARES
प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री नियुक्त, यस्तो छ उनको राजनीतिक पृष्ठभूमि

काठमाडौँ- नेकपा(माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका छन्। प्रचण्ड १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्।  शपथ भने भोलि अपराह्न ४ बजे हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यसअघि २०६४ को पहिलो संविधानसभाको निर्वाचनपछि २०६५ साल साउनपछि उनले नौ महिने सरकारको नेतृत्व गरेका थिए। २०७३ साउनदेखि २०७४ जेठसम्म दाहाल दोस्रोपटक प्रधानमन्त्री भएका थिए।

दाहाल कास्कीको तत्कालीन ढिकुरपोखरी गाविस २ लेवाडेमा २०११ मंसिर २६ गते जन्मेका हुन्। पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले प्रारम्भिक शिक्षा लिएका उनले २०२६ सालमा चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट एसएलसी उत्तीर्ण गरे।

२०२७–०२९ पाटन बहुमुखी क्याम्पसबाट आईएससी पूरा गरी २०३१–०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गरे। एमपीएसम्मको अध्ययन गरेका छन्। कक्षा १० माअध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरिनुभएका प्रचण्डको विसं. २०३८ देखि ०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो।

विसं.२०१९ मा ढिकुरपोखरी-२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइँसराइ गरेका प्रचण्डको वि.सं. २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको थियो। उनले नारायणी विद्या मन्दिर मावि शिवनगर–२०२९ साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि आरुघाट, गोरखामा २०३३–०३५सालसम्म अध्यापन गरेका थिए। दाहालले केही समय अमेरिकी परियोजना यूएसएडमा पनि काम गरेका थिए।

०२८ सालमा नेकपाको पुष्पलाल समूहबाट पार्टीको सदस्यता लिएका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए। उनी २०३४ सालमा चौँथो महाधिवेशनमा प्रवेश गरे। दाहाल २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भए। २०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भएका दाहाल ०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए।

२०४१ सालमा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित दाहाल ०४२ मा पोलिटब्यूरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकता केन्द्र)को महामन्त्री भए। त्यसैगरी २०५१ सालमा तत्कालीन नेकपा-एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भएका प्रचण्डले ०५२ सालदेखि सशस्त्र युद्धको नेतृत्व गरेका थिए। उनी २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भए। २३ वर्षसम्म दाहाल अनवरत माओवादीको अध्यक्ष कायम छन्।

०५८ सालमा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर भएका प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी सार्वजनिक भएका थिए। दाहाल ०६४ साल भएको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौँ-१० र रोल्पा-२ बाट निर्वाचित भएका थिए। संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा-५ निर्वाचित भएका थिए। २०७४ मा चितवन ३ बाट निर्वाचन जितेका दाहाल २०७९ मंसिर ४ को निर्वाचनमा गोरखा २ बाट चुनाव जिते।

प्रकाशित: १० पुष २०७९ १८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + two =