प्रधानमन्त्रीलाई रास्वपा सभापति लामिछानेको १४ बुँदे सुझाव

हिमाल प्रेस २२ कार्तिक २०८० १०:२७
12
SHARES
प्रधानमन्त्रीलाई रास्वपा सभापति लामिछानेको १४ बुँदे सुझाव फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १४ बुँदे सुझाव दिएका छन्।

भूकम्प प्रभावित क्षेत्र जाजरकोटबाट फर्किएलगत्तै बुधबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर त्यहाँको वस्तुस्थिति र तत्काल चाल्नुपर्ने कदमबारे ध्यानाकर्षण गराएका हुन्।

‘मिति २०८० कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित क्षेत्रहरूमा उद्धार कार्यमा सरकारले देखाएको तदारुकताका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बललाई विशेष धन्यवाद दिन चाहन्छु। पार्टीको कार्यक्रमका लागि पाल्पामा रहेको भए तापनि भूकम्पको खबर सुन्नेबित्तिकै पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर पाल्पाबाट हामी सिधै जाजरकोट गएका थियौं। यस निवेदनमा मैले देखेको भूकम्प प्रभावित क्षेत्रको अवस्था र तत्काल गरिनु पर्ने कार्यको सूची तपाईं समक्ष राख्न चाहन्छु,’ ध्यानाकर्षण पत्र बुझाउँदै उनले भनेका छन्।

विपद्का बेला समयमा नपुर्‍याइको सामानको महत्त्व हुँदैन रहेछ भन्ने सिकाइकासाथ फर्किएको बताउँदै उनले अविलम्ब प्रभावित क्षेत्रमा चाहिएका सामग्री पुर्‍याउन अनुरोध गरेका छन्।

उनले भूकम्प प्रभावित क्षेत्रमा पठाइएका त्रिपालहरूको गुणस्तरको पनि प्रश्न उठाएका छन्।

‘अब पठाइने त्रिपालको गुणस्तर परीक्षण गरी मात्रै पठाइयोस्। राहत सामग्रीको आवश्यकता कुन कुन वस्तुको कति मात्रामा हो भन्ने स्पष्ट सन्देश नपुग्दा अनावश्यक र सहज पाइने वस्तुको चाङ लाग्ने देखिन्छ। आवश्यक सामग्रीको कमी हुने देखिन्छ। भूकम्प प्रभावित जनता, भूकम्प पश्चातको दुई दिनमै आफ्नो जोहो आफैं गर्न संघर्षरत रहेको पाएँ। यसले जनतालाई राज्यप्रति निराश बनाएको छ। सरकार, जनताको अभिभावक हो भन्ने कुरा स्मरण गराउँदै, आम जनसमुदायमा सरकार छ भन्ने प्रत्याभूति गराउन उपयुक्त कदम चाल्नुहोस्,’ उनले भनेका छन्।

राहत सामग्री जिल्ला प्रशासन कार्यालयमा थुप्रो लागेको सभापति लामिछानेले बताएका छन्।

प्रकाशित: २२ कार्तिक २०८० १०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast