विषाक्त खाना खुवाएपछि चितवनको रिसोर्टलाई ३ लाख जरिबाना

हिमाल प्रेस १ पुष २०७९ २१:४३ | Friday, December 16, 2022
विषाक्त खाना खुवाएपछि चितवनको रिसोर्टलाई ३ लाख जरिबाना जिल्ला प्रशासन कार्यालय चितवनको भवन।‍ फाइल तस्बिर

चितवन– विषाक्त खान खुवाएको चितवन गार्डेन रिसोर्टलाई ३ लाख रुपैयाँ जरिबाना गराइएको छ। मंसिर २३ गते उक्त रिसोर्टमा भएको विवाहमा जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि रिसोर्टलाई जरिबाना गराइएको हो।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी एवम् बजार अनुगमन समिति चितवनका संयोजक चिरञ्जीवी शर्माको संयोजकत्वमा सरोकारवालासहित टोलीले अनुगमनपछि प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई शुक्रबार प्रतिवेदन बुझाएको हो।

समितिले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२) अनुसार अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरी गुणस्तरहीन खाद्यवस्तु उत्पादन गरी सेवा प्रवाह गरेकाले सोही ऐनको दफा ३९ को १ (ख) अनुसार अधिकतम ३ लाख जरिबाना तिराउन प्रमुख जिल्ला अधिकारीसमक्ष सिफारिस गरेको हो।

अनुगमन समितिले होटलले गरेको लापरबाहीपूर्ण कार्यका सात बुँदे कैफियतका आधारमा जरिबाना गरेको हो। अनुगमन समितिसमक्ष होटल सञ्चालकले सिल खोली दिन र सात दिनको समय दिन माग गरेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए।

नवलपुरको गैँडाकोट १ का गणेश ढकाल र भरतपुर १० की करिश्मा अधिकारीको विहे भोजमा सहभागी भएका दुवै पक्षका झण्डै ३ सय जना खाना खाएपछि बिरामी भएपछि प्रशासनले उक्त रिसोर्टलाई जरिबाना गरेको हो।

समितिको प्रतिवेदनमा सलाद सफा गर्न प्रयोग गरिएको रसायन उपभोग्य मिति समाप्त भएको, ढोका तथा झ्यालमा जाली नभएको, झिंगा देखिएको, कामदारको सरसफाइको अवस्था सन्तोषजनक नभएको उल्लेख छ।
यसैगरी भान्सा र भाँडा माझ्ने ठाउँ एकै ठाउँमा रहेको, पिनट बटर र रसवरी उपभोग्य मिति समाप्त भएको र अभिलेख प्रणाली राम्रो नभएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: १ पुष २०७९ २१:४३ | Friday, December 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast