शिक्षा विधेयकको विरोधमा आजदेखि काठमाडौँ केन्द्रित आन्दोलन

हिमाल प्रेस ३ असोज २०८० ७:३५ | Wednesday, September 20, 2023
शिक्षा विधेयकको विरोधमा आजदेखि काठमाडौँ केन्द्रित आन्दोलन

काठमाडौँ- विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का प्रावधानलाई असहमति जनाउँदै नेपाल शिक्षक महासंघ आन्दोलित छ। संसद्मा पेस भएको सोही विधेयक हुबहु पारित नगर्न माग गर्दै महासंघ आज (बुधबार) बाट काठमाडौँ केन्द्रित आन्दोलन गर्दैछ। सरकारले वार्ताका लागि गरेको आग्रह अस्वीकार गरेर शिक्षकहरू आन्दोलित भएका हुन्।

शिक्षा मन्त्रालयले वार्ताका लागि गरेको आग्रह आफूहरूलाई अमान्य रहेको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए।

आन्दोलनका लागि ७७ वटै जिल्लाबाट स्थायी, राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन्। नेपाल शिक्षक महासंघको आह्वानमा उनीहरूले आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेका हुन्।

विधेयकका प्रावधानमा महासंघले विभिन्न १८ बुँदे असहमति राखेको छ। जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्। महासंघको आन्दोलनले देशभरको पठनपाठन प्रभावित बन्ने भएको छ।

महासंघले आन्दोलनका कारण प्रभावित भएको पठनपाठन पछि अतिरिक्त समयमा पढाएर पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आन्दोलनमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छ। शिक्षकसँग सम्बन्धित विभिन्न संघसंगठनले विद्यालय बन्द गर्नु आफूहरूको रहर नभएर बाध्यता भएको भन्दै अभिभावक तथा विद्यार्थीहरूलाई आफ्नो मर्का बुझिदिन आग्रह गरेका छन् ।

प्रकाशित: ३ असोज २०८० ७:३५ | Wednesday, September 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast