इराकले बिपीमाथि भ्रमणमा प्रतिबन्ध लगाउँदाको त्यो क्षण

सन्तोष खडेरी १० वैशाख २०७९ ११:५३
इराकले बिपीमाथि भ्रमणमा प्रतिबन्ध लगाउँदाको त्यो क्षण 'सिभिल एन्ड मिलिट्री गजेट' लाहोरको २७ मार्च १९६१ को अंकमा प्रकाशित समाचार अंश र विदेश भ्रमणका क्रममा बिपी कोइराला।

हालैका दिनमा रुसले युक्रेनमा हमला गरेपछि युक्रेनको समर्थन र रुसको विरोधमा हुने गरी अमेरिकाले रुसी उच्चपदस्थ अधिकारीसहित राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगीलाई अमेरिकामा प्रवेश नदिने गरी यात्रा प्रतिबन्ध लगाएका समाचार आइरहेका छन्।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा पनि चीन र अमेरिकाबीच व्यापार द्वन्द्व चर्कंदै जाँदा दुवै मुलुकले एकअर्को मुलुकका अधिकारीलाई आआफ्नो मुलुक भ्रमणमा प्रतिबन्ध लगाएका समाचार  सार्वजनिक भएका थिए। अन्तर्राष्ट्रिय मामिलामा कुनै दुई मुलुकको आपसी टकरावमा मात्र होइन, आफ्नो सहयोगी वा गठबन्धन राष्ट्रसँग सरोकार राख्ने तेस्रो राष्ट्रका मामिलामा समेत प्रतिबन्ध लगाउने चलन धेरै पहिलेदेखि चलिआएको पाइन्छ। यस्तै प्रतिबन्ध ६ दशकअगाडि इजरायलसँग सम्बन्ध राखेको आधारमा इराकले बिपी कोइरालालाई लगाएको थियो।

खाडीसहितका केही इस्लामिक राज्यले इजरायललाई मान्यता दिएर कूटनीतिक सम्बन्ध स्थापना गरेका छैनन्। तिनैमध्ये इराकले पनि इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छैन। त्यसैले यी दुई मुलुकबीच सम्बन्ध नराम्रो छ। 

यहुदी बाहुल्य राष्ट्र इजरायलसँग पछिल्लो समय केही इस्लामिक मुलुकले कूटनीतिक सम्बन्ध स्थापना गरेका छन्। त्यसमा संयुक्त अरब इमिरेट्स ९युएई० र बहराइनसमेत छन्। त्यस्तै सन् १९७९ र १९९४ मा क्रमशः इजिप्ट र जोर्डनले इजरायलसँग सम्बन्ध गाँसेका थिए। तर अझै पनि खाडीसहितका केही इस्लामिक राज्यले इजरायललाई मान्यता दिएर कूटनीतिक सम्बन्ध स्थापना गरेका छैनन्। तिनैमध्ये इराकले पनि इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छैन। त्यसैले यी दुई मुलुकबीच सम्बन्ध नराम्रो छ।

सन् १९८१ मा त इजरायली वायुसेनाले इराकको परमाणु रियाक्टरमा हमला गरी त्यसलाई नष्ट गरिदिएको हो। अहिले पनि इराकी राहदानीमा इजरायल र इजरायली राहदानीमा इराक छिर्ने अनुमति छैन। यसबाट सन् १९६० को दशकमा त झन् यी मुलुकको सम्बन्ध कस्तो थियो होला भनी अनुमान गर्न सकिन्छ।

सन् १९६० को दशकमा इजरायललाई अलग राष्ट्रका रूपमा मान्यता दिएर सम्बन्ध स्थापना गर्ने संसारका थोरै मुलुकको सूचीमा नेपाल पनि थियो। नेपालका प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारले इजरायलसँग दौत्य सम्बन्ध स्थापना गरेका थिए। कोइराला नेतृत्वको सरकारले नेपालसँग सम्बन्ध स्थापनाका लागि पहल गर्ने राष्ट्रहरुसँग सम्बन्ध स्थापना गर्ने नीति लिएको थियो। फलस्वरूप १८ महिना अवधिमा कोइराला सरकारले १६ देशसँग दौत्य सम्बन्ध स्थापना गरेको थियो। जसमा इजरायल पनि थियो।

राजा महेन्द्र विदेश भ्रमणमा रहेको समयमा नेपालमा इजरायलसँग दौत्य सम्बन्ध स्थापना गर्ने घोषणा गर्दा राजाले प्रधानमन्त्रीलाई टेलिग्राम पठाएर त्यसलाई स्थगन गर्न भनेका थिए। कस्ता मुलुकहरूसँग दौत्य सम्बन्ध स्थापना गर्ने भन्ने नीतिगत प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृति गरिसकेकाले प्रधानमन्त्रीले त्यसलाई स्थगन गर्न चाहेनन्।

नेपालले इजरायलसँग सम्बन्ध स्थापना गरेपछि उनीहरूविरुद्धमा रहेको इजिप्टमा राजा महेन्द्रको भ्रमण भएन। त्यस घटनालाई इजिप्टले सकारात्मक लिएन।

सरकारकै योजनाअनुसार सम्बन्ध स्थापना भयो। पछि राजा महेन्द्रले कोइरालालाई इजरायलसँग सम्बन्ध स्थापनाको विपक्षमा आफू नभएको तर त्यसले आफ्नो पूर्वनिर्धारित इजिप्ट भ्रमणलाई असर गर्ने भएकाले केही समयका लागि थाती राख्न भनेका थिए। नेपालले इजरायलसँग सम्बन्ध स्थापना गरेपछि उनीहरूविरुद्धमा रहेको इजिप्टमा राजा महेन्द्रको भ्रमण भएन। त्यस घटनालाई इजिप्टले सकारात्मक लिएन। भ्रमणमा जान उचित नरहेकाले राजाको भ्रमण हुन नसकेको हो। [विश्वेश्वरप्रसाद कोइराला, आत्मवृत्तान्त]

सन् १९६० को ०१ जुनमा नेपाल र इजरायलबीच दौत्य सम्बन्ध स्थापना भएको थियो। सोही अगस्टमा प्रधानमन्त्री बिपी कोइरालाले इजरायलको राजकीय भ्रमण गरेका थिए। बिपी कोइरालाको आत्मवृत्तान्तमा उल्लेख भएअनुसार नेपालले इजरायलसँग दौत्य सम्बन्ध राख्ने घोषणा गर्नासाथ नयाँदिल्लीस्थित ६ वटा अरब देशका राजदूतले नेपाल आएर विरोध गरेका थिए।

ती ६ देशको नाम उल्लेख नगरे पनि त्यसमा तिनै इस्लामिक देश थिए भन्ने अनुमान गर्न सकिन्छ। अरब देशहरुको नेतृत्व इजिप्टका राजदूतले गरेका थिए। उनले प्रधानमन्त्री कोइरालासँग नेपालले इजरायलसँग किन दौत्य सम्बन्ध स्थापना गरेको भनेर विरोध गरे। प्रधानमन्त्री कोइरालाले नेपालको पक्ष स्पष्टसँग राखेपछि इजिप्टका राजदूतले आफूहरुले त्यस्तो विरोध औपचारिक रुपमा गर्नुपरेको बताएका थिए। साथै उनले हामीलाई तपाईंहरुको पक्ष थाहा थियो,  हाम्रो पो इजरायलसँग झगडा छ, तपाईंहरुको के झगडा भनी उल्लेख गरेका थिए। [विश्वेश्वरप्रसाद कोइराला, आत्मवृत्तान्त]

यिनै उदाहरणबाट पनि त्यसबेला इजरायल र इस्लामिक राज्यहरूसँग बिपीको सम्बन्ध कस्तो थियो? त्यस्तै इजरायलसँग सम्बन्ध राख्ने नेपालसँग पनि उनीहरुले कस्तो व्यवहार गर्दथे भनी बुझ्न सकिन्छ। इजरायलसँग दौत्य सम्बन्ध स्थापना गर्ने मात्र होइन त्यसको दुई महिनापछि आफैँ इजरायलको राजकीय भ्रमणसमेत गरेर बिपी कोइरालाले इजरायलसँगको सम्बन्धबारे संसारलाई एउटा सन्देश दिएका थिए। सन् १९६०/६१ ताका इजरायलले ‘लोकल गभर्मेन्ट कन्फ्रेन्स’  समेत आयोजना गरेको थियो। त्यही कन्फ्रेन्समा भाग लिन विभिन्न मुलुकका अधिकारीहरूले इजरायल भ्रमण गरेका थिए।

त्यसै बेला इराकले इजरायलसँग सम्बन्ध रहेका र त्यही कन्फ्रेन्समा भाग लिन जानेहरूमध्ये अन्तर्राष्ट्रिय छवि भएका १०० जना व्यक्तिहरूलाई इराक यात्रामा प्रतिबन्ध लगाएको थियो। जसमा ब्रिटिस परमाणु वैज्ञानिक सर जोन ककराफ्ट र नेपालका बिपी कोइराला थिए। [सिभिल एन्ड मिलिट्री गजेट, लाहोर २७ मार्च १९६१]

सन् १९६१ को मार्चको अन्त्यतिर इराकले बिपी कोइरालालाई प्रतिबन्ध लगाउँदा उनी नेपालका प्रधानमन्त्रीबाट हठात् खोसिएर जेलमा पुगिसकेका थिए।

प्रकाशित: १० वैशाख २०७९ ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 6 =