इटहरीमा नाटक महोत्सव हुँदै

हिमाल प्रेस १४ कार्तिक २०८० १७:४५
462
SHARES
इटहरीमा नाटक महोत्सव हुँदै

इटहरी- इटहरीमा नाटक महोत्सवको तयारी पूरा भएको छ। कात्तिक १७ र १८ गते इटहरीको तायारिप्ची भवनमा नाटक ‘शत्रु’ प्रदर्शन हुने भएको हो। विश्वेश्वरप्रसाद कोइरालाको कथा ‘शत्रु’लाई नाट्य रूपान्तरण गरी ‘रिहर्सल’ भइरहेको छ।

एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, सुनसरीको आयोजना तथा कलालय इटहरीको सहकार्यमा दुई दिन नाटक प्रस्तुत गर्ने गरी तयारी सम्पन्न भएको छ। दुई दिन (कात्तिक १७ र १८ गते) दिनको ३ बजे नाटक प्रस्तुत हुने नाट्यकर्मी प्रजल दुलाले बताए। यस्तै कात्तिक १९ गतेदेखि २१ गतेसम्म ‘दोस्रो अन्तरदेशीय साझा रंगमञ्च २०८०’ आयोजना हुने गरी तयारी पूरा गरिएको कलालय इटहरीले जनाएको छ।

कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीका अनुसार नाटक महोत्सवमा नेपाल र भारतका रंगकर्मीहरूले नाटक प्रस्तुत गर्नेछन्। कात्तिक १९ गते साँझ ४ बजे ‘कृष्नगर जीवोनेर एकतान पश्चिम बंगाल, भारत’ नाट्य समूहले नाटक ‘एक्टु आगुन दे’ प्रस्तुत गर्नेछ। उक्त नाटक सुभ्रा रोयले निर्देशन गरेका छन्।

यस्तै, कात्तिक २० गते बिहान ९ बजे ‘कदम थियटर, दमक’ नाट्य समूहले ‘जयमाया आफू मात्रै लिखापानी आईपुगी’ नाटक प्रस्तुत गर्नेछ। उक्त नाटक जीवन बरालले निर्देशन गरेका छन्। सोही दिन साँझ ४ बजे ‘आरोहण गुरुकुल, विराटनगर’ नाट्य समूहले नाटक ‘नेता जी’ प्रस्तुत गर्नेछ। उक्त नाटक भरत कार्कीले निर्देशन गरेका हुन्।

यस्तै, कात्तिक २१ गते बिहान ९ बजे र साँझ ४ बजे ‘कलालय इटहरी’ले नाटक ‘शत्रु’ प्रस्तुत गर्नेछ। उक्त नाटक भने प्रज्वल पराजुलीले निर्देशन गरेका छन्।

यसअघि कलालयकै आयोजनामा कोभिड-१९ को संक्रमणअघि पहिलोपटक अन्तरदेशीय नाटक महोत्सवको आयोजना गरिएको थियो। त्यसबेला पनि नेपाल र भारतका एक–एक नाटक मञ्चन गरिएको थियो।

प्रत्येक वर्ष नाटक मञ्चन गर्ने योजना रहे पनि कोभिडको संक्रमणका कारण लामो समय कार्यक्रम आयोजना गर्न नसकिएको अध्यक्ष जयन्तीको भनाइ छ।

‘अघिल्लो दुई दिन कर्मचारी युनियनसँगको सहकार्य र पछिल्ला तीन दिन भारतको समेत सहभागीमा नाटक प्रस्तुत गर्न लागिएको हो,’ जयन्तीले भने, ‘इटहरीमा नाटक क्षेत्रको विकासका निम्ति निरन्तर अभ्यास गरिरहँदा यो दोस्रोपटक अन्तर्राष्ट्रिय नाटक महोत्सव गर्न लागिएको हो।’

प्रकाशित: १४ कार्तिक २०८० १७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast