काठमाडौँ– नेपालका प्रथम वनस्पतिशास्त्री एवम् वन मन्त्रालयका प्रथम सचिव प्रयागराज पाण्डेले वनस्पति क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरिएको छ। पाण्डेको स्मृतिमा राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी व्यक्तित्वहरूले उनको योगदानलाई स्मरण गरेका हुन्।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरेलले नेपालको वनस्पति क्षेत्रको विकासमा पाण्डेले कोरेको मार्ग, खाका र प्रयोग अध्ययन गर्दा उनी भविष्यद्रष्टा मात्रै नरही भावी पुस्ताका लागि प्रेरणाका स्रोतका रूपमा रहिरहने बताए।
वनस्पति विभागका महानिर्देशक डा. राजेन्द्र केसीले नेपालको वानस्पतिक क्षेत्रको समष्टिगत विकासका लागि विभाग विभिन्न संघसंस्थासँग हातेमालो गर्न तयार रहेको स्पष्ट
पारे।
वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठले प्रयागराज पाण्डे नेपालका प्रथम वनस्पतिविद् मात्र नरहेर वानस्पतिक ज्ञानको भण्डार रहेको बताए। उनले उनको योगदानबारे नयाँ पुस्तालाई चिनाउन सक्नु नै पाण्डेप्रति सच्चा श्रद्धाञ्जलि हुने भनाइ राखे।
फाउन्डेसनका चार्टर प्रेसिडेन्ट तथा वनस्पति विभागका पूर्वनिर्देशक मधुसूदन बिष्टले पाण्डेकै पहलमा नेपालमा वनस्पति विभाग र वन मन्त्रालय स्थापना भएको स्मरण गरे। वनस्पति क्षेत्रको विकासलाई सरकारले कम प्राथमिकतामा राखेको गुनासो उनको छ। फाउन्डेसन वनस्पति विभागसँग सहकार्य गर्न तयार रहेको उनले बताए।
फाउन्डेसनका अध्यक्ष तथा वनस्पति विभागका पूर्वनिर्देशक हरिकृष्ण सैंजूले फाउन्डेसनको सातवर्षे कार्यनीतिबारे चर्चा गरेका थिए।
कार्यक्रममा वनस्पति विभागका उपमहानिर्देशक मोहनदेव जोशीले डेभलपमेन्ट अफ प्लान्ट्स रिसोर्सेज : प्लान्ट्स फर प्रोस्पेरेटी विषयक कार्यपत्र र वनस्पति विभागका हेर्बेरियम प्रमुख सुभाष खत्रीले प्रोग्रेस एन्ड अपडेट अफ फ्लोरा अफ नेपाल विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
पाण्डे २००२ सालमा नेपाल सरकारको वनस्पति फाँटबाट सेवा प्रवेश गरेका थिए। उनकै पहलमा २०१६ मा वनस्पति विभाग स्थापना भएको थियो। विभागमा सिनियर बोटानिस्ट नियुक्त भएका पाण्डे वन मन्त्रालयका पनि प्रथम सचिव हुन्।
कार्यक्रम वनस्पति विभाग र नेपालका प्रथम वनस्पतिविद् प्रयागराज पाण्डे फाउन्डेसनद्वारा संयुक्त रूपमा आयोजना गरिएको हो। सो अवसरमा वनस्पति विभाग स्थापना भएदेखि हालसम्मका पूर्वमहानिर्देशकहरुलाई सम्मान गरिएको थियो।





