बाजुरामा सकियो चामल, ढुवानीको छैन टुंगो

हिमाल प्रेस २८ भदौ २०८० ११:४८ | Thursday, September 14, 2023
बाजुरामा सकियो चामल, ढुवानीको छैन टुंगो प्रतिनिधिमूलक तस्बिर।

बाजुरा- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ। सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि मात्र एक सय ५० क्विन्टल चामल मौज्दात रहेको शाखाका प्रमुख मेखराज ओझाले जानकारी दिए।

सर्वसाधारणका लागि राखिएको चामल सकिएको उनले बताए। विपद् र कारागारका लागि मात्र चामल राखिएको र सर्वसाधारणलाई बिक्री गर्ने चामल सकिएकाले चामल बिक्री बन्द गरिएको शाखाले सूचना जारी गरेको छ।

मार्तडीस्थित डिपोमा चामल सकिएपछि सूचना टाँस गरी गोदाममा ताला लगाइएको छ । डिपोमा रहेको मौज्दात चामल सकिएको हुँदा ठेक्का प्रक्रियाबाट ढुवानी नहुञ्जेलसम्म खाद्यान्न बिक्री वितरण कार्य बन्द गरिएको शाखा प्रमुख ओझाले बताए।

पूर्वी उत्तरी भेगको कोल्टीस्थित डिपोमा भने दुई सय क्विन्टल चामल मौज्दात छ। कोल्टी डिपोमा रहेको चामल एक साताका लागि मात्र पुग्ने भएकाले एक सातापछि ताला लगाएर बिक्री बन्द गरिने सार्वजनिक सूचना टाँस गर्नुपर्ने अवस्था आएको प्रमुख ओझाको भनाइ छ।

‘ठेक्काका लागि बोलपत्र आह्वान गरेका छौँ। त्यसपछिको प्रक्रिया चलिरहेको छ। यस्तै ढिलासुस्ती भए दसैँसम्म पनि चामल नआउन सक्छ’, ओझाले भने। जिल्लाको हिमाली गाउँपालिकामा खाद्यान्न संकट भएको पाँच महिनाभन्दा बढी भएको छ।

गाउँपालिकाको कवाडीस्थित अस्थायी डिपोमा गत आर्थिक वर्षको चामल जेठमा सकिएपछि पाँच महिनादेखि खाद्यान्न संकट भएको स्थानिय धनलाल रोकायाले बताए।

ढुवानी अनुदानको चामल डिपोमा नभएपछि हिमाली गाउँपालिका १, २ र ३ को बिच्छ्याँ, गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ४ र ५ को रुगीनमा खाद्यान्न संकट भएको हो। यस्तै हुम्लाको ताजाकोट गाउँपालिकामा समेत खाद्यान्न संकट भएको छ।

हिमाली गाउँपालिका–१ बिच्छयाँका धर्मलाल रोकाया दुुई दिन लगाएर कवाडी अस्थायी डिपोमा चामल किन्न आएका भए पनि डिपोमा चामल नपाएपछि बजारको महँगो चामल किनेर घर फर्किएको छ।

आव २०७९/८० मा कवाडी डिपोमा तीन हजार पाँच सय क्विन्टल चामल थियो। कवाडी डिपोको कोटाको चामल जेठ महिनामै सकिएपछि डिपोमा चामल मौज्दात नरहेको शाखाले जनाएको छ।

आव २०८०/८१ मा कवाडी डिपोका लागि दुई हजार पाँच सय क्विन्टल चामलको कोटा रहेको छ । उक्त चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने अहिले कुनै टुंगो छैन। कवाडी डिपोमा चामल भए मोटो चामल प्रतिकिलो ५२ रुपैयाँमा बिक्री हुने गरेको थियो।

डिपोमा चामल अभाव भएपछि सर्वसाधारणले बजारमा प्रतिकिलो  ८० रुपैयाँ मा हालेर चामल किन्ने गरेका छन्।

साविकको बिच्छ्याँ गाविसमा मात्र चार हजार जनसंख्या रहेको छ। डिपोमा चामल सकिएपछि बिच्छ्याँका घरघरमा खाद्य संकट भएको छ। स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ। हिमाली गाउँपालिका जिल्लाकै दुर्गम तथा विकट गाउँपालिका हो । गाउँपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गरेको छ ।

त्यस्तै स्वामीकार्तिक गाउँपालिकामा रहेको मुक्तिकोट अस्थायी बिक्री केन्द्रमा पनि चामल सकिएको चार महिना पुगेको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले बताएका छन्।

गत आवको पाँच सय क्विन्टल चामल जेठ अन्तिम सातामा सकिएको हो। यो आवको चामल पाँच सय क्विन्टल रहेको भए पनि ढुवानी ठेक्का प्रक्रियामा रहेको छ। जिल्लाका खाद्य डिपो र अस्थायी बिक्री केन्द्रमा चामल सकिएको भए पनि ढुवानी प्रक्रिया कहिले सकिने हो, कहिले चामल ढुवानी हुने हो यकिन नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुख ओझाले बताए। रासस

प्रकाशित: २८ भदौ २०८० ११:४८ | Thursday, September 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast