चिकित्सक कुटपिट प्रकरण : ७८ चिकित्सकले दिए राजीनामा, आन्दोलन गर्ने चेतावनी

हिमाल प्रेस २९ भदौ २०८० १०:०४ | Friday, September 15, 2023
चिकित्सक कुटपिट प्रकरण : ७८ चिकित्सकले दिए राजीनामा, आन्दोलन गर्ने चेतावनी

काठमाडौँ- चिकित्सकमाथि कुटपिट भएपछि मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित बनेका छन्।

बुधबार बिहान हेटौँडा–१ भिन्तुनापथस्थित सन्चो अस्पतालका दुई चिकित्सकमाथि सांघातिक आक्रमण भएपछि हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन्।

आक्रमणमा परी एनेस्थेसिया डा प्रशान्त बिडारी र डा विकास थापा घाइते भएका छन्।चिकित्सकमाथि अस्पतालमै कुटपिट भएपछि हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन्।

उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो।

चिकित्सक कुटपिटको विरोधमा चिकित्सकहरूले अस्पताल तथा निजी क्लिनिकहरूको आकस्मिक बाहेक सबै सेवा बन्द गरेको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले जानकारी दिए। चिकित्सकहरूले असुरक्षित महसुस गर्दै काम गर्न नसक्ने बताएपछि सेवा प्रवाह बन्द गरिएको हो।

यसैबीच हेटौँडाका विभिन्न अस्पतालमा कार्यरत ७८ चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। उनीहरुले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा दिएका हुन्। एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी बुधबार डाक्टरमाथि कुटपिट गरेका हुन्।

यस घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मृतक प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अनुप प्रधान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित: २९ भदौ २०८० १०:०४ | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast