देशबाहिरका लाखौँ युवाको भविष्य खोज्दै प्रधानमन्त्री

हिमाल प्रेस २५ भदौ २०८० १८:०९ | Monday, September 11, 2023
देशबाहिरका लाखौँ युवाको भविष्य खोज्दै प्रधानमन्त्री विराटनगरमा सोमबार समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड।

विराटनगर- प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताएका छन्।

विराटनगरमा सोमबार समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
‘यो सभामा मोर्चाका नेताहरूले जुन विषय राख्नुभएको छ, सरकारप्रति जुन समर्थन र प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यो आफैँमा महत्त्वपूर्ण छ। यसले मलाई नयाँ ऊर्जा पैदा भएको छ।’

उनले आफूले कुरा होइन, काम र एक्सनबाट केही नयाँ गर्न चाहेको बताए। प्रचण्डले भने, ‘जनताका समस्या सम्बोधन गर्न सरकारले जुन मेहनत गरेको छ, त्यसले हाम्रो इमानदार प्रयासलाई प्रमाणित गरिसकेको छ।’ सरकारप्रति देशमा क्रमशः उत्साह पैदा हुँदै गएको दाबी प्रधानमन्त्रीको छ। उनले यसबाट देशमा केही हुन्छ भन्ने आशा जागेको पनि बताए।

प्रधानमन्त्रीले भने, ‘यसपटक मेरो सबैभन्दा धेरै चासो र चिन्ता विदेशमा रहेका लाखौँ नेपाली युवाप्रति छ। उनीहरूको भविष्यबारे नसोचीकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव छैन। त्यसैले यसपटक के गरी उनीहरूको हितरक्षा हुन्छ, के गरी उनीहरूको सुरक्षा र आत्मसम्मान हुन्छ, के गरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, त्यसमा गम्भीरतापूर्वक लागेको छु।’

उनले विदेशमा रहेका लाखौँ युवालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रक्रिया सुरु भएका बताए। केही महिनाभित्र विदेशमा रहेका २५ लाख नेपाली युवालाई कोषमा आवद्ध गर्ने पनि उनले जानकारी दिए।

प्रधानमन्त्रीले भने, ‘युवाहरू देशभित्रै केही गर्न चाहन्छन्, त्यसको वातावरण बनाउने जिम्मेवारी राज्यको हो। आजबाट विभिन्न १३ देशमा कार्यरत नेपाली राजदूत बोलाएर अन्तरक्रिया सुरू गरेको छु। विदेशमा रहेका नेपाली कामदारहरूका समस्या के छन् र कसरी सम्बोधन गर्ने भन्ने गम्भीर छलफल गर्छौँ।’

प्रकाशित: २५ भदौ २०८० १८:०९ | Monday, September 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast