माओवादीबाट एक मात्र महिला विजेता रेखा शर्मा

हिमाल प्रेस ८ मंसिर २०७९ १३:१०
8
SHARES
माओवादीबाट एक मात्र महिला विजेता रेखा शर्मा फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य रेखा शर्मा दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दैै शर्माले पहिलोपल्ट प्रत्यक्ष चुनाव जितेकी हुन्।

अघिल्लो चुनाव जितेका कृष्णबहादुर महराले छाडेपछि उक्त क्षेत्रमा माओवादीले शर्मालाई अघि सारेको थियो। एमालेका ‘हेभिवेट’ पोखरेलसँग चुनाव लडेकी शर्माका पक्षमा मत नआउने आकलन धेरैले गरेका थिए। तर दाङ-२ का मतदाताले एमाले महासचिव पोखरेललाई रोकेर शर्मालाई जिताएका हुन्।

शर्माको जितसँगै माओवादी प्रतिनिधिसभा सदस्यमा महिला प्रतिनिधित्व शून्य हुनबाट जोगिएको छ। माओवादीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका ओनसरी घर्ती, अस्मिता सिंह (मानुषी) यमि भट्टराई, कल्पना धमला, अन्‍जना विशंखे, पम्फा भुसाल र गोमा गौतम कुँवर पराजित भइसकेका छन्।

कञ्चनपुर-१ मा पनि एमालेका तारा लामा तामाङले माओवादीकी विना मगरलाई पराजित गरेका छन्। यसको आधिकारिक घोषणा हुन बाँकी छ।

२०४० को दशकदेखि राजनीतिमा संलग्न शर्माको संसदीय यात्रा भने २०७० बाट सुरु भएको हो। उनी २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन्।

२०७० मा संसदीय दलको सचेतकको जिम्मेवारी लिएकी शर्मा २०७४ मा पनि पार्टी संसदीय दलको सचेतकको भूमिकामा रहेर काम गरेकी थिइन्। उनी २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा रहिन्।

उनी गत वर्ष सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनबाट स्थायी कमिटी सदस्यको जिम्मेवारीमा छिन्।

प्रकाशित: ८ मंसिर २०७९ १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =