हेटौंडा– बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण मिति तोक्न सर्वदलीय बैठक बस्ने भएको छ। शुक्रबार बिहान ११ बजे प्रदेशसभा सचिवलायमा सर्वदलीय बैठक बस्ने भएको हो।
बैठकमा उपस्थित हुन प्रदेशका सबै सांसदलाई सूचना पठाइसकेको संसद् सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए। बागमती प्रदेशसभामा नुवाकोट २ (क) बाट प्रत्यक्षतर्फ निर्वाचित नेकपा माओवादी केन्द्रका ७२ वर्षीय राम ढुंगाना वर्तमान प्रदेशसभामा ज्येष्ठ सदस्यमा चयन भएका छन्।
प्रदेशसभामा हाल सभामुख र उपसभामुख निर्वाचित भई नसकेको अवस्थामा सभाको ज्येष्ठ सदस्य ढुंगानाले केही दिनभित्रै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ ग्रहण गरेपछि प्रदेशसभाका अन्य १ सय ९ जना सदस्यलाई शपथ गराउने कार्यसूची रहेको सचिव खड्काले जानकारी दिए।
प्रकाशित: ४ पुष २०७९ १९:४७ | Monday, December 19, 2022
प्रतिक्रिया



