कास्कीमा निर्वाचन तयारी पूरा, मतगणनाको लागि तारजाली

विजय नेपाल ३ मंसिर २०७९ १२:५२
कास्कीमा निर्वाचन तयारी पूरा, मतगणनाको लागि तारजाली

पोखरा– कास्कीमा आमनिर्वाचन तयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालय गण्डकीकाअनुसार जिल्लाका १ सय ५० मतदानस्थलका ३ सय ४४ मतदान केन्द्रमा आवश्यक तयारी समेत पूरा भएको छ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले आइतबार देशैभरि एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि कास्कीमा विभिन्न मतदान केन्द्रमा आवश्यक तयारी पूरा भएको र मतपत्रलगायत आवश्यक सबै सामग्री पुर्‍याउने काम पूरा भएको बताए।

निर्वाचन आयोगको निर्देशन बमोजिम सकेसम्म मतदान केन्द्रसमेत लैंगिक समावेशी, अपांगतामैत्री तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाइएको छ।

कास्कीमा १५० मध्ये ५० ओटा मतदान केन्द्र अतिसंवेदनशील सूचीमा राखिएकोमा त्यसको विशेष निगरानी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक केसीले बताए।

जिल्लाका ४० वटा मतदानस्थल संवेदनशील र बाँकी सामान्य छन्। उनले सोको लागि आवश्यक सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई आग्रह समेत गरेका छन्। कास्कीको चुनावमा २ हजार ७ सय ५२ जना कर्मचारी खटिएका छन्।

३ ओटा क्षेत्र रहेको कास्कीमा हरेकका प्रतिनिधित्वि हुने गरी ३ वटा मतदान केन्द्रको जिम्मा महिला कर्मचारीलाई मात्र दिइएको छ। पार्दी मावि मतदानस्थलको मतदान केन्द्र (ख), जनप्रकाश मावि, भण्डारढिक मतदानस्थल र सामुदायिक भवन बसुन्धरा पार्कको मतदान केन्द्र महिला कर्मचारीले मात्र सम्हालेका हुन्।

यसैबीच, चुनावको लागि पोखरा १९ का मतदान केन्द्र अपांगमैत्री बनाइएको छ। स्थानीय अकला मतदान केन्द्र र भारती भवन मतदान केन्द्रलाई अपांग तथा अशक्त मतदानमैत्री पदमार्ग निर्माण गरिएको वडा १९ का सचिव श्रीराम पौडेलले जानकारी दिए।

कास्कीमा प्रतिनिधिसभातर्फ ४६ र प्रदेशतर्फ ४५ गरी कुल ९१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कास्कीमा २ लाख ९१ हजार मतदाता छन्। यो संख्या गत वैशाख ३० को स्थानीय तहको चुनावभन्दा १० हजार बढी मतदाता हुन्। २ दिनसम्म स्थिर समय पूरापछि यहाँका मतदाता मतदानको व्यग्र पर्खाइमा छन्।

३ स्थानमा मतगणना
कास्कीमा प्रतिनिधिसभाका कुल ३ वटा क्षेत्र हुन्। सोहीअनुसार प्रदेशसभाका ६ क्षेत्र छन्। आइतबारको निर्वाचनपछि रातिसम्म मतपेटिका संकलनसँगै गणना पनि सुरु गर्ने तयारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार ३ ओटै निर्वाचन अधिकृतको कार्यालयमा मतगणना स्थलको समेत तयारी भइरहेको छ।

कास्की क्षेत्र १ को माटेपानीस्थित पशु सेवा कार्यालय, क्षेत्र २ को सभागृह हल र क्षेत्र ३ को जिल्ला समन्वय समितिको सभाहल, सहिदचोकमा हुनेछ। कास्कीका दूरदराजबाट मतपेटिका संकलनमा बढीमा ८ घण्टासम्म लाग्ने अनुमान छ। यसैबीच, आवश्यक सुरक्षाका लागि मतगणनास्थलमा तारजाली समेत लगाइएको छ।

प्रकाशित: ३ मंसिर २०७९ १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 14 =