लुम्बिनी प्रदेशको स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा

हिमाल प्रेस १८ कार्तिक २०८० १२:११
8
SHARES
लुम्बिनी प्रदेशको स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा

लुम्बिनी- लुम्बिनी प्रदेश सरकारले उपचार र उद्धारका लागि स्वास्थ्यकर्मीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासँग सहयोगको आवश्यकताको विषयमा छलफल गरेपछि प्रदेश सरकारले सहायतामा लागि उद्वार र स्वास्थ्यकर्मीको टोली पठाएको हो।

कर्णालीका मुख्यमन्त्री शर्माले तत्काल स्वास्थ्यकर्मीको आवश्यकता बढी रहेको र सहयोगका लागि आग्रह गरेपछि लुम्बिनीका मुख्यमन्त्री चौधरीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका मेडिकल सुपरिटेडेन्ट डा पदमराज अधिकारीको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी र औषधिसहितको टोली जाजरकोट र रुकुमका लागि पठाएका हुन्।

टोलीमा अधिकांश सरकारी अस्पतालहरूका स्वास्थ्यकर्मी र केही निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी पनि रहेका छन्। औषधिसहित खटिएको टोली दाङबाट जाजरकोटका लागि प्रस्थान गरिसकेको मुख्यमन्त्री चौधरीले बताए।

उपचार समन्वयका लागि गृहमन्त्री पाण्डे पनि जाँदै

उद्धार र समन्वयका लागि लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेको नेतृत्वमा पनि सरकारको अर्को टोली जाजरकोट जाने तयारी गरिरहेको छ।

टोलीमा सरकारका प्रतिनिधि, उद्धारका लागि आवश्यक पर्ने सुरक्षाकर्मीसहितको विशेषज्ञ टोली पनि जाजरकोट जान लागेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार गोपालप्रसाद शर्माले बताए । गृहमन्त्री पाण्डे नेतृत्वको टोली पनि देउखुरीबाट हिँड्न लागेको उनले बताए।

त्यस्तै भूकम्पमा परी घाइतेहरूको स्वास्थ्य उपचार तथा उद्धारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको टोली पनि भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ।

मानवीय क्षति न्यूनीकरण तथा त्यहाँको स्वास्थ्य उपचारलाई सहज बनाउने उद्देश्यले डाक्टरसहितको टोली औषधि लिएर त्यसतर्फ प्रस्थान गरेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले बताए।

अस्पतालका एमडीजीपी डा सुनिल सुनारको नेतृत्वमा ५ जनाको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो। भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि अस्पतालमा बिरामी ल्याउनुपर्ने अवस्थामा समेत अस्पतालले तयारी गरिरहेको उनले जानकारी दिए।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति भएको छ।

प्रकाशित: १८ कार्तिक २०८० १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast