काठमाडौँ- यसअघि एक चोट्टी सारिसकेको महासमिति बैठक नेपाली कांग्रेसले फेरि सारेको छ। मंसिर १३–१५ सम्म बस्ने पूर्वतयारी रहेको बैठक मंसिर २९ बाट पुष २ सम्म गर्नेगरी सारेको कांग्रेसले अब पुष १६ देखि १९ सम्म गर्ने भएको छ।
यसअघि आइतबार बसेको कार्यसम्पादन बैठकले महासमितिको बैठक मंसिर २९ बाट गर्ने निर्णय गरेको थियो। तर मंगलबार पार्टी केन्द्रीय कार्यलय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मीन विश्वकर्माले चाडवाडको कारण महासमिति बैठक सार्नुपरेको बताए।
‘पहिला हामीले महासमितिको बैठक मंसिरको १३–१५ भन्यौं। विभिन्न कारणले केही दिन धकेलियो। कार्य सम्पादन समितिको बैठकबाट मंसिर २९ बाट पुसको २ गतेसम्म गर्ने भन्यौं। तर तिथि मिति हेर्दा फेरि पनि बदल्नुपरेको हो,’ उनले भने,‘अब पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट १७, १८ र १९ गते ललितपुरको गोदावरीस्थित हलमा तोकेका छौं।’





