ई: आन्दोलनबारे ओलीले भने : महानगरबाट गरिब होइन, गरिबी लखेट्नुपर्छ

हिमाल प्रेस ९ असोज २०८० १३:११ | Tuesday, September 26, 2023
ई: आन्दोलनबारे ओलीले भने : महानगरबाट गरिब होइन, गरिबी लखेट्नुपर्छ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महानगरबाट गरिब नभई गरिबीलाई लखेट्नुपर्ने बताएका छन्। मंगलबार सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले फुटपाथमा रोजिरोटीका लागि व्यापार गरिरहेका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने अहिलेको मुख्य सवाल रहेको उल्लेख गरेका छन्।

‘हो, फुटपाथ हिँड्नकै लागि हो। पैदल यात्री सहज रूपमा हिँडून् भनेर नै फुटपाथ बनाइएको हो। यसमा कसैको दुईमत छैन होला, मेरो पनि छैन,’ ओलीले लेखेका छन्, ‘मुख्य कुरा परम्परादेखि फुटपाथमा रोजिरोटीका लागि व्यापार गरिरहनुभएका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो।’

फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश भएको बताउँदै उनले असन, इन्द्रचोक, भोटाहिटीतिर ५०औं वर्ष अघिदेखि यस्तो चल्दै आएको बताए। ‘पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ। हो, अहिले परम्परागत रुपमा चल्दै आएको कुरालाई एक्कासि परिवर्तन गर्न खोज्दा केही खल्बली हुनु स्वभाविक र वैज्ञानिक पनि हो,’ ओलीले भनेका छन्।

काठमाडौंकी उपमेयर सुनिता डंगोलले नागरिक जवाफदेहिताको माग सहित आन्दोलनमा रहेका अभियन्ता ई: लाई भेटेको प्रसंग उल्लेख गर्दै एमाले अध्यक्ष ओलीले भनेका छन्, ‘अभियन्तालाई उपमेयरले भेट्नु भएको भन्ने सुनें। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ। दुवै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधन निकाल्नुहोस्।’

प्रकाशित: ९ असोज २०८० १३:११ | Tuesday, September 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast