पोल्यान्डविरुद्ध अर्जेन्टिना : नजर दुई भेट्रानमाथि

हिमाल प्रेस १४ मंसिर २०७९ १३:३८
18
SHARES
पोल्यान्डविरुद्ध अर्जेन्टिना : नजर दुई भेट्रानमाथि

काठमाडौँ- बुधबार राति सबैको ध्यान ‘स्टेडियम ९७४’ तर्फ हुनेछ। किनभने यहाँ पोल्यान्ड र अर्जेन्टिना विश्वकप समूह चरणको खेलमा आमनेसामने हुँदैछन्। यो खेल एकभन्दा बढी कारणले विशेष हुनेछ। पहिलो कारण त नकआउट चरणमा पुग्ने दौड हो। दुई–दुई खेल खेलिसकेका पोल्यान्ड र अर्जेन्टिनाको क्रमशः चार र तीन अंक छ।

अर्को कारण हो, रोबर्ट लेवान्डोस्की र लियोनल मेस्सीको भेट। सम्भवतः अन्तिम विश्वकप खेलिरहेका यी दुई आआफ्ना टिमका कप्तान हुन्। अब प्रश्न उठ्छ, के लेवान्डोस्कीले गोल लयलाई निरन्तरता दिँदै पोल्यान्डलाई जिताउलान्? कि मेस्सीको जादु फेरि एकपटक चल्छ?

पोल्यान्डका प्रशिक्षक सेस्ल मिच्निविचले आफ्नो टिम लेवान्डोस्कीमा मात्रै निर्भर नरहेको बताउँछन्। अनि अर्जेन्टिनासँगको खेल फगत लेवान्डोस्की र मेस्सीबीचको भिडन्तमा सीमित नहुने उनको जिकिर छ। ‘फुटबल टेनिस जस्तो होइन। यहाँ भिडन्त दुई टिमबीच हुन्छ, दुई खेलाडीबीच होइन। रोबर्टलाई उनका साथी चाहिन्छ। लियोको हकमा पनि त्यही हो,’ मिच्निविचले भनेका छन्।

मिच्निविच दक्षिण अर्जेन्टाइन कप्तान मेस्सीलाई इटालीका ‘स्की’ च्याम्पियन अबलेर्टो टोम्बासँग दाँज्छन्। सन् १९८० र ९० को दशकमा ओलिम्किपमा तीन स्वर्ण पदक, दुई पटक विश्व च्याम्पियनसिप र नौ पटक विश्वकप टोम्बालाई विश्व ‘स्की’ सबैभन्दा प्रतिभाशाली खेलाडी मानिन्थ्यो।

‘हामीले टिम छलफलमा टोम्बाबारे चर्चा गरेका थियौँ। किनभने उनी यस्ता खेलाडी थिए, जसले सधैँ आफ्ना प्रतिद्वन्द्वीलाई कहिल्यै नजिक पर्न दिएनन्। जस्तोसुकै भिरालो ठाउँमा पनि उनी आफ्ना प्रतिद्वन्द्वीलाई सहजै पछाडि पार्थे। मेरा लागि मेस्सी पनि टोम्बा जस्तै छन्। उनलाई रोक्न मुस्किल छ। एकपटकमा एक जना खेलाडीले उनलाई रोक्न सक्दैनन्,’ ५२ वर्षीय प्रशिक्षक मिच्निविचले भने।

इटालीका टोम्बा जस्तै प्राविधिक रुपमा कुशल खेलाडी मेस्सीलाई रोक्ने सूत्र पहिल्याउन पोल्यान्डका खेलाडी मेहनत गरिरहेका छन्। बहसमा छन्। तर के पोल्यान्डले मेस्सीलाई साँच्चै रोक्न सक्छ? ती मेस्सी जसले अर्जेन्टिनाका लागि १६७ खेलमा ९३ गोल गरेका छन्।

एउटा कुरामा मिच्निविच प्रस्ट छन्, अर्जेन्टिनासँग खेल्दा गोल खाइँदैन भनेर सोच्‍नु गलत हो। ‘गोल खाए पनि अत्तालिनु भएन, यो मुख्य कुरा हो,’ मिच्निविचले भने, ‘मेस्सीलाई कसरी रोक्ने भनेर हामी मात्र होइन विश्व फुटबलले नै सोचिरहेको कुरा हो। त्यो पनि वर्षौँदेखि। मलाई लाग्दैन कोहीसँग जवाफ छ। यसपालि त मेस्सी झनै जोसिलो भएर खेलिरहेका छन्। किनभने यो उनका लागि अन्तिम विश्वकप हो।’

३५ वर्षीय मेस्सीभन्दा एक वर्षले कान्छा छन्, लेवान्डोस्की। उनलाई अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले कमजोर आकेका छैनन्। शारीरिक रुपमा अझैँ तन्दरुस्त रहेका लेवान्डोस्कीलाई कमजोर आक्न नमिल्ने महत्त्वपूर्ण कारण उनको वर्तमान लय पनि एक हो। बायर्न म्युनिखका पूर्वस्ट्राइकर लेवान्डोस्कीले स्पेनिस ला लिगमा यो सिजन १४ खेलमा १३ गोल गरेका छन्। अनि च्याम्पियन्स लिगमा पाँच खेलमा पाँचै गोल।

पोल्यान्डका लागि १३६ खेलमा ७७ गोल गरेका लेवान्डोस्कीको ‘राइट फुट सट’ बारे स्कालोनी जानकार छन्। ‘लेवान्डोस्की उच्चस्तरीय खेलाडी हुन्। फुटबल समर्थकका रुपमा म उनको प्रशंसक हो। उनले विश्व फुटबललाई नै मोहित बनाएका छन्। तर यसपालि उनलाई हामीले रोक्नुपर्छ। यसका लागि तयार पनि छौँ,’ स्कालोनीले भनेका छन्।

दोस्रो पटक विश्वकप खेलिरहेका लेवान्डोस्कीले साउदी अरबविरुद्ध गोल गरेका थिए। जुन उनले विश्वकपमा गरेको पहिलो गोल हो। रुस विश्वकपमा उनले गोलको खाता खोल्न सकेका थिएनन्। त्यही साउदीसँग अर्जेन्टिनाले २–१ को हार व्यहोरेको थियो। जसमा मेस्सीले पेनाल्टी गोल गरेका थिए।

अर्जेन्टिना ३६ खेल अपरािजत रहँदै कतार पुगेको थियो। तुलनात्मक रुपमा कमजोर रहेको साउदीले अपराजित यात्रा टुंग्याइदिएपछि अर्जेन्टिना स्वाभाविक रुपमा स्तब्ध बन्यो। दोस्रो खेलमा मेक्सिकोलाई हराएपछि भने अर्जेन्टिनाको नकआउट सम्भावना जागेको थियो। अब अन्तिम खेलमा अनिवार्य जितको खोजीमा रहेका अर्जेन्टिनाका खेलाडी पोल्यान्डले प्रस्तुत गर्ने चुनौतीबारे सचेत छन्।

‘पोल्यान्ड सजिलो विपक्षी पक्कै होइन। त्यसमाथि लेवान्डोस्की जस्ता खेलाडी त्यहाँ छन्। लेवान्डोस्की र अरु फरवार्डलाई रोक्न हामी ९० मिनेट नै सतर्क हुनुपर्छ,’ रक्षक लिसान्द्रो मार्टिनेजले भनेका छन्, ‘सतर्क रहने नाममा डराउनु भने हुँदैन। मेक्सिकोसँगको खेलअघि हामी असाध्यै डराएका थियौँ। किनभने त्यो खेल हाम्रा लागि लगभग निर्णायक थियो। हामीले आफ्नो क्षमतामाथि विश्वास राख्नुपर्छ। धैर्यवान् भएर खेल्नु पर्छ।’

मेस्सी र लेवान्डोस्की समकालिन हुन्। दुईको करियर एकै समयमा अघि बढेको छ। फरक फरक खेल शैली भए पनि लेवान्डोस्कीलाई मेस्सीको अभाव पूर्ति गर्न बार्सिलोनाले अनुबन्ध गरेको हो। हाल पेरिस सेन्ट जर्मेन (पीएसजी) मा रहेको मेस्सी र लेवान्डोस्की मिल्ने साथी होइनन्। तर युरोपियन फुटबल बजारमा हल्ला के चलिरहेको छ भने, यी दुई खेलाडी अर्को सिजन एकै टिमबाट खेल्न सक्छन्। जारी सिजनको अन्त्यमा पीएसजीसँगको सम्झौता सकिने भएकाले मेस्सीको स्थान्तरण पक्का छ। यस्तोमा उनी बार्सिलोना फर्कनेछन् भनेर भनिँदैछ।

‘मेस्सी बार्सिलोनामा छँदा उनको खेल हेर्न निकै पटक क्याम्प नौउ पुगेको छु। आखिरमा उनीविरुद्ध खेल्ने मौका जुरेको छ। हामी उत्साहित छौँ। र म यो खेलपछि खुसीसाथ रंगशालाबाट बाहिरिन चाहन्छु,’ मिच्निविचले भने।

प्रकाशित: १४ मंसिर २०७९ १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =