टिप्पणी

प्रधानमन्त्रीको कुर्सीमा नयाँ पुस्ता ‘इन्ट्री’को संकेत

चन्द्रशेखर अधिकारी ६ मंसिर २०७९ १८:१७
166
SHARES
प्रधानमन्त्रीको कुर्सीमा नयाँ पुस्ता ‘इन्ट्री’को संकेत तस्बिर स्रोत : गगन थापको फेसबुक

काठमाडौँ- मुलुकको कार्यकारी जिम्मेवारी युवा पुस्ताले सम्हाल्ने संकेत देखिएको छ। प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक परिणामले प्रधानमन्त्रीमा परीक्षण भइसकेका पुराना पुस्ताका नेतालाई ‘रेस’ बाट बाहिरिनुपर्ने दबाब बढ्ने सम्भावना बढाएको हो। यद्यपि यसका लागि नेतृत्वमा पुग्न नयाँ पुस्ताले जबरजस्त हस्तक्षेप गर्नुपर्ने त छँदै छ।

एकाध क्षेत्रबाहेक मतदाताले सत्ता गठबन्धनलाई नरुचाउनु र वैकल्पिक शक्तिले ठूला भनिएका राजनीतिक दललाई टक्कर दिने अवस्थामा पुग्‍नुले  शीर्ष नेतालाई प्रधानमन्त्रीको दौडमा दोहोरिन कठिन हुने निश्चित छ। मतगणनाको प्रारम्भिक परिणामअनुसार समानुपातिकतर्फ एमालेले अग्रता लिएको छ भने प्रत्यक्षमा कांग्रेसको अगुवाइ छ। सत्ता गठबन्धनमा आबद्ध माओवादी निकै पछाडि छ। नेकपा एकीकृत समाजवादी, जनता समाजवादीको प्रारम्भिक नतिजा सुखद छैन। यसले गर्दा संसद्‍मा ठूलो दलका लागि मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै हुनेछ।

माओवादी, एकीकृत समाजवादीको शक्ति क्षीण हुँदै गएका कारण आगामी संसद्को कार्यकालमा नयाँ पार्टी शक्तिशाली हुने देखिएको छ। अबको संसदीय अंकगणितमा तेस्रो शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको उदय हुने मत गणनाको प्रारम्भिक परिणामले देखाएका छन्। युवा पुस्ताले हाँकिरहेको यी दुवै दल सत्ता समीकरणको ‘चाबी’ बनेमा कांग्रेस होस् या एमाले दुवै दलका ‘पूर्वप्रधानमन्त्रीहरू’ लाई फेरि प्रधानमन्त्री बन्न सजिलो हुने छैन।

रवि लामिछाने, राजेन्द्र लिङ्देनहरूले पुराना नेतालाई अस्वीकार गर्ने बलियो सम्भावना छ। लिङ्देनले आफ्नै राजनीतिक गुरुलाई विस्थापित गरेर पार्टीको ‘ड्राइभिङ सिट’मा पुगेको धेरै भएको छैन। ठूला पार्टी र दशकौँ ‘राज’ गरिरहेका नेताहरूका कारण मुलुक अगाडि बढ्न नसकेको भन्दै लामिछानेले नयाँ पार्टी स्थापना गरेका हुन्। अब यी दुवै नेताले भूपू प्रधानमन्त्रीलाई फेरि सोही जिम्मेवारीमा स्वीकार्दैनौँ भनेर  पार्टीगत निर्णय सार्वजनिक गर्नुपर्छ।

संसदीय राजनीतिमा सानदार ‘इन्ट्री’ मार्न थालेका यी दुई नेता मात्रै होइन संसद्को ठूलो पार्टी बन्ने दौडमा रहेको कांग्रेसमा पनि युवा पुस्ताको जबरजस्त प्रवेश भएको छ। पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा हराउन ‘गगन’ समूहले कम्मर कसिसकेको छ। त्यसैले आगामी दिनमा देउवा, दाहाल, नेपाल, ओली होइन दोस्रो पुस्ताका नेता अनुकूल सरकार बन्ने सम्भावना बलियो देखिन्छ।

देशभरबाट संसदीय राजनीतिमा आउन थालेको नयाँ पुस्ताका कारण लामिछाने, लिङ्देन तथा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायतको संयोजनबाट नयाँ सरकार बन्न सक्ने विश्लेषण हुन थालेको छ। एमाले र माओवादीमा केपी शर्मा ओली र पुष्पकमल दाहाललाई टक्कर दिने दोस्रो पुस्ता देखिँदैनन्। पार्टी संरचना र चुनावमा उठेका नेताहरूको हैसियतले त्यसलाई पुष्टि गर्दछ। यी दुवै दलमा अध्यक्षकोे विकल्पमा कोही पनि सतहमा आउन सकेका छैनन्। यो चुनावी परिणामले पनि एमाले र माओवादीका दोस्रो तहका नेतालाई संसदीय राजनीतिबाट पाँच वर्षका लागि ‘रिङ आउट’ गर्ने संकेत देखिएको छ।

दोस्रो पुस्ताले चुनौती दिन हिम्मत नगरेकै कारण एमालेले चुनावअघि नै ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। माओवादीभित्र भने अवसर आएमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ प्रधानमन्त्री बन्ने बताउँदै आएका छन्।

अर्को ठूलो दल कांग्रेसबाट महामन्त्री गगनले मतदातामाझ जाँदा आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिसकेका छन्। सोही कारण उनले मात्रै चुनाव जितेनन्, कांग्रेसमा उनलाई साथ दिने सभापति देउवा इतरका उम्मेदवार पनि विजयीयात्रामा छन्।

देउवा निकट मानिने विश्व पौडेल, उमेश श्रेष्ठ, सुनिलबहादुर थापाहरू मतगणनामा पछाडि पर्नु गगनका लागि संसदीय दलको अंकगणितमा सजिलो हुन सक्छ। गगन ५० को दशकदेखि राजनीतिमा संघर्ष गरेर उदाएका नेता हुन्। विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा चिनिएका गगनले संसद्‍मा ह्याट्रिक गरेपछि मंगलबार सञ्चारकर्मीसँग भने, ‘संसदीय दलमा उठ्ने तयारी गर्नेछु। म यसै बस्दिनँ।’  निर्वाचनमा युवाको लहर आइसकेको उनको विश्लेषण छ। ‘म दलभित्र बसेर युवालाई स्थान दिनुपर्ने कुरा गरिरहेको छु। त्यसैले अब यो सम्भव छ’, गगनले भने।

‘पार्टीको शक्ति सन्तुलन गर्ने जिम्मेवारी देउवासँग पार्टी सभापतिमा झिनो मतान्तरबाट पछि परेका डा. शेखर कोइरालाले गर्नेछन्। त्यसपछि पार्टीभित्रको अंकगणित बिस्तारै मिल्दै जानेछ।’

गगनले जितपछि दलभित्रको सहयोगसँगै नयाँ उदाएका पार्टी र नेताहरूले पनि पुरानालाई प्रधानमन्त्रीको रूपमा अस्वीकार गनुपर्ने सन्देश प्रवाह गरिरहेका छन्। उनीको  यो ‘मिसन’ पूरा भएमा नेपालले चाँडै नयाँ युवा प्रधानमन्त्री पाउनेछ। त्यसपछि युवा पुस्ताका प्रधानमन्त्रीका लागि हामीले बेलायत, क्यानडा, फ्रान्सजस्ता मुलुकलाई उदाहरणका रूपमा लिइरहनुपर्दैन। पार्टीकै अर्का महामन्त्री विश्वप्रकाश शर्माले चुनावी अभियानमा गगनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्नुले गगनलाई थप बल पुग्ने निश्चित छ।

कांग्रेसमा प्रधानमन्त्री बन्न संसदीय दलका नेता जित्‍नुपर्छ। त्यसका लागि तयारीमा जुटेका गगनलाई नयाँ उदाएका दलका नेताहरूले पनि सहयोग गर्ने संकेत गरेका छन्। दोहोर्‍याएर प्रधानमन्त्री हुनेलाई समर्थन गर्न नसक्ने उनीहरूको भनाइ छ। त्यसैले महामन्त्री गगनले अब संसदीय दलमा पार्टी सभापति तथा सत्ता गठबन्धनकै कमान्ड सम्हालेका देउवासँग प्रतिस्पर्धा गर्नुपर्ने स्पष्ट छ। पार्टीभित्रको शक्ति सन्तुलनलाई खासै चासो नदिएका गगनले देउवासँगको प्रतिस्पर्धालाई अर्थपूर्ण मानेर अघि बढ्ने उनी निकट नेताहरू बताउँछन्।

कांग्रेसका एक नेताले हिमाल प्रेससँग भने, ‘पार्टीभित्रको शक्ति सन्तुलन गर्ने जिम्मेवारी देउवासँग पार्टी सभापतिमा झिनो मतान्तरबाट पछि परेका डा. शेखर कोइरालाले गर्नेछन्। त्यसपछि पार्टीभित्रको अंकगणित बिस्तारै मिल्दै जानेछ।’ नेतृत्व बदल्न युवा पुस्ताले हस्तक्षेप गर्नैपर्नेमा गगन दृढ रहेको ती नेताको बुझाइ छ। उनी भन्छन्, ‘त्यसमा पार्टी नेतादेखि कांग्रेस सांसद सबैको साथ हुन्छ। जुन आवश्यक पनि छ।’ गगन यस्ता नेता हुन् जसले प्रधानमन्त्रीका रूपमा गर्ने पाँचवर्षे कार्ययोजनासमेत तयार पारिसकेका छन्। ‘प्रोजेक्ट गभर्मेन्ट’ नाम दिएर निर्वाचनमा गएकाले पनि थापा संसदीय दलको नेताबाट पछि नहट्ने उनी निकट नेताहरू बताउँछन्।

उनी आफैँले भन्दै आएका छन्, ‘मुलुक सञ्चालनको ड्राइभिङ सिटमा बस्न लड्ने हो, भिड्ने हो।’ मुलुकको आर्थिक, सामाजिक, स्वास्थ्यलगायत जल्दाबल्दा एजेन्डामाथि अब फेरि अलमल नहोस् भनेर प्रोजेक्ट तयार गरेको बताइएको छ।

संविधानअनुसार प्रधानमन्त्री कार्यकारी हुने व्यवस्था छ। सरकार चलाउन प्रधानमन्त्रीले प्रत्येक मन्त्रीलाई लक्ष्य, कार्यक्रम, योजना दिनुपर्ने र अनुगमन गर्नुपर्ने हो तर हाम्रोमा त्यस्तो अभ्यास भएको पाइँदैन। पर्याप्त गृहकार्य नभएकै कारण प्रधानमन्त्री कार्यालयलाई सशक्त बनाउने र गर्नुपर्ने काममा हरेक पटकको नेतृत्व चुक्दै आएको छ।

यही ‘ग्याप’ पूरा गर्न थापाले चार वर्षअघिदेखि विज्ञ सम्मिलित टोलीसँग मिलेर ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार पारेका छन्। प्रधानमन्त्री बन्ने मात्रै नभएर बनेकै दिनदेखि के ‘आउट पुट’ दिने र पाँच वर्ष के गर्ने भन्नेमा उक्त ‘प्रोजेक्ट’ स्पष्ट छ।

झण्डै तीन दर्जन क्षेत्रबारे तयारी गरेर प्रधानमन्त्रीको दौडमा लागेका थापा एक दिन पनि खेर नफाली मुलुकलाई अगाडि बढाउने योजनामा छन्। उनको सचिवालयलका एक सदस्यले भने, ‘नयाँ पार्टी र त्यसका युवामाथि त यत्तिको भरोसा छ भने पार्टीभित्रै लड्दैभिड्दै आएका युवामाथि आमनागरिकले कम भरोसा पक्कै गरेका छैनन्। थापा निकै अध्ययन गरेर समयअनुसार अघि बढिसक्नुभएको छ।’

त्यसो त एउटा कुनै नेता वा दलले चाहेर मात्रै केही हुँदैन। निर्णायक शक्ति त जनता हुन्। नेपाली मतदाताको प्रवृत्ति जहिल्यै पनि परिवर्तनलाई रुचाउने खालको छ। २०६२/६३ पछिकै चुनावी परिणाम विश्लेषण गर्ने हो भने जनमत २०६४ सालमा माओवादी, २०७० मा कांग्रेस र २०७४ मा एमालेका पक्षमा थियो। सरकार चलाउन नसकेर कम्युनिस्ट फुट्दा पनि चुपचाप बसेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मेवारी लिएर चुनाव गराउनुपर्ने अवस्था आयो।

‘सभापतिज्यूले जति गर्नुभयो, गरिसक्नुभयो,’ कांग्रेसका एक नेता भन्छन्, ‘अब उहाँले सम्मानजनक पद लिएर वा नलिइकन कार्यकारी युवालाई छोड्नुको विकल्प छैन।’

चुनावमा देउवाले आफूलाई डडेलधुरामा सुरक्षित राखे। तर निश्चित ‘भिजन’ नभएका देउवा फेरि प्रधानमन्त्री भएर मुलुक चलाउन सक्ने अवस्थामा छैनन्। उनीबाट आमजनताले मात्रै होइन स्वयम् कांग्रेस नेताले समेत केही अपेक्षा गरेका छैनन्। त्यसका धेरै कारण छन्। एक त देउवा वयोवृद्ध भइसकेका छन्। उनले मुलुक चलाउने शैली र जनता विश्वस्त हुने योजना दिन सकेका छैनन्। अर्को कुरा यो चुनावमै उनका पक्षमा जनमत बलियो देखिएन। विकल्पका रुपमा उदाउन खाजेका गुल्मेली युवा सागर ढकालले उनकै क्षेत्रमा सम्नमानजनक मत पाइरहेका छन्।

‘सभापतिज्यूले जति गर्नुभयो, गरिसक्नुभयो,’ कांग्रेसका एक नेता भन्छन्, ‘अब उहाँले सम्मानजनक पद लिएर वा नलिइकन कार्यकारी युवालाई छोड्नुको विकल्प छैन।’ देउवामा धेर आस नभएरै कांग्रेसमा दोस्रो पुस्ता हस्तक्षेपकारी भूमिकामा उदाइसकेको छ। त्यसको प्रमाण पार्टीमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायत हुन भने डा. शेखर कोइरालालगायत केहीले यस्ता युवालाई अगाडि बढाका छन्।

कांग्रेसका एक नेता भन्छन्, ‘डा. कोइराला पछिल्ला पुस्ताका अभिभावक बन्न सक्छन्। देउवा, रामचन्द्र पौडेललगायत अभिभावक बन्नु नै उत्तम हुन्छ।’ लामो समय पार्टीमा योगदान दिएका नेताहरूले अब युवा पुस्तालाई अघि लगाउनुपर्ने ती नेता बताउँछन्। त्यसो त कांग्रेसमा लामो समय पसिना बगाएका रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायले प्रधानमन्त्रीमा दाबी गरेका छन्। तर यसका लागि संसदीय दलको निर्वाचन जितेर अगाडि बढ्ने न उनीहरूसँग अंकगणित छ न प्रधानमन्त्री बन्न सक्ने राष्ट्रिय छवि।

देउवाका निकटस्थहरूचाहिँ अझै पनि देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा छन्। देउवाले आफू सत्तामा रहन ओलीसँग सहकार्यको हात फिँजाउन सक्ने सम्भावना पनि रहेको कांग्रेसका एक पदाधिकारी बताउँछन्। ती पदाधिकारीले भने, ‘एउटा पुस्ताले राजनीतिक अधिकार र आन्दोलनको नेतृत्व गर्‍यो। परिवर्तन स्थापित गर्‍यो अब फेरि पनि हामी त्यही पुस्ताबाट थप परिवर्तन खोज्दा परिणाम राम्रो आउनेछैन। त्यसैले पनि नेतृत्वमा पुग्न नयाँ पुस्ताले जबरजस्त हस्तक्षेप गर्नैपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =