मोरोक्कोसँग हारेपछि बेल्जियमका समर्थकले गरे हुलदंगा

हिमाल प्रेस १२ मंसिर २०७९ ११:०६
16
SHARES
मोरोक्कोसँग हारेपछि बेल्जियमका समर्थकले गरे हुलदंगा

काठमाडौँ- विश्वकपमा आइतबार राति बेल्जियम मोरोक्कोसँग पराजित भएसँगै ब्रसेल्समा हुलदंगा र आगजानी भएको छ। बेल्जियमका समर्थकले राजधानी ब्रसेल्स सहरको मध्यभागमा पसल तोडफोड गर्नुका साथै केही सवारी साधनमाथि आगजानी गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ।

समूह ‘एफ’ मा रहेको बेल्जियमले दोहास्थित अल थुमाना रंगशालामा उत्तर अफ्रिकी टिम मारोक्कोसँग २–० को अप्रत्याशित हार व्यहोरेको थियो। विश्वकप दाबेदारका रुपमा कतार पुगेको बेल्जियमले पहिलो खेलमा क्यानडालाई हराएको थियो। तर दोस्रो खेल नजितेपछि उसको नकआउट चरण पुग्ने सम्भावना कठिन बन्न पुगेको छ।

यही झोकमा बेल्जियमका समर्थकले हुलदंगा गरेको अनुमान गरिएको छ। त्यसरी हुलदंगा गर्ने समूहका ११ सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ। ‘खेल सकिनु अगाडि नै दर्जनौँ व्यक्तिले सहरको शान्ति व्यवस्था खलल पुग्ने कार्य गरे। प्रहरीले रोक्ने प्रयास गर्दा उल्टै झडपमा उत्रिए,’ ब्रसेल्स प्रहरीले भनेको छ।

प्रहरीका अनुसार ती समर्थकले लठ्ठी पनि बोकेका थिए। उनीहरूले पट्का पनि पड्काएको र त्यसबाट एक स्थानीय पत्रकार घाइते भएको बताइएको छ।

फेरि हुलदंगा नहोस् भनेर प्रहरीले सुरक्षा थप केही सय सुरक्षाकर्मी खटाएको, मेट्रो स्टेसन बन्द गरेको, कतिपय सडकमा आउजाउ बन्द गरेको बताइएको छ।

बेल्जियममा करिब पाँच लाख मोरोक्को मूलका व्यक्तिहरूको बसोबास छ। तिनको सुरक्षाका लागि विशेष व्यवस्था गरिएको प्रहरीको भनाइ छ। ब्रसेल्समा मात्र होइन देशको पूर्वी सहर लिगामा करिब ५० जनाको समूहले स्थानीय प्रहरी चौकीमाथि आक्रमण गरेका थिए। उनीहरूले प्रहरीका दुई सवारी साधन तोडफोड गरेको पनि एएफपीको रिपोर्टमा उल्लेख छ।

उता नेदरल्यान्ड्सका विभिन्न सहरमा मोरोक्को समर्थकले मनाइरहेको खुसीयालीले उग्र रुप लिँदा प्रहरीले बल प्रयोग गर्नु परेको थियो। रोटेरडम, हेग, आम्सटर्डम र उट्रेटमा प्रहरीले मोरोक्कोका समर्थकलाई तितरबितर पारेको थियो।

नेदरल्यान्ड्समा बसोबास गर्ने मोरोक्को मूलका व्यक्तिहरुले खुसीयाली मनाउँदा असाध्यै धेरै आतिसबाजी गरेको र सडक जाम गरेको बताइएको छ।

प्रकाशित: १२ मंसिर २०७९ ११:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − one =