सुन तस्करीमा ५० जनालाई प्रतिवादी बनाई तीन अर्ब बिगो माग

हिमाल प्रेस २७ भदौ २०८० १६:५१ | Wednesday, September 13, 2023
सुन तस्करीमा ५० जनालाई प्रतिवादी बनाई तीन अर्ब बिगो माग सीआईबी प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य।

काठमाडौँ- ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाई करिब तीन अर्ब बिगो माग गर्न सरकारी वकिलको कार्यालयलाई राय दिइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंँमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो।

ती ५० जनामाथि विभिन्न सातवटा कसुर लगाउन सिफारिस गरिएको सीआईबीले जनाएको छ। भन्सार ऐन, संगठित अपराध ऐन, नेपाल राष्ट्र बैंक ऐन, अपराध संहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारिएको सीआईबी प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन्।

उनल अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहहरुले विभिन्न सातवटा कम्पनीबाट तीन सय ६२ भन्दा बढी किलो सुन तस्करी गरेको खुलेको बताइन्। उनले भनिन्, ‘अहिलेको मूल्यमा तीन अर्ब ५० करोड दुई लाख १६ हजार बराबरको सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन राय दिइएको छ।’

उक्त प्रकरणमा अहिलेसम्म ३२ जना पक्राउ परेका छन्। त्यसमध्ये २३ जना नेपाली र नौ जना विदेशी छन्। अन्य १८ जना फरार छन्।

सीआईबीले प्रत्यक्ष रूपमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको र प्राविधिक पाटोसहितलाई हेरेर अनुसन्धानलाई थप वैज्ञानिक बनाउने काम गरिएको जनाएको छ।

तस्करहरूले विभिन्न सातवटा कम्पनीबाट सुन तस्करी भएको र अहिले ‘रेडी ट्रेड’का नाममा आएको सुनको मात्रै अनुसन्धान सकिएको बज्राचार्यले बताइन्।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक सुमा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो। सिआइबीले बुधबार नै सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा बुझाएको छ।

प्रकाशित: २७ भदौ २०८० १६:५१ | Wednesday, September 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast