पहिलो निर्वाचन २०१५ : झापाका जनताले मतदान मिति सार्न अनुरोध गरेपछि…

हिमाल प्रेस २० कार्तिक २०७९ ८:४१
पहिलो निर्वाचन २०१५ : झापाका जनताले मतदान मिति सार्न अनुरोध गरेपछि…

नेपालमा पहिलोपटक २०१५ सालमा सम्पन्न आमनिर्वाचन विभिन्न चरणमा सम्पन्न भएको थियो। २०१५ साल फागुन ७ गते सुरु भएको उक्त निर्वाचन चैत २१ सम्म चलेको थियो। अलगअलग निर्वाचन क्षेत्रअनुसार त्यहाँ अलगअलग दिन मतदान भएको थियो। पहिलो दिन १८ निर्वाचन क्षेत्रमा मतदान भएको थियो।

त्यस्तै फागुन ८ गते ५, १८ गते ८, १४ गते ३, १५ गते ११, १६ गते ३, १९ गते ६, २१ गते ९, २३ गते ५, २५ गते ३, २६ गते ४, चैत २ गते १०, ५ गते ६, ७ गते ३, ११ गते ६, १३ गते ३, १७ गते ३, २१ गते ३ निर्वाचन क्षेत्रमा मतदान भएको थियो।

त्यतिबेला एउटा मात्रै निर्वाचन क्षेत्र भएको झापामा निर्वाचनका लागि २०१५ साल चैत ११ का लागि मिति तोकिएको थियो। उक्त दिन ६ वटा क्षेत्रमा निर्वाचन हुने कार्यतालिका रहेकोमा झापा जिल्लाका अलावा पूर्व २ नम्बर दोलखा उत्तर, पूर्व ३ नम्बर माने भञ्ज्याङ, धनकुटा, उदयपुर र प्युठान थिए।

चैत ११ गते फागुपूर्णिमा परेको रहेछ। झापाका स्थानीय जनताका लागि त्यो ठूलो चाड विशेष महत्त्वको थियो। त्यसैले उनीहरूले चुनावको मिति सारी पाउँ भनी सम्बन्धित निकायसमक्ष माग गरेका रहेछन्। जनप्रतिनिधित्व ऎन, २०१५ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले झापा जिल्लाका लागि सोही चैत १३ गतेका दिन मतदानको मिति तोकेको थियो।

चैत १३ गते बैतडी, पाल्पा र पश्चिम २ नम्बर गोरखा उत्तरमा निर्वाचन हुने भन्ने तय भएकोमा झापासमेत थपिँदा यी ४ वटा निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो।

निर्वाचनमा झापामा ८ जना स्वतन्त्र उम्मेदवारसमेत गरी कुल १४ जना उम्मेदवार मैदानमा थिए। ८ जना स्वतन्त्र उम्मेदवारमध्ये कञ्चनबारीका अन्धारुप्रसाद धिमाल घडी, शन्तिनगरका गन्जबहादुर कार्की धारा, शान्तिनगरकै खरुदेप्रसाई तराजु, लालमाटामा गंगाप्रसाद खत्री हात्ती, शान्तिपुरका चन्द्रबहादुर कार्की घोडा, घनढुवाका जयनारायणप्रसाद गणेश डुंगा, नाम सालिमका जयप्रसाद ढकाल पानस र भद्रपुरका एसएल (सोहनलाल) शर्मा मसीकलम चुनावी चिह्नका साथ उम्मेदवार भएका थिए।

त्यस्तै राजनीतिक दलका ६ जना उम्मेदवारमध्ये नेपाल कम्युनिस्ट पार्टीबाट गोपालचन्द्रसिंह प्रसाईं, नेपाल प्रजातान्त्रिक महासभाका तर्फबाट तुलसीप्रसाद अचार्ज, संयुक्त प्रजातान्त्रिक पार्टीबाट प्रचण्डलाल मास्के, नेपाली कांग्रेसका तर्फबाट फत्तेबहादुर बुढाथोकी, नेपाल प्रजा परिषद् (मिश्र गुट) बाट हलो चिह्नका साथ भैरवप्रसाद अचार्ज र नेपाल तराई कांग्रेसबाट शिवगोविन्द हलुवाई उम्मेदवार थिए। निर्वाचनमा ९ हजार ४०९ मतसहित नेपाली कांग्रेसका फत्तेबहादुर बुढाथोकी निर्वाचित भएका थिए।

(२०१५ सालको आमनिर्वाचनका क्रममा निर्वाचन कमिसनले प्रकाशन गरेको पाक्षिक पत्रिका ‘निर्वाचन सन्देश’ र नेपाल गजेटको सहयोगमा।)

प्रकाशित: २० कार्तिक २०७९ ८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − one =