कुलमानलाई प्रधानमन्त्रीको निर्देशन : विवाद निर्क्यौल नभएसम्म उद्योगमा लोडसेडिङ नगर्नू

हिमाल प्रेस २५ भदौ २०८० १३:२८ | Monday, September 11, 2023
कुलमानलाई प्रधानमन्त्रीको निर्देशन : विवाद निर्क्यौल नभएसम्म उद्योगमा लोडसेडिङ नगर्नू

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले यसबारे निर्क्यौल नभएसम्म उद्योगमा आपूर्ति भइरहेको विद्युत बन्द नगर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघ पदाधिकारीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री दाहालले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी उक्त निर्देशन दिएका हुन्।

उनले यससम्बन्धी विषयमा महासंघ, विद्युत् नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिटै टुंगोमा पुर्‍याउने कुरामा आफूले पहल गर्ने समेत आश्वासन दिए। प्राधिकरणले उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता महशुल १५ दिनभित्र चुक्ता गर्न भदौ १७ गते सूचना जारी गरेको थियो।

उक्त सूचनामा बक्यौता महशुल चुक्ता नगर्ने उद्योगहरूको विद्युत आपूर्ति बन्द गर्ने जनाएको थियो।

महासंघले अहिलेको आर्थिक संकटको समयमा उद्योग व्यवसायहरू ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेको हुँदा उद्योग व्यवसायलाई जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव दिएको छ।

‘यो समयमा हामीलाई सहयोग र समर्थन चाहिएको छ’, महासंघ अध्यक्ष ढकालले भने, ‘थप समस्या सिर्जना गरिदिनु भएन भन्ने हाम्रो माग हो।’ कोभिड महामारीपछि उद्योग व्यवसाय निरन्तर संकटमा रहेको र यस अवस्थामा उद्योग व्यवसायको विद्युत् काट्दा व्यवसायी थप हतोत्साही हुने महासंघको भनाइ छ।

प्रकाशित: २५ भदौ २०८० १३:२८ | Monday, September 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast